पत्रकार हत्याको विरोधमा हेटौंडामा प्रदर्शन


हेटौंडा । काठमाडौंमा शुक्रबार भएको राजावादी समूहको आन्दोलनमा पत्रकारको हत्या तथा सञ्चारकर्मी र सञ्चार गृहमा गरिएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासंघ मकवानपुरले विरोध कार्यक्रम गरेको छ ।
हेटौंडा उपमहानगरपालिका- २ को पल्पसा सदनबाट विरोध र्याली गर्दै हेटौंडा- ४ सिमाचोकमा पुगेर शनिबार कोणसभा गरिएको हो ।
र्यालीमा पत्रकार र सञ्चार क्षेत्रमाथिको आक्रमण बन्द गर, पत्रकार हत्याको छानबिन गर, पत्रकार सुरेश रजकको हत्यारालाई कारबाही गरलगायत लेखिएका प्लेकार्डसहित सञ्चारकर्मीहरु प्रदर्शनमा सहभागी थिए ।
पत्रकार महासंघको स्थापना दिवसमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।
विरोधसभालाई नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईं, महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, गैरसरकारी संस्था महासंघका आरती पाठक, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टरलगायतका संघ सस्थाका प्रमुखहरुले सम्बोधन गरेका थिए ।