राजावादीको प्रदर्शनबारे एमाले- लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने आपराधिक क्रियाकलाप निन्दनीय


काठमाडौं । नेकपा एमालले पूर्वराजाका समर्थकले आज गरेको प्रदर्शन उद्दण्ड, अराजक र हिंसात्मक भएको जनाएको छ ।
पार्टी महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गरी आजको प्रदर्शन हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने खालको प्रदर्शन भएको स्पष्ट पारेका छन् ।
‘आज पूर्वराजावादीहरुको अराजक समूहले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा देखाएको उद्दण्डता, अराजकता र हिंसाको नेकपा एमाले घोर भत्र्सना गर्दछ, शान्तिपूर्ण प्रदर्शनका नाममा सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, जानी जानी हिंसा र आतङ्कलाई दुरुत्साहन गर्ने तथा मुलुकको लोकतान्त्रिक प्रणालीलाई बिथोलेर अराजकतातिर धकेल्ने यस्ता आपराधिक क्रियाकलाप निन्दनीय छन्’, विज्ञप्तिमा उल्लेख छ ।
नेकपा एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने पोखरेलले स्पष्ट पारेका छन् ।
सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्च गमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन पनि एमालेले आह्वान गरेको छ ।
आजका आपराधिक क्रियाकलापमा संलग्नहरूलाई तत्काल कानूनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न एमालले सरकारसँग माग गरेको छ ।