लिङ्देनलाई छैन अराजकताको भर- तर उनलाई नै छ पूर्वराजाले पार्टी फुटाइदिने डर – Nepal Press

लिङ्देनलाई छैन अराजकताको भर- तर उनलाई नै छ पूर्वराजाले पार्टी फुटाइदिने डर

काठमाडौं । राजसंस्था फर्काउने आन्दोलनमा राप्रपा अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन पार्टीको ब्यानर र झण्डाबाहेक अन्यत्र देखिएका छैनन् । शुक्रवारको उपद्रवमा उनी थिएनन् र उनीमात्र होइन राप्रपाको संस्थापन पक्ष थिएन ।

त्यसो भए राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा चाहिँ को हुन् त ? भन्ने प्रश्न उठ्न सक्छ । त्यतिमात्र होइन ‘राजा’ ज्ञानेन्द्रको चाहनाबमोजिम गठन भएको राजसंस्था पुनर्स्थापना आन्दोलन समितिको संयोजक नवराज सुवेदी नै राप्रपाका नेता हुन् ।

यी नेताहरुकै उपस्थितिमा तीनकुनेको भीड उत्तेजित भयो । एक दिन अघिमात्र नवराज सुवेदीले पत्रकार सम्मेलनबाट राजा फर्काउने आन्दोलनका जन कमाण्डर घोषित गरेका दुर्गा प्रसाईले ठोक् भन्दै गाडी चलाएर प्रहरीलाई किच्न खोज्दै निषेधाज्ञा तोडे ।

राप्रपाका नेताहरु त प्रहरीको अश्रुग्याँस सहन नसकेर मञ्च छाडेर भागे । तर दुर्गा प्रसाईले जम्मा गरेका र सामाजिक संजालबाट आह्वान गरेर आएका मान्छेहरुले एकै क्षणमा तिनकुनेलाई रणमैदान बनाए ।

अराजकताले आतंकको रुप लियो र आतंकले हिंसा आगजनी र हत्याको स्वरुप ग्रहण गर्‍यो । सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाटका दृष्यहरु एकै क्षणमा सचित्र सार्वजनिक भइसकेका थिए ।

त्यो अराजक जमात कोही विमानस्थलमा आगो लगाउँन गयो । कोही नेकपा एस,माओवादी केन्द्र र नेकपा एमालेको कार्यालयमा आगजनी गर्न हिँड्यो । केहीले माधव नेपालको घरमा ढुंगा हाने भने केहीले जडिबुटीमा बिभत्स आगजनी गरे । केहीले रास्वपा नेता सन्तोष परियार लगायतको गाडीमा आगो लगाए ।

यो त भयो आन्दोलनका नाममा भएको अराजकता र आततायी घटनाको संक्षिप्त झलक । त्यसबीचमा राजावादीले आगो लगाएको घरभित्र परेर एकजना पत्रकारको ज्यान गइसकेको थियो भने अर्का एकजना घाइतेको अस्पतालमा मृत्यु भइसकेको थियो ।

यी सबै घटनाक्रमहरु यति चाँडै भए कि,पत्रकारको एंगलबाट अब यसमा कसलाई जिम्मेवार बनाउने भन्ने अर्को कन्टेन्टको जरुरी भयो । हामीले राप्रपा अध्यक्ष लिङ्देनलाई फोन गर्दा उनी आन्दोलनमा गएकै थिएनन् र भइरहेका घटनाप्रति अत्यन्त दुःखित सुनिए ।

राप्रपा संस्थापनका अन्य नेताहरु जो आन्दोलनमा गएनन् र यी सबै गतिविधिप्रति असहमत थिए उनीहरु त्राहिमाम थिए । राजा फर्काउने अभियानको सेलिब्रिटी अनुहार ज्ञानेन्द्र शाही यो सबै अराजकतामा कतै भेटिएनन् र सुनिएनन् ।

भन्न त राप्रपा प्रमुख सचेतक भएकाले ज्ञानेन्द्र शाहीले त्यो बेला सभामुखसँग छलफलमा थिएँ भन्लान् तर खासमा उनले १० लाख मान्छे उत्रेछन् भने दुर्गा प्रसाईँ जस्ता अराजकको अभियानमा सहभागी नहुने आन्तरिक कसम खाइसकेका थिए ।

हुन पनि गत फागुन २५ गते ज्ञानेन्द्र पोखराबाट फर्किदा गरिएको स्वागत जुलुसपछि दुर्गा प्रसाईले राप्रपा अध्यक्ष लिङ्देन र प्रवक्ता शाहीप्रति होच्याएर टिप्पणी गरेका थिए । ज्ञानेन्द्र शाहीलाई यार्सा गुम्बा खाएको जुम्ली भाइ खलाँसी जस्तो झुण्डिएको भनेर अपमाजनक टिप्पणी गरेका थिए ।

राजा ज्ञानेन्द्रले राप्रपालाई बाइपास गरेर राप्रपाकै नेता नवराज सुवेदीलाई राजसंस्था फर्काउने आन्दोलनको कमाण्डर बनाएदेखि नै राजेन्द्र लिङ्देन,पशुपति शम्सेरलगायतका नेता सशंकित थिए । त्यसमाथि राप्रपाकै बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलहरु समेत सुवेदीको अभियान मिसिएपछि उनी रक्षात्मक बने ।

नवराज समिति र रविन्द्र तथा धवलहरुको संलग्नता निर्मल निवासको चाहना र योजनाबिना थिएन । यो सबै बुझेका लिङ्देनले पार्टी बैठकबाट अलग्गै आन्दोलन गरौं,राप्रपा अन्य समितिको मातहतमा नबसौं भन्ने प्रयास गरे । तर निर्मल निवासले उनको पार्टी फुटाउने खतरा देखेर धर्मसंकटमा परेका लिङ्देनले अन्ततः मध्यमार्गी बाटो लिएर शुक्रवारको आन्दोलनमा सहभागी जनाउने निर्णय गरेका थिए ।

राप्रपाको कति हिस्सा शुक्रवारको आन्दोलनमा थियो भन्ने निश्चित छैन, तर अराजकता मच्चाउने र लुटपाट गर्नेहरुको भिडिओमा देखिएका प्रायः कुनै पनि अनुहार राप्रपाका होइनन् । राप्रपाका अनुहार भनेका नवराज,रविन्द्र र धवलहरुमात्र थिए । जसले आन्दोलन अझ चर्काउने भनिरहेका छन् ।

कमल थापालाई राप्रपा अध्यक्षमा हराएर लिङ्देनलाई जिताउने निर्मल निवास पछिल्लो समय उनै लिङ्देनसँग रुष्ट छ । उसले समानान्तर राप्रपा चलाइरहेको छ भन्ने सबैलाई थाहा छ । अहिलेको आन्दोलन लिङ्देनका लागि नखाउँ भने दिनभरीको शिकार,खाउँ भने कान्छा बाउको अनुहार भएको छ ।

राप्रपा कुन दशामा छ भन्ने प्रमाण खोज्न अन्त जानु पर्दैन । राप्रपाकै केन्द्रीय सदस्य तथा सूचना प्रविधि विभाग प्रमुख उद्धबराज भेटुवालको यो भनाइले सबै कुराको पुष्टि गर्छ ।
भेटुवाल भन्छन्– राजसंस्था स्थापनार्थ बनेको सुवेदी नेतृत्वको जनआन्दोलन समिति फितलो धरातलमा बनेको पुष्टी भएको छ । प्रदर्शनमा राप्रपाको समर्थन रहेको भएपनि आन्दोलन गर्ने नयाँ समितिको आयोजनामा रणनीति, योजना र स्पष्ट खाका भएको पाइएन । ‘जनकमाण्डर’ भनिएका दुर्गा प्रसाईंको आश्चर्यजनक गतिविधि उदेकलाग्दो रह्यो । संघर्षका क्रममा भएका दखद् घटनाहरु थप मर्माहत बनाउने खालका छन् । प्रदर्शनकारी र पत्रकारले त्रासदीपूर्ण रुपमा मृत्युवरण गर्नुपर्ने अवस्था आउनु दर्दनाक घटना हो । आन्दोलन मजाक होइन । यसका निम्ति बृहत् एकता, साझा नेतृत्व र सहअस्तित्व चाहिन्छ भन्ने राप्रपाको मान्यता हो । आन्दोलन योजनावद्ध, वैज्ञानिक र शान्तिपूर्ण हुनुपर्छ । आन्दोलनको भीडलाई नियन्त्रण गर्ने र नेतृत्व गर्ने संगठित संरचना चाहिन्छ । स्पष्ट कार्यनीति चाहिन्छ । त्यसैले संगठन चाहिने हो । आजको कार्यक्रमबाट ‘राजावादी’ ले यो कुरा सिक्नैपर्छ । नयाँ ढंगले अघि बढ्नुपर्छ । सबैले आत्मसमिक्षा गरुन्

राप्रपालाई यो आन्दोलनबाट अलग गरेर राजनीतिक मुद्दा केन्द्रित गरौं भने उनको पार्टी ज्ञानेन्द्रले फुटाइदिन्छन् । आन्दोलनमा लाग्ने हो भने दुर्गा प्रसाईहरु जस्ता अराजकले हिंसा,लुटपाट र मारकाट गरेर अशान्ति मच्चाउँछन् । खासमा लिङ्देनलाई अराजकतामा पटक्कै भर छैन तर ज्ञानेन्द्रले १४ सीट ल्याएको पार्टी फुटाइदिने डर उत्तिकै छ ।

राजेन्द्र लिङ्देनलाई शुक्रवार दुर्गा प्रसाईको उक्साहटमा सिर्जित अराजकता र त्यसपछि भएको हत्या हिंसा, आगजनी र लुटपाटको घटना पटक्कै सैह्य भएको छैन ।

तर उनले खुलेर आफ्नो मनको कुरा व्यक्त गर्न पनि सकेका छैनन्, किनकी उनको शीरमा पूर्व राजाले पार्टी विभाजनको तरवार झुण्ड्याइदिएका छन् ।

तर यसो भनेर उनले छुट पाउँदैनन् । शुक्रवार भएका आततायी घटनामा राज्य वा प्रहरीलाई दोषारोपण गरेर कम्तिमा पनि राप्रपा जस्तो जिम्मेवार राजनीतिक दल उम्किन सक्दैन । राजेन्द्र लिङ्देनले यो लुटपाट र बंगलादेश तथा श्रीलंका बनाइदिने धम्की वरण गर्ने हो सार्वजनिक रुपमा निन्दा गरेर अलग हुने ? दोबाटोमा लामो समय रहन सम्भव छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर