राजावादीहरुसँग राजनीतिक व्यवहार नहुने सरकारको प्रष्टोक्ति, फुटेज हेरेर दोषी पहिचान गर्दै प्रहरी – Nepal Press

राजावादीहरुसँग राजनीतिक व्यवहार नहुने सरकारको प्रष्टोक्ति, फुटेज हेरेर दोषी पहिचान गर्दै प्रहरी

काठमाडौं । सरकारले राजसंस्था पुनःस्थापनाको माग राखेर गरिएको आन्दोलन र त्यसका नेतृत्वकर्ताहरुसँग राजनीतिक व्यवहार नहुने प्रस्ट पारेको छ । राजावादीहरुसँग कुनै प्रकारको वार्ता, संवाद वा छलफलसमेत नभएको सरकारले जनाएको छ ।

राजसंस्था पुनःस्थापना जनआन्दोलन समितिले नवीन समझदारीका लागि संवाद गर्न एक साताको अल्टिमेटम दिएर शुक्रबार आन्दोलन थालेको थियो । पहिलो दिनकै आन्दोलन अराजकता र हिंसामा परिणत भएपछि आन्दोलनको नेतृत्वकर्ता कोही पक्राउमा छन् भने दुर्गा प्रसाईं फरार छन् ।

आन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले पूर्वराजालाई दोषारोपण नगर्न र आन्दोलनकारीसँग संवाद थाल्न विज्ञप्ति निकाले पनि सरकारले राजावादीसँग कुनै संवाद नहुने प्रस्ट पारेको हो ।

गृह मन्त्रालयका प्रवक्ता छवि रिजालले राजावादीहरुको कृत्य कुनै पनि प्रकारले राजनीतिक नभएको र उनीहरुले मानवताविरोधी अपराध गरेकाले राजनीतिक व्यवहार वा संवादको सम्भावना नरहेको बताए । रिजालले राजावादी आन्दोलनकर्ताहरुमाथि मानवताविरोधी अपराध, डाँका र संगठित अपराधको मुद्दा चल्न सक्ने बताएका छन् ।

मन्त्रिपरिषद् बैठकमा शुक्रबार राति यसबारेमा छलफल भएको र पूर्वराजा ज्ञानेन्द्र शाहको इशारामा सबै घटना भएको भन्दै उनीमाथि अनुसन्धान थाल्नेबारे चर्चा चलेको थियो । त्यसलगत्तै सरकारले पूर्वराजाको पासपोर्ट रद्द गरी सरकारले दिँदै आएको पछुवा गाडीसहितका सुरक्षाकर्मी र सरकारी सेवा सुविधा खोस्ने तयारी थालिएको छ ।

पूर्वराजालाई नागार्जुन दरवारबाट पनि बेदखल गर्ने तयारी छ । आन्दोलनको अघिल्लो दिन नवराज सुवेदी र दुर्गा प्रसाईंलाई निर्मल निवासमा बोलाएर पूर्वराजाले पालैपालो निर्देशन दिएको सरकारको दाबी छ ।

त्यसको भोलिपल्ट आगजनी, लुटपाट र हत्याका घटना भएकाले पूर्वराजासहित राजावादीहरुसँग कुनै प्रकारको राजनीतिक व्यवहार नहुने गृहमन्त्री रमेश लेखकले नेपाल प्रेससँग बताए ।

राजावादीहरुका माग असंवैधानिक र क्रियाकलाप अराजक तथा मानवताविरोधी रहेकाले संवादको कुनै सम्भावना नरहेको गृह मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रबारको घटनामा संलग्न सबैमाथि मुद्दा चलाउन प्रहरी प्रतिवेदन तयार भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरकार प्रमुख विश्व अधिकारीले बताएका छन् ।

तोडफोड, आगजनी र लुटपाट भएका सबै स्थानको सीसीटीभी फुटेजहरु संकलन गरिएको र बाहिर आएका भिडिओहरुका आधारमा समेत पहिचान गरेर सबैलाई कानूनको दायरामा ल्याइने उपत्यका अपराध महाशाखाका प्रमुख एसएसपी रमेश बस्नेतले बताए ।

लुटपाट र आगजनीका घटनामा कतिपय पेशेवर अपराधीहरुसमेत संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

One thought on “राजावादीहरुसँग राजनीतिक व्यवहार नहुने सरकारको प्रष्टोक्ति, फुटेज हेरेर दोषी पहिचान गर्दै प्रहरी

  1. यी यहि अवसर उपयुक्त समय हो :
    २०४६ र २०६२/२०६३, २०८१ अनि विभिन्न समयमा नानता माथि ज्यादती गर्ने हरुलाई एकमुस्ट रुपमा ठिन्गुरा ठोक्ने !!
    अहिले पनि छाडा छोडे, न भोली सान्त हुन्छन न कुनै प्रयासले यी सुध्रिञ्छन !! खासमा यो बिगतको दण्डहिनताको उपज हो : दोषी जो सुकै होस् दोस बराबरको दण्ड पाउने पर्छ : नत्र यो परिवर्तनको कुनै गुञ्जायस हुन्न : र त्यो कहिल्येइ स्थायी हुन सक्तैन !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर