तीनकुने घटनामा पूर्वराजालाई जोडेकोप्रति कमल थापाको आपत्ति, मिश्र र राणासहित नेताहरुलाई रिहा गर्न माग


काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिजो तीनकुनेमा भएको घटनामा हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरु संलग्न नरहेको भन्दै तत्काल रिहा गर्न माग गरेका छन्।
आज विज्ञप्ति निकाल्दै राप्रपा नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग गरेका हुन्।
उनले हिजोको घटना वा कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक भएको उल्लेख छ।
उनले भनेका छन्, भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।
त्यसबारे उनको भनाइ,
चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु दुःखद छन्। कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न।
प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाई दिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध हुन्। यो घटनाको निष्पक्ष छानबिन हुनुपर्छ र दोषीलाई कारबाही गर्नै पर्छ। पार्टी कार्यालय,निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ।
तर, हिजोको घटनाको सन्दर्भमा केही गम्भीर प्रश्नहरू पनि छन्। निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्याँस प्रहार ग¥यो ? कार्यक्रम शुरु हुनु अगावै मञ्चमा किन अश्रुग्याँस प्रहार गरियो ? सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयो ? परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाईएन ? राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहिँ कतैबाट षडयन्त्र त भएको थिएन ? आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन ?
यि र यस्ता प्रश्नहरूको निष्पक्ष छानबिन हुनुपर्छ।
भविष्यमा यस्ता घटनाहरू दोहरिन नदिन आयोजक र सरकार दुवै सतर्क र संयम हुनु जरुरी छ। तर, हिजोको घटनालाई अतिरञ्जित ढङ्गबाट बढाई चढाई गरी प्रतिशोध साध्ने वा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको आन्दोलनलाई तुहाउन सकिन्छ भन्ने कसैले सोचेको छ भने त्यो असफल र प्रत्युत्पादक हुनेछ। हिजोको घटनालाई आधार बनाएर देशमा कायम रहेको भ्रष्ट व्यवस्था र भ्रष्ट शासकका ज्यादतीलाई लुकाउन सकिन्छ भन्ने कसैले नसोचे पनि हुन्छ।
यही घटनालाई जोडेर अथवा यही मौका हो भन्ने ठानेर राजा वा राजसंस्थासहितको प्रजातन्त्रको बिचारलाई बदनाम गर्ने वा दमन गर्ने सोच राखियो भने त्यसले परिस्थितिलाई झन जटिल बनाउने छ।
केही अप्रिय घटनाहरुको बाबजुद हिजोको प्रदर्शनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा जनलहर बढ्दो छ, र त्यो सशक्त हुँदै गएको छ भन्ने तथ्यलाई समेत उजागर गरेको छ। त्यसर्थ, जनताको परिवर्तित चाहनाको सम्मान गर्दै वार्ताको माध्यमबाट सबै बिचार र शक्ति अटाउने निकास खोज्न सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु।
भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाको पक्षमा आगामी दिनमा शान्तिपूर्ण ढङ्गबाट हामी अघि बढ्ने छौँ। हिजोको घटनाबाट पाठ सिकेर राष्ट्रवादी आन्दोलनलाई अझ सशक्त तुल्याउनु पर्दछ । हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई कत्ति पनि विचलित नहुन म आह्वान गर्दछु।
हिजोको घटना वा कुनै दल वा समूहले गर्ने कार्यसँग राजालाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक छ ।
साथै, हिंसा, अराजक वा अपराधिक कुनै पनि घटनामा संलग्न नरहेका राप्रपाका नेताहरु धवल शमसेर राणा, रवीन्द्र मिश्र, नवराज सुवेदी, स्वागत नेपाल लगायत सबैको तत्काल रिहाई माग गर्दछु।
योजस्तो अनैतिक दुनियामा कोही रहेनछ । अध्यक्षमा हराईदिएको भोलिपल्ट राजा चाहिदैन अब भनेर पार्टी फुटायो । अहिले फेरि ज्ञानेन्द्रको पाउ परेछ ।