तीनकुने प्रकरण: पक्राउ पर्ने १११ जना पुगे

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाका समर्थकहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ ।
पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो । आज थप ६ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौंले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले ९, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले ३, प्रहरी वृत्त बालाजुले १, प्रहरी वृत्त सिंहदरबारले २ जनालाई पक्राउ गरेको उनले जानकारी दिए ।
उक्त घटनामा दुई जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रदर्शनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।
प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा एक ठाउँमा तोडफोड तथा लुटपाट भएको छ ।
‘प्रहरीतर्फ ६, सरकारी कार्यालयको ४, विवरण नखुलेको ६ वटा गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित ६ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ’, उनले भने ।