श्री कालीबहादुर गणद्वारा आयोजित स्वास्थ्य शिविर


सुर्खेत। नेपाली सेनाको श्री काली बहादुर गणद्वारा शनिबार बराहताल गाउँपालिका–२, रानिघाट सिकारवासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।
स्वास्थ्य सेवामा पहुँचबाट बञ्चित नागरिकलाई लक्षित गरी आयोजना गरिएको शिविरमा ठूलो संख्यामा नागरिकहरूको सहभागिता देखिएको छ।
स्वास्थ्य शिविर कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय (स्वास्थ्य महाशाखा), कर्णाली प्रदेश अस्पताल, सुर्खेत आँखा अस्पताल, र श्री ज्योति फाउण्डेशनको सहकार्यमा भएको हो। यस अवसरमा स्थानीयवासीलाई विभिन्न प्रकारका स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको छ।
शिविरमा आएका बिरामीहरूको उपचारका लागि आवश्यक औषधि निःशुल्क रूपमा वितरण गरिएको थियो।
आयोजकका अनुसार औषधि खरिदमा मात्रै करिब डेढ लाख रुपैयाँ खर्च गरिएको छ। स्वास्थ्य शिविरका क्रममा प्रमुख सेनानी शैलेन्द्र सिलवालले शिविर बिहानैदेखि सञ्चालनमा आएको जानकारी दिए।
दिउँसो १ बजेसम्म ३ सयभन्दा बढी स्थानीयले स्वास्थ्य सेवा लिइसकेका सेनानी सिलवालले बताए।
शिविर साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। आयोजकका अनुसार स्वास्थ्य परीक्षण, आँखा परीक्षण, रक्तचाप जाँच, मधुमेह, महिला सम्बन्धि समस्यामा परीक्षण लगायतका सेवा प्रदान गरिएको छ।
प्रमुख सेनानी शैलेन्द्र सिलवालका अनुसार नेपाली सेना राष्ट्र सुरक्षामा मात्र सीमित नभई नागरिक सेवामा पनि उत्तिकै संलग्न रहँदै आएको छ।
उनले भने,ञनेपाली सेना संविधानले दिएको राष्ट्र सुरक्षाको जिम्मेवारीसँगै नागरिक सेवामा पनि समर्पित छ। स्वास्थ्य शिविर जस्ता कार्यक्रमहरूमार्फत हामी नागरिक र सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं।
यसअघि नेपाली सेनाले चौकुने गाउँपालिकामा पनि स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। सेना नागरिक सहकार्यलाई अझ बलियो बनाउन यस्ता सेवा कार्यक्रम निरन्तर सञ्चालन गरिने प्रमुख सेनानी सिलवालले जानकारी गराएका छन्।