संयुक्त अपिलप्रति सर्वेन्द्र खनालको आपत्ति, भने- ‘कोही आउ हैन, हामी नै आउनुपर्छ’ – Nepal Press

संयुक्त अपिलप्रति सर्वेन्द्र खनालको आपत्ति, भने- ‘कोही आउ हैन, हामी नै आउनुपर्छ’

काठमाडौं । शुक्रबारको अराजकतापूर्ण राजावादी प्रदर्शनलाई बल पुर्याउनका लागि ‘नागरिक अगुवा’ का नाममा जारी भएको अपिलमा आफ्नो नाम अनुमतिबिना समावेश गरिएको भन्दै नेपाल प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालले आपत्ति जनाएका छन् ।

एउटा विषयमा छलफल गर्न र धारणा राख्न भनी बोलाएर अर्कै विषय झल्किने गरी अपिल जारी गर्ने काम भएको उनले बताए । शुक्रबारको कार्यक्रमका विषयमा कुनै पनि शव्द उच्चारण भएको थिएन । तर, त्यही कार्यक्रमलाई लक्षित गरेर अपिल सार्वजनिक गरेजस्तो देखिँदा आफूलाई दुःख लागेको उनले बताए । ‘जे हुनुहुँदैन भनेर हामीले त्यहाँ भन्यौं, अघिपछि पनि भन्ने गरेका छौं, शुक्रबार त्यही भयो’, उनले भने, ‘प्रदर्शनकारीका तर्फबाट देखिएको अराजकताको त्यो हद त कल्पना पनि गरेका थिएनौं ।’

खनालले नेपाल प्रेससँग गरेको कुरा जस्तोको तस्तै-

मैले कुनै पनि कागजमा हस्ताक्षर गरेको छैन ।
कलाकार साथीहरु दीपकराज गिरी, मनिषा कोइरालासहित हामी गएका थियौं । पछि स्वागत नेपालहरु आए ।
राजावादी अभियान वा त्यस्तो कुनै राजनीतिक विषय भनेर बोलाइएको थिएन । देशको राजनीतिक अवस्था खराब भयो । यसमा प्रवुद्ध व्यक्तिहरु के चाहन्छन् भनेजस्तो टपिक (शीर्षक) मा कुरा उठाइएको थियो । राप्रपा वा राजा पक्षका नेता, अभियन्ता भन्नेहरु कोही थिएनन् । हामीजस्तै विभिन्न क्षेत्रका मान्छेहरु देखियो । तर, स्वागत नेपालजी त्यहाँका कुरालाई बाहिर लैजानुपर्छ भन्नेमा अलिक सक्रियजस्तो लागेको थियो । उहाँ पनि त्यति चर्को राजावादी हो भन्ने लागेको थिएन ।
देशमा नयाँ पार्टी पनि आए । तिनले जनताको अभिमतको कदर गर्न सकेनन् । त्यसले गर्दा जनतामा झन् निराशा बढ्यो । विश्वासिलो र भरपर्दो तेस्रो विकल्प देशलाई चाहिएको छ । यत्तिको बौद्धिक जमात छ भने त्यता तर्फ अग्रसर हुनुपर्यो भनेर कुरा राखेको हुँ । कोही आऊ, देश बचाऊ– यस्तो केही भनेको होइन ।
त्यस्ताखाले भेला, छलफलमा जाँदै नजाने, आफ्नो कुरै नराख्ने भन्ने कुरा पनि हुँदैन । गएको हो, कुरा राखेको हो । तर, अपिल जारी गर्ने, त्यसमा हस्ताक्षर गर्नेजस्ता काम म र अरु कोहीबाट भएको होइन । हस्ताक्षर गरेर जानुपर्यो भन्ने कुरा आएको थियो । हामी आफ्नो कुरा भन्न गएको मान्छेलाई अपिल निकाल्ने, सही गर्ने भन्ने कुरासँग मतलब भएन । हामी आफ्नो बाटो लाग्यौं । पछि संयुक्त विज्ञप्तिजस्तो बनाएर हाम्रो पनि नाम आयो ।
हामीले अराजकताको विरोध त्यो भेलामै भनेका थियौं ।
राजाको त ‘र’ पनि उच्चारण भएको थिएन । बरु, विकल्पमा केही गर्नुपर्छ कि भनेर कुरा उठेका थिए । कोही आऊ र केही गर हैन, हामी नै आउने हो, हामीले नै गर्न सक्छौं भन्ने मेरो भनाइ थियो ।
संविधानका अपरिवर्तनीय मान्यता विपरित त्यसै राजा ल्याउने कुरामा अफ्रिएर हुँदैन । म यसमा स्पष्ट छु । देशमा तेस्रोखाले राजनीतिक विकल्प चाहिएको भन्नेमात्रै कुरा गरेको थिएँ । राजावादीजस्तो देखाएर विज्ञप्ति नै आउँदा ठीक लागिरहेको थिएन ।


प्रतिक्रिया

4 thoughts on “संयुक्त अपिलप्रति सर्वेन्द्र खनालको आपत्ति, भने- ‘कोही आउ हैन, हामी नै आउनुपर्छ’

  1. चोरको खुट्टा काट भन्दा खुट्टा जुरूकै उठाए जस्तो देखियो, धन्य भिडियो आयो त !

  2. दुर्गेले राजा ल्याईदिईहाल्यो भने सिधै गृहमन्त्री खाउँला भनेर गएको यो । आन्दोलन अराजक भएकाले जनताको कारवाहीमा परिएला भनेर हत्त न पत्त विज्ञप्ति? यो चरम अवसरवादी हो । एमालेका टिकट सिध्याएर अहिले राजावादी भएछ ।

  3. जब आन्दोलन हिम्स्रक भयो तब सबै पछि हटिरहेको छ तर यदि आन्दोलन सफल हुँदै राजा आउनेथियो भने यो दौरासुरुवाल लगाएर मन्त्री खान दौडिन्थे! हाम्लाई थाह नभएको हो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर