औद्योगिक क्षेत्रको लोडसेडिङ घट्यो, भारतबाट १६ घण्टा विद्युत् आयात – Nepal Press

औद्योगिक क्षेत्रको लोडसेडिङ घट्यो, भारतबाट १६ घण्टा विद्युत् आयात

काठमाडौं । नेपालको औद्योगिक क्षेत्रको लोडसेडिङ घटेको छ । भारतले सोलर आवरमा मात्रै विद्युत् नेपाललाई दिँदा उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएकोमा अब त्यो घटेको छ । भारतले अब बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म ११ घण्टा र बेलुका ११ बजेदेखि बिहान ४ बजेसम्म ५ घण्टा विद्युत् दिन थालेपछि उद्योगको लोडसेडिङ घटेको हो ।

भारतबाट अब थप ५ घण्टा विद्युत् आयात थपिएको छ । नेपाल विद्युत् प्राधिकरणमा नयाँ प्रबन्ध निर्देशकका रूपमा हितेन्द्रदेव शाक्य आएपछि राति ११ बजेदेखि बिहान ४ बजेसम्म विद्युत् आयातको समय थप गरेर औद्योगिक क्षेत्रको लोडसेडिङ घटाएका हुन् ।

कुलमान प्रबन्ध निर्देशक रहँदा भारतले सोलर आवर (बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म) मात्रै नेपाललाई विद्युत् दिइरहेको थियो । अब भने राति ११ बजेबाट बिहान ४ बजेसम्म पनि भारतबाट विद्युत् आयात हुने भएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले भारतबाट राती ११ बजेबाट बिहान ४ बजेसम्म विद्युत् आयात भएपछि औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेको बताए । उनले नेपाल प्रेससँग भने, ‘भारतले सोलर आवरमा मात्रै दिँदै आएको विद्युत् अब राती ११ बजेबाट बिहान ४ बजेसम्म पनि आउँछ । यसले गर्दा औद्योगिक क्षेत्रको लोडसेडिङ घटेको छ । अहिले पिक आवरमा मात्रै औद्योगिक क्षेत्रमा लोडसेडिङ भइरहेको छ । अब त्यो पनि हटाउने गरी काम भइरहेको छ । रातीको समयमा नेपालमा विद्युत् उत्पादन हुने आयोजनाहरुमा पनि पुन भरण हुन्छ । त्यसले पनि औद्योगिक क्षेत्रको लोडसेडिङ घटाउन सहयोग गर्ने छ ।’

इण्डियन इनर्जी एक्सजेञ्जबाट राती ११ बजेदेखि बिहान ४ बजेसम्म थप ६०० मेगावाट विद्युत् दिने स्वीकृत भएसँगै अब उद्योग धन्दामा पनि लोडसेडिङ घटेको छ । यसबाट देशको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने प्राधिकरणले जनाएको छ । उक्त विद्युत् ढल्केवर–मुजफ्फरपुर प्रशारण लाईनबाट नेपालमा आउने आएको छ । हाल भारतले जुन ३० सम्मका लागि ईण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत् उपलब्ध गराउँदै आएको थियो ।

नेपाल विद्युत् प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको नियुक्तिसँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत् दिने स्वीकृति दिएको छ । भने नेपालका औद्योगिक क्षेत्रमा लोडसेडिङ घटेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर