दुर्गा प्रसाईँको पछिल्लो लोकेसन इमाडोल, धर्मगुरु खतिवडाकोबाट स्याउ र केरा खाएर भागे


काठमाडौं । शुक्रबार राजा फर्काउने आन्दोलनको नाममा भएको आगजनी, लुटपाट र अराजकताको घटनाका प्रमुख नाइके मानिएका दुर्गा प्रसाईँलाई अहिले प्रहरीले खोजी गरिरहेको छ ।
तोडफोड, आगजनी र आतंक मच्चाउन उक्साएर भागेका प्रसाईँ घरमा नगई हिजोदेखि भूमिगत भएका छन् । उनी राजा फर्काउने आन्दोलनका जनकमाण्डर बनाइएका थिए ।
केहीबेर सटरमा लुकेका उनी त्यहाँबाट सिधै विवादास्पद धर्मगुरु पुस्कर खतिवडाको ललितपुरस्थित इमाडोलस्थित घरमा गएको पाइएको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीले नेपाल प्रेसलाई बताए ।
अधिकारीका अनुसार खतिवडालाई भने पक्राउ गरिसकिएको छ ।
‘तीनकुने क्षेत्रबाट भागेर पण्डित पुस्कर खतिवडाको घरमा राति गएर बसेका रहेछन् । हामीले खतिवडालाई भने पक्रिसकेका छौं’, एसपी अधिकारीले भने ।
अब पुलिसले नछाड्ने भन्दै प्रसाईँ खतिवडाको घरबाट स्याउ र केरा खाएर मोबाइल स्वीच अफ गरेर निस्किएको प्रहरीले बताएको छ । प्रहरीले गरेको लोकेसन ट्रयाकमा पछिल्लो पटक उनी इमाडोल क्षेत्रमा देखिएका छन् ।
उच्च सुरक्षास्रोतका अनुसार उक्त प्रदर्शनको अगुवाइ गरेका प्रसाईंविरुद्ध मानवहत्याको अभियोगमा मुद्दा चलाउने तयारी छ ।
अराजकता मच्चाएको तथा उकासेको आरोपमा प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, वकिल स्वागत नेपाललगायतलाई पक्राउ गरिसकेको छ ।