स्वर्गीय संगीतकर्मी विक्रम राईलाई भ्वइस अफ नेपालको ट्रिब्युट


काठमाडौं । भ्वइस अफ नेपालले स्वर्गीय गायक तथा संगीतकार विक्रम राईलाई सम्झिएको छ । राईलाई सम्झिँदै भ्वइस अफ नेपालले भनेको छ, ‘राईका हौवा हौ दर्शन नमस्ते, तिम्ले बाटो फेर्यौ अरे, उडीजाने वनचरीजस्ता गीतहरु सयभन्दा बढी गीतमा स्वय संगीत भरेका उनी अब्बल गायक, संगीतकार हुन् विक्रम राई ।’
भ्वाइस अफ नेपाल सिजन ४ का टीम राजेशका एडभाइजर समेत थिए । राईले बोलेको त्यसवेलाको क्लिप पनि राखिएको छ । उक्त क्लिपमा राईले भनेका छन्, ‘गीत गाउनु मात्रै ठूलो कुरा नभएर गीत प्रस्तुत गर्नु पनि ठूलो कुरा हो ।’
यससँगै राईको संगीत रहेको गीत मेलिना राईसँगै भ्वइसका प्रतिस्पर्धीले श्रद्धान्जली स्वरुप गाएका थिए । गाउँदा गाउँदै मेलिना भावुक समेत बनेकी थिइन् । ‘तिम्ले बाटो फेर्यौ अरे २’मा मेलिना स्वयंको स्वर रहेको छ ।
३१ वर्षीय गायक तथा संगीतकार राइको गत फागुन १७ गते हरसुङ्गा खाजाघरमा निधन भएको थियो । उनी अचानक अचेत भएपछि बागबजारस्थित मोडेल अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउनसाथ राईलाई डक्टरहरुले मृत घोषित गरेका थिए ।
सुरुवातमा राईको मृत्युलाई हृदयघात भएको आशंका गरिएको थियो । तर, उनलाई हृदयघात नभएको डक्टरहरुले बताएका थिए ।
पारिवारिक स्रोतका अनुसार राईको पेट गनाएका कारण पोइजनसम्बन्धी केही हो कि भनेर अहिले नेपाल प्रहरी केन्द्रिय विधिविज्ञान प्रयोगशाला सामाखुसीमा अनुसन्धान भइरहेको छ । रिपोर्ट भने आइसकेको छैन ।