निर्वाचनमा दलहरुले गठबन्धन गर्दा महिला जनप्रतिनिधिको संख्या घट्यो- पूर्वराष्ट्रपति भण्डारी


रुपन्देही । बिहीबारदेखि रुपन्देहीमा रहेर आफ्नो सक्रियता देखाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भैरहवामा लुम्बिनी प्रदेशमा रहेका महिला जनप्रतिनिधिको भेला बोलाएर अन्तरसंवाद गरेकी छन् । त्यो भेलामा उनले गत निर्वाचनका क्रममा राजनीतिक दलहरुबीच भएको गठबन्धनका कारण कतिपय अवस्थामा महिला सहभागिताको अनुपात घटेको बताएर जनप्रतिनिधिहरुको विश्वास जित्ने प्रयास गरिन् ।
भण्डारीले संवैधानिक प्रावधान विपरीत महिला सहभागिताको अनुपात घटेको बताइरहँदा सहभागीले टाउको हल्लाएर समर्थन गरिरहेका थिए । रुपन्देहीमा उनको भ्रमणको व्यवस्थापनमा खटिएकी सिद्धार्थनगर नगरपालिकाकी उपमेयर उमा अधिकारीले यहाँको व्यवस्थापनमा विशेष चासो दिएकी थिइन् ।
‘अब आगामी निर्वाचनमा राजनीतिक दलहरुले यस विषयमा विशेष ध्यान जरुरी छ, प्राप्त उपलब्धिको रक्षा गर्दै संविधानप्रदत्त महिला अधिकारको पूर्ण कार्यान्वयन र समानताको लक्ष्य हासिल गर्ने अभियानलाई निरन्तरता दिनुपर्छ’ भण्डारीले भनिन् ।
समाजमा गहिरो जरा गाडेको पुरानो पितृसत्तात्मक सोचका कारण महिलाहरू अझै पनि सामाजिक, सांस्कृतिक, शैक्षिक, राजनीतिक र आर्थिक रूपमा पछाडि परेको अवस्था भएको उनको भनाइ छ । ‘बालविवाह, बहुविवाह, दाइजो, छाउपडी, बोक्सीको आरोप जस्ता महिला विरोधी सामाजिक परम्परा अहिले पनि समाजमा विद्यमान देखिन्छ,’पूर्वराष्ट्रपति भण्डारीले भनिन्–‘समाजमा सिर्जना गरिएका विभेद हटाइ न्यायपूर्ण एवं समतामूलक निर्माणका लागि महिला र पुरुष दुवैको समान सहभागिता आवश्यक छ ।’
महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्वकै लागि प्रेरणादायी भएको उनले बताइन् । अहिलेको संविधानले महिलाहरूको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेको उनको भनाइ छ । लुम्बिनी प्रदेशको समग्र विकासमा महिला जनप्रतिनिधिको भूमिका महत्त्वपूर्ण रहेको पूर्वराष्ट्रपति भण्डारीले बताइन् ।
संविधानले विद्यालय क्षेत्रलाई स्थानीय तहमा अधिकार दिएकोले समग्र विकासको चाहना राख्नेहरुले शिक्षा क्षेत्रको विकासमा पनि त्यत्तिकै ध्यान दिन आवश्यक रहेकोमा उनले जोड दिइन् । उनले सामुदायिक विद्यालयमा दीवा खाजा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिइन् । उनले महिला सांसदप्रति विभेद हुनु दुःखद भएको भन्दै यसबारे गहन छलफल हुन आवश्यक रहेको उनको भनाइ छ । ‘विभेदलाई हटाउन र अधिकारलाई सुनिश्चित गर्न महिलाको क्षमता अभिवृद्धि गर्न आवश्यक छ’उनले भनिन् ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य मेनका पोखरेल, प्रदेश सभा सदस्य जमुना ढकाल, हेमा बेल्बासे केसी, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँ, बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीलगायतले बोलेका थिए ।
कार्यक्रममा सहभागी बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालका अनुसार यो कार्यक्रममा करिब १२ सय सहभागी रहेका छन् । अहिले उद्घाटन सत्र सकेर बन्द सत्र सुरु भएको र विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेर समूहगत छलफल हुनेछ ।
पूर्वराष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्कने कार्यक्रम रहेको छ । रुपन्देही रहँदा यो क्षेत्रमा रहेका अधिकांश एमाले नेताहरुसँग एकल तथा सामूहिक भेट गरेकी छन् भने केही आज साँझ र भोलि पालो राखिएको छ । यसअघि कोशी प्रदेशको भ्रमणमा उनलाई भेट्नेहरुले आफ्नो परिचय गोप्य राखेका थिए तर यहाँ भने अधिकांशले भेटलाई सार्वजनिक गरेका छन् । लुम्बिनीबाट पार्टी केन्द्र, प्रदेश र जिल्लामा रहेका अधिकांश नेताहरुले उनीसँग भेट गरे पनि पार्टीको नयाँ नेतृत्वका विषयमा भने केही कुरा नगरेको दाबी गरिरहेका छन् ।
सामान्य भेटघाट ठिकै छ । सक्रिय हुन खोजे नैतिकहीन भनेर कसैले गन्नेवाला छैन । आफूसँगै एमालेलाई पनि माटोमा मिलाउनेछिन ।मदन भण्डारीको कारण साँसद जितेको हो कुनै विशेष योगदान थिएन । पछि ओलिले संरक्षण र प्रोत्साहन गरेर राष्ट्रपतिसम्म पुर्याएका हुन् । आफ्नो हैसियत छैन । उनलाई अघि बढाउन खोज्दा लामो समय योगदान गरेका कति महिलाले पार्टी नै छोडे जस्तै उर्मिला अर्याल । अहिले चरम महत्वाकाँक्षी भएको पटक्कै ठिक देखिएको छैन । उनलाई उकास्नेले पनि बुझुन कि उनी, तिमीसँगै पार्टी नै सकिन्छ । विरोधी र विशेष गरेर भारतले अहिले यिनलाई नेतृत्वमा आउन उचालिरहेको छ । पार्टीमा पनि ७० करोड नखाए पनि पार्टीको बेईज्जत गराउने गोकुल,कान्छी श्रीमतिलाई राजनैतिक नियुक्ति नदिलाएको भनेर रिसाएको पश्चिमको कर्णजस्ताले ओलिसँग रिस फेर्न यिनलाई कान फुकिरहेका छन् । होशियार ! दुई पटक राष्ट्रपति भैसकेपछि अब चुप लागेर बस । काँग्रेस भए पनि बरू रामबरणमा अलिकति नैतिकता देखियो ।