नजरबन्दबाट नवराज सुवेदीकाे विज्ञप्ति- जनआन्दाेलन नेताकाे इसारामा चल्दैन, राजालाई मुछ्न नखाेजियाेस्


काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक वयोवृद्ध नेता नवराज सुवेदीले हिजोको तोडफोड तथा आगजनीमा पूर्वराजालाई मुछ्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।
‘होम एरेष्ट’ मा रहेका सुवेदीले शनिबार बिहान एक विज्ञप्ति निकाल्दै तीनकुनेमा आयोजना गरिएको सभा संघर्ष समितिका पदाधिकारी र नेताहरू मञ्चमा पुगेर सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट नियोजित रूपमा गराइएको घुसपैठ र अनपेक्षित प्रहरी दमनका कारण बिथोलिएको दाबी गरेका छन् ।
सुवेदीले भनेका छन्, ‘जनताद्वारा गरिने जनआन्दोलन कुनै पनि नेताको इसारामा चल्दैन, जनचाहना र जनविद्रोहबाट उत्पन्न हुने आन्दोलनको अगुवाइ र नेतृत्व जनताले नै गर्छन् ।’
आन्दोलन जारी रहेको बताउँदै उनले कसैबाट धमिलो पानीमा माछा मार्ने प्रयास नगर्न चेतावनी पनि दिएका छन् ।
८७ वर्षीय वयोवृद्ध नेता सुवेदी नेतृत्वको आन्दोलन अराजक बन्दा हिजो काठमाडौंमा तोडफोड, आगजनी, लुटपाट तथा हत्यासम्मको घटना भएको थियो ।
सुवेदीलाई स्वास्थ्य र उमेरका कारण प्रहरीले शुक्रबार साँझबाट घरमै नजरबन्दमा राखेको छ ।