प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै – Nepal Press

प्रधानमन्त्री कप क्रिकेट उपाधिका लागि आज पुलिस र आर्मी भिड्दै

रुपन्देही । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आज उपाधि भिडन्त हुँदैछ । उपाधि रक्षाको लागि दुई विभागीय टीम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब गर्ने होडमा छन् ।

पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले आफूहरु उपाधि प्रतिस्पर्धाका लागि तयारी अवस्थामा रहेको जनाएका छन् । पुलिस साविक विजेता हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा यी दुई टीमबीच शनिबार उपाधिका लागि यो खेल हुनेछ ।

आर्मीका कप्तान भण्डारीले प्रधानमन्त्री कपले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्ने जनाए । ‘नियमित खेलाडीले भन्दा यसपटक नयाँ खेलाडीले राम्रो रन हानेका छन्’, उनले भने, ‘यो घरेलु प्रतियोगिताले खेलाडीलाई प्लेटफर्म दिएको छ । खेलाडी उत्पादनमा टेवा पुर्याएको छ ।

काठमाडौं बाहिर सबै खेल हुँदा क्रिकेटमा नयाँ उत्साह ल्याएको बताए । उनले विगतको भन्दा यसपटक भैरहवाको मैदानको पिच राम्रो भएको जनाए । नियमित काठमाडौंमा खेल्दा र बाहिरका मैदानमा खेल्दा केही फरक परे पनि आर्मी प्रतिस्पर्धाका लागि तयारी रहेको उनले जनाए ।
पुलिसका कप्तान ऐरीले क्रिकेट विकेन्द्रिकृत भएर विकास भएकोमा खुशी व्यक्त गरे ।

‘जय ट्रफी भयो, पीएम कप यसपटक लुम्बिनी प्रदेशमा भयो’, उनले भने, ‘यस्ता धेरै खेलहरु बाहिर भएका छन् । क्रिकेटको विकास र विकेन्द्रिकृत भइरहेको छ ।’ उनले भोलि आफूले बनाएको रणनीति मैदानमा देखाउने जनाए ।

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ । गत वर्ष फाइनलमा आर्मीलाई हराउँदै पुलिसले उपाधि हात पारेको थियो । आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ ।

यसपटक प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८–८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा बिहीबार पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

भैरहवामा रहेको सिद्धार्थ क्रिकेट मैदान, तिलोत्तमा रहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान खेल भएका थिए । कुल ४६ खेलमध्ये ४५ खेल सम्पन्न भएर अन्तिम उपाधि प्रतिस्पर्धा हुँदैछ ।

फागुन २५ देखि सुरु यस सिजनको प्रधानमन्त्री कपको शनिबार समापन हुनेछ । उपाधि रक्षाका लागि दुबै टिमले आन्तरिक रणनीति बनाएका छन् । पहिलोपटक प्रधानमन्त्री कपका सबै खेल लुम्बिनी प्रदेशका भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *