एमाले महासचिवको टिप्पणीः राजावादीहरुको प्रदर्शन हिंसात्मक र अराजकता – Nepal Press

एमाले महासचिवको टिप्पणीः राजावादीहरुको प्रदर्शन हिंसात्मक र अराजकता

काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजधानीमा हिजो भएका दुई प्रदर्शनबारे टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् उनले समाजवादी मोर्चाद्वारा आयोजित प्रदर्शनलाई मर्यादित, शान्तिपूर्ण र सन्देशमूलक रहेको भन्दै प्रशंसा गरेका छन् भने राजावादीहरुको प्रदर्शन हिंसात्मक, अराजक र प्रतिशोधात्मक बनेको बताएका छन् ।

महासचिव पोखरेलका अनुसार समाजवादी मोर्चाको प्रदर्शनमा उल्लेखनीय जनसहभागिता देखियो । उनले यो कार्यक्रम लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर गरिएको भन्दै समर्थन जनाएका छन् ।

राजावादीहरुको प्रदर्शनलाई असफल आन्दोलनको संज्ञा दिँदै पोखरेलले लेखेका छन्, ‘व्यवस्थाको विकल्प दिन्छौँ भन्नेहरुले आन्दोलनका माध्यमबाट अपिल गर्न र सन्देश दिन सक्नुपर्छ तर राजावादीहरू पूर्णतः असफल भए ।’

उनका अनुसार हिंसात्मक गतिविधिले राजतन्त्रकालीन निरंकुशता र दमन भोग्न नपाएको नयाँ पुस्तालाई त्यसबारे बुझ्न थप अवसर प्रदान गर्यो । ‘अहिलेको युग जनचेतनाले सम्पन्न लोकतन्त्रको युग हो, जसलाई निहित स्वार्थ, प्रतिशोध वा दुर्भावनाले प्रभावित गर्न सक्दैन’, महासचिव पोखरेलले लेखेका छन् ।

राजधानीमा भएको हिंसात्मक घटनामा परी ज्यान गुमाएका व्यक्तिहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै, सुरक्षाकर्मीको संयमताले राजावादी आन्दोलनको असली स्वरुप उदांगिएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलले आन्दोलनको नाममा नियोजितरूपमा परिचालित अपराधिक समूहहरुले गरेको तोडफोड, आगजनी र लुटपाटबाट पीडित नागरिकलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । उनले लेखेका छन्, ‘जनतालाई आतंकित बनाउने घटनामा संलग्न व्यक्ति तथा उनीहरूलाई उक्साउने र निर्देशन दिनेहरूमाथि अविलम्ब कारबाही हुनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर