प्रसाईंविरुद्ध मानवहत्याको अभियोग लगाउने तयारी, मिश्र र राणालाई मतियारी गरेको आरोप – Nepal Press

प्रसाईंविरुद्ध मानवहत्याको अभियोग लगाउने तयारी, मिश्र र राणालाई मतियारी गरेको आरोप

काठमाडौं । शुक्रबारको हिंसात्मक प्रदर्शनलाई उत्तेजक बनाउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं मानवहत्याका लागि प्रेरक बनेको सुरक्षा निकायले ठहर गरेको छ ।

उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाई गर्ने प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ । शुक्रबार काठमाडौंको कोटेश्वर, तीनकुने क्षेत्रमा भएको हिंसात्मक गतिविधिलाई उक्साहट गर्ने राप्रपा उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणाविरुद्ध मतियारका रुपमा मुद्दा चलाउने तयारी छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकले आईजी दीपक थापासँग यसबारे परामर्श गरेका थिए । त्यसक्रममा आईजी थापाले मानवहत्याको अभियोग लगाउने कानुनी आधार रहेको जवाफ दिएका थिए ।

नेपाल प्रेसले सोध्दा आईजी थापाले उनीहरूलाई त्यसै उन्मुक्ति दिन नसकिने बताए । ुप्रधानमन्त्रीज्यू र मन्त्रीज्यूले यसबारे गम्भीर सरोकार राख्नुभएको छ, हदैसम्मको सजाय हुने गरी मुद्दा चल्छु, उनले भने ।

यद्यपि, काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले कुन मुद्दा लगाउने भन्नेबारे अहिलेसम्म कुनै निश्कर्षमा नपुगेको बताए । ‘मुद्दा लाग्ने अनेक शीर्षक, कारण र आधार छन्, तर कसलाई कुन अभियोगमा मुद्दा चलाउने भन्ने कुराको टुंगो लागिसकेको छैन’, उनले भने ।

पक्राउ परेका आरोपीलाई आइतबार अदालतमा पेश गरिने उनले बताए । त्यसअघि कुन मुद्दामा म्याद थप्ने भन्ने टुंगो लाग्छ ।

मिश्र र राणाले हिंसात्मक गतिविधि हुने कुराको मतियारी गरेको कुरा उनीहरूको अभिव्यक्तिबाटै स्पष्ट हुने बोहरा बताउँछन् । ‘उनीहरूलाई मतियार भन्न मिल्छ’, उनले भने ।

प्रसाईंविरुद्ध मानवहत्याको कसुरमा मुद्दा चलेर ठहर भएमा नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमलाईझैं सर्वश्वसहित जन्मकैद हुनसक्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर