एमालेले गणतन्त्रको पक्षमा बझाङमा जागरणसभा गर्ने


बझाङ । नेकपा एमाले जिल्ला कमिटी बझाङले गणतन्त्रको पक्षमा जागरण सभा गर्ने भएको छ ।
पार्टी केन्द्रको सर्कुलरअनु्सार चैत १८ गते हुने जागरणसभामा जनतामा आएका निराशालाई चिर्ने र गणतन्त्रका विषयमा सचेतना फैलाउने एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारीले बताए ।
शनिबार पार्टी कार्यालय पानकोटमा नागरिक समाज र पत्रकारहरुसँग गणतन्त्रको पक्षमा गरिएको अन्तरसंवाद कार्यक्रममा जनताहरुलाई गणतन्त्रको बारेमा सचेतना फैलाउनुपर्ने सुझाव आएपछि उक्त जागरण सभा गर्ने निर्णय गरिएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए ।
अन्तरसंवादमा सहभागीहरुले पार्टीभित्र पनि आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्ने बताएका थिए । राजनीतिक दलहरुका केही नराम्रा कामहरुले पनि राजावादीहरु सलबलाउन थालेको सहभागीहरुको भनाइ थियो ।
‘राजतन्त्र आएपछि के हुन्छ भन्ने कुरा हिजोको राजावादीको आन्दोलनको घटनाले देखाएका छ । यस्तो अवस्थामा गणतन्त्र बलियो बनाउनु नै राम्रो हो’, एमाले केन्द्रीय सदस्य अफिलाल ओखेडाले भने ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्वसभामुख अर्जुनबहादुर थापाले गणतन्त्रको पक्षमा जनचेतना फैलाउन आवश्यक रहेको बताए ।
अहिले राजावादीहरुले गणतान्त्रिक व्यवस्थालाई हतोत्साहित गराउन खोजेको एमाले केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज भैरवबहादुर सिंहले आरोप लगाए ।
हिजोको आन्दोलनको क्षतिपूर्ति ज्ञानेन्द्र शाहलाई तिराएर पक्राउ गर्नुपर्ने उनको भनाइ छ ।