शुक्रबारको वितण्डाः हिंसा लक्षित प्रदर्शन, अलमलका बीच सुरक्षा परिचालन

काठमाडाैं । कल्पना गरौं कि कोटेश्वरस्थित जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा शुक्रबार भएको आगजनीले त्यहाँ भण्डारण गरिएको तेल छोएकोमात्रै भए के हुन्थ्यो ? सँगै रहेको सुकुमबासी बस्ती तहसनहस त हुन्थ्यो नै, नजिकैको कामख्या पेट्रोल पम्पलाई भेटेको भए जडिबुटीको पूरै बस्तीमा भयावह अवस्था सिर्जना हुने थियो ।
सिनामंगलस्थित नागरिक उड्डयन प्राधिकरणको भवनमा ढुंगामुढा भयो । त्यसको ठीक पारितर्फ नेपाल आयल निगमको ७ हजार ६६० किलोलिटर हवाई इन्धन भण्डारण गरिने डिपो छ । आगोको सानो झिल्कोमात्रै त्यहाँ परेको भए विमानस्थल त खरानी हुन्थ्यो नै, सिनामंगलका दुबैतर्फका बस्ती तहसनहस हुन समय लाग्ने थिएन । उक्त डिपो नयाँ र पुरानो सिनामंगलको बीचमा अवस्थित छ । नयाँ सिनामंगल भनेको विमानस्थलको मूल प्रवेशद्वारतर्फको बस्तीलाई मानिन्छ भने पुरानो सिनामंगल पेप्सीकोला क्षेत्रलाई मानिन्छ ।
यसरी शुक्रबार काठमाडौंमा देखिएको राजावादी प्रदर्शनकारीको हिंसात्मक गतिविधिका क्रममा कतिपय कहालीलाग्दो सम्भावना टरेका छन् । कतिपय कल्पना नगरिएका घटना भएका छन् ।
घटनापूर्व सरकारलाई बुझाइएको एक गुप्तचरी सूचनामा भनिएकै थियो, विमानस्थल, मिडिया हाउस र जनसरोकारका कतिपय स्थानमा आक्रमण गर्ने योजना छ । यसबारे नेपाल प्रहरी जानकारमात्रै हैन, सुरक्षा तयारीका क्रममा ती क्षेत्रलाई लक्षित गरी तैनाथी बढाइएको पनि थियो । हुनसक्छ, त्यही पूर्वसूचनाका कारण अति संवेदनशील स्थान आगजनीबाट जोगिएको छ । यद्यपि दृश्यमा त्यस्तो देखिएन ।
सम्भावित आगजनीलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरी बलले प्रदर्शनस्थलमा दमकल पठाउन तयारी हालतमा राख्यो । दमकल सिनामंगलस्थित २० नम्बर विपद् उद्धार गणमा पार्किङ गरिएको थियो । जब प्रदर्शनस्थलमा त्यसको आवश्यकता भयो, मुस्किलले पुग्यो । धन्न नेपाल प्रहरीका दुई वाटर क्यानल तीनकुनेमा लगेर राखिएको थियो । अत्यधिक ढुंगामुढाका कारण सामान्य क्षति भए पनि त्यसले काम ग¥यो, भिड नियन्त्रणलाई सहज बनायो ।
एम्बुलेन्स, दमकलमात्रै हैन, सेना, प्रहरी र सशस्त्रका गाडीलाई समेत प्रदर्शनकारीले कोटेश्वरदेखि तीनकुनेसम्मको क्षेत्रमा चल्न दिएनन् । बरु भक्तपुरतर्फबाट अनियन्त्रित गतिमा कोटेश्वर हुँदै भित्रिएका मेडिकल व्यवसायी तथा उक्त प्रदर्शनका एक नेतृत्वकर्ता दुर्गा प्रसाईंले भएभरका सुरक्षा घेरा तोडिरहे, उनी अगाडि बढिरहे ।
प्रहरीका पूर्वआईजी सर्वेन्द्र खनालका अनुसार त्यस्तो अवस्थामा प्रसाईंको गाडीको टायरमा गोली हान्नुपर्थ्यो र उनलाई नियन्त्रणमा लिनुपर्थ्यो । त्यसो गर्न नसके पनि भित्रैबाट घिच्रोमा तानेर गाडीबाट बाहिर निकाल्नुपर्थ्यो ।
तर त्यस्तो केही पनि भएन ।
शुक्रबार तीनकुनेस्थित बागमती पुलमा एसपी अपिलराज बोहराको कमान्डमा प्रहरीको पहिलो घेरा थियो । त्यसपछि शान्तिनगर–मीनभवन क्षेत्रमा डीएसपी निर्मल पनेरुको टोली थियो ।
अनियन्त्रित गतिमा दुर्गा प्रसाईं पुगेपछि पहिलो घेराले उनलाई त्यहीबाट फिर्ता पठायो, तर नियन्त्रणमा लिएन ।
गोली चलाउनुपर्थ्यो भन्ने पूर्वआईजी खनालको तर्क लागू हुने अवस्था थिएन । किनभने भिड थियो । गाडी नियन्त्रित अवस्थामा थिएन । टायरलाई लक्षित गरी चलाइएको गोलीले मान्छेलाई लाग्ने खतरा बढी थियो । त्यसले समाधान हैन, समस्या बढाउँथ्यो ।
पहिलो घेराको कमान्ड गरेका एसपी बोहराका अनुसार शुक्रबारका प्रदर्शनकारी यति अराजक थिए कि भनेको कुनै पनि कुरा मान्ने पक्षमा थिएनन् ।
‘तिनीहरु कुनै राजनीतिक चेतना र सुझबुझ भएका मान्छे नै थिएनन्’, उनी भन्छन्, ‘यदि त्यस्तो हुन्थे भने दमकल, एम्बुलेन्स जस्ता अत्यावश्यक सेवामा अवरोध गर्ने थिएनन् ।’
घेरा तोड्ने प्रयास गरेको टोलीलाई एसपी बोहरा आफैंले एक घण्टाभन्दा बढी सम्झाए, तर उनीहरुले कुरा सुनेको नसुन्यैमात्रै गरिरहे । उल्टै ‘मलाई हान’, ‘मलाई पिट’, ‘गोली चलाऊ’ जस्ता वाक्य उच्चरण गरिरहे ।
‘त्यो भिडको मनोविज्ञान बुझ्दा त्यस्तै कुरा गर्नु र उत्तेजनामात्रै फैलाइरहनु भनेर पूर्वअभ्यासका साथ पठाइए जस्तो बुझिन्थ्यो’, एसपी बोहोराले बताए ।
तीनकुनेको प्रदर्शन उग्र भएपछि प्रहरीले शुरुमा लाठी चार्ज गरी नियन्त्रण प्रयास गर्यो, तर लाठीबाट पार नलाग्ने देखेपछि पानीको फोहोरासँगै अश्रुग्याँस फ्याँकियो । अनि बल्ल लाठीचार्ज भयो । बागमती पुलबाट भागेर प्रदर्शनकारी तीनकुने-कोटेश्वरतिर लागे । उनीहरुले आगो झोसेर एउटा घरमा सल्काए । एभेन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकले त्यही ज्यान गुमाएका हुन् ।
उक्त घरमा भएको आगलागी नियन्त्रणका निम्ति सशस्त्रको दमकल पुग्यो, तर प्रदर्शनकारीको अवरोधका कारण यथेष्ट काम गर्न पाएन । प्रहरीसँग भएको वाटर क्यानलसँग उपलब्ध क्षमता प्रयोग भयो, तर पर्याप्त भएन ।
प्रदर्शन राजनीतिक अवरणमा हिंसात्मक गतिविधिका निम्ति प्रेरित थियो । हिंसाका माध्यमबाट जनजीवन भयभित बनाउने र त्यसमार्फत राजनीतिक मुद्दाप्रति ध्यानाकर्षण गराउने उल्टो गतिमा आन्दोलन अगाडि बढ्यो । त्यसका निम्ति मिडिया हाउसमाथि आक्रमण गर्ने, मुख्य राजनीतिक दल, त्यसका नेतामाथि आक्रमण गर्ने जस्ता योजना थिए । कतिपय योजनामा प्रदर्शनकारी सफल भए ।
सुरक्षाकर्मीको पर्याप्त जनशक्ति परिचालित थियो, तर जहाँ-जहाँ सुरक्षा केन्द्रित गर्नुपर्थ्यो, त्यस्तो नहुँदा क्षति भएको पूर्वआईजी खनाल बताउँछन् ।
जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीको भवन, नागरिक उड्डयन प्राधिकरणको कार्यालय, अन्नपूर्ण पोष्ट र कोटेश्वरस्थित प्रहरी प्रभागमा भएको आक्रमणलाई प्रहरीले नियन्त्रणमा लिन नसकेको भए स्थिति भयावह हुन्थ्यो । आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको कार्यालयमा भएको आक्रमण र उक्त पार्टी अध्यक्ष माधवकुमार नेपालको घरमा भएको आक्रमणलाई प्रहरीले नियन्त्रणमा लियो ।
तर सुरक्षाविद्हरु घटना हुनुपूर्व नियन्त्रणमा राख्ने विधिमा प्रहरी नचलेको बताउँछन् ।
काठमाडौंकै एक प्रहरी युनिटका नेतृत्वकर्ता अधिकृत भन्छन्, ‘सतर्कता अपनाउनुपर्ने ठाउँहरु पहिल्यै पहिचान भएको अवस्थामा ती ठाउँमा ससानो भए पनि टोली खटाएको भए क्षति कम हुन्थ्यो ।’
घटना भइसकेपछि नियन्त्रणमा लिनुभन्दा घटना हुन नदिनेतर्फ लाग्नुपर्थ्यो, त्यसमा कमजोरी भएको उनी बताउँछन् ।