भूकम्प प्रभावित म्यान्माको एक आवासीय भवनमा ९० जनाभन्दा बढी फसेको आशङ्का


मान्डले । मध्य म्यान्माको मान्डलेमा विनाशकारी भूकम्पका कारण ध्वस्त भएको एक अपार्टमेन्ट ब्लकमा भग्नावशेषभित्र ९० जनाभन्दा बढी मानिस फसेको हुनसक्ने रेडक्रसका एक अधिकारीले शनिबार बताएका छन् ।
शुक्रबार गएको ७.७ म्याग्निच्यूडको भूकम्पबाट सबैभन्दा बढी प्रभावित मान्डलेका भवनमध्ये ‘स्काई भिल्ला कन्डोमिनियम डेभलपमेन्ट’ पनि एक हो । उक्त भवनको भग्नावशेषबाट नौ जनाको मृत शरीर र ४४ जनालाई जीवितै निकालिएको घटनास्थलमा रहेको रेडक्रसका एक अधिकारीले नाम नबताउने शर्तमा एएफपीसँग बताए ।
उनले भने, ‘९० जनाभन्दा बढी मानिस भित्र हुन सक्छन् । हामी अझै पनि डाटा सङ्कलन गरिरहेका छौं । हराएका परिवारका सदस्यहरूको खोजी गरिरहेका छन् र हामीले सूचना सङ्कलन गरिरहेका छौं ।’
भूकम्पका कारण म्यान्मामा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको छ, तर सञ्चार सेवा नराम्ररी अवरुद्ध भएको छ । विपत्तिको वास्तविक परिमाण बाहिर आउन थालेको छ ।
यो दशकौंपछिको देशको सबैभन्दा ठूलो भूकम्प हो, जसमा १७ लाखभन्दा बढी जनसङ्ख्या भएको दोस्रो ठूलो सहर मान्डले नराम्ररी प्रभावित भएको छ ।
भूकम्पका कारण स्काई भिल्ला कोन्डोको १२ मध्ये ६ तलामात्र देखिएको छ ।
भूकम्पले सडक तथा पुलहरू भत्काएको कारण भग्नावशेष हटाउन आवश्यक साधनहरू लिएर प्रभावित क्षेत्रमा पुग्न समस्या भइरहेको छ । स्थानीय स्तरमा उपलब्ध डोजर र स्काइभेटरले विशेषज्ञहरूको सहयोगमा काम गरिरहेका छन् । -रासस/एएफपी