राजावादीले प्रेसलाई आतंकित पार्ने काम गरेको भन्दै पत्रकार महासंघको आपत्ति


काठमाडौं । नेपाल पत्रकार महासंघले शान्तिपूर्ण प्रदर्शनको नाममा राजावादीले प्रेसलाई आतंकित पार्ने काम गरेको भन्दै आपत्ति जनाएको छ । महासंघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै राजावादीको अराजक समूहले विभिन्न क्रियाकलाप गरेर सञ्चारकर्मीलाई आतंकित पार्ने काम गरेको जनाएको हो ।
राजावादीको प्रदर्शनले एक पत्रकारको जलेर मृत्यु भएको, विभिन्न सञ्चारगृहमा आगो लगाउने काम भएको, हुलहुज्जत भएको र सञ्चारमाध्यमको तोडफोड भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको महासंघका महासचिव रामप्रसाद दाहालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महासंघले विज्ञप्तिमार्फत पत्रकार सुरेश रजकको मृत्यु भएको, कान्तिपुर टेलिभजनमा ढुंगामुढा गरिएको, अन्तपूर्ण पोष्टको भवनमा तोडफोड गरेर आतंक सिर्जना भएकोतथा हिमालयन टेलिभिजनको सवारी साधनमा समेत तोडफोड भएको जनाएको छ । यस्ता क्रियाकलापमा संलग्नलाई कारबाही गर्न माग गर्दै महासंघले आगामी दिनमा पनि यस्ता क्रियाकलाप दोहोरिए विरोधमा उत्रिने चेतावनी दिएको छ ।
राजावादीले प्रेसमाथि खुला हमला गरेकोमा मिडिया सोसाइटीको आपत्ति
यस्तै, राजावादीको प्रदर्शनका क्रममा सञ्चारमाध्यममाथि भएको आक्रमणको नेपाल मिडिया सोसाइटीले निन्दा गरेको छ । सोसाइटीले शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवस्था परिवर्तनका नाममा अराजक समूहले गरेको खुलेआम आक्रमणको विरोध गरेको हो ।
सञ्चारगृहमाथि हिंसात्मक आक्रमण अक्षम्य हुने भन्दै सोसाइटीले शुक्रबारको घटनालाई प्रचलित कानुन, निर्वाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला भएको जनाएको छ ।
‘व्यवस्था परिवर्तनका नाममा अराजक समूहका यस्ता भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन तथा सुपर मार्केटदेखि दलका कार्यालय र सरकारी संस्थानमाथिको आक्रमण तथा लुटपाटले प्रदर्शनकारी र तिनका अगुवाको चरित्रलाई उदाङ्गो पारेको छ ।’ मिडिया सोसाइटीले जारी गरेको विज्ञप्तिमा उल्लेखछ ।
सोसाइटीले आगामी दिनमा कुनै पनि बहानामा हुने हिंसात्मक प्रदर्शन वा आक्रमणप्रति सचेत रहन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
सोसाइटीले आयोजकलाई घटनाको जिम्मा लिंदै कानुनी कठघरामा उभिएर जवाफदेही पालना गर्न आग्रह गरेको छ । साथै आक्रमणमा संलग्नमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।