सशस्त्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकप – Nepal Press

सशस्त्रलाई हराउँदै चर्च ब्वाइजले जित्यो तिलोत्तमा गोल्डकप

रुपन्देही । रुपन्देहीमा भएको तिलोत्तमा गोल्डकपको २३औं संस्करणको उपाधि चर्च ब्वाइज क्लब काठमाडौंले जितेको छ । शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको विभागीय टीम एपीएफलाई २-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधि उचालेको हो ।

यो जितसँगै तिलोत्तमा गोल्डकपले नयाँ विजेता पाएको छ । यस सिजनमा बुढासुब्बा, झापा गोल्डकपलगायत मुख्य प्रतियोगिता जितिसकेको चर्च ब्वाइजले आफ्नो खातामा पाँचौं उपाधि उचालेको छ ।

खेलको पहिलो हाफको २०औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिएको थियो । चर्चका रिचर्ड विल्सनले सो गोल गरेका थिए । विल्सन राज भुसालको कर्नरलाई हेडिङमार्फत गोल गर्न सफल भएका थिए ।

पहिलो हाफ १-० मा सकिएकोमा दोस्रो हाफमा चर्चले गोल दोब्बर बनायो । दोस्रो हाफको १८औं मिनेटमा राज भुसालले गरेको गोल टीमलाई उपाधि जिताउन पर्याप्त भयो ।

विजेता चर्च ब्वाइजले उपाधिसहित नगद १२ लाख १२ हजार २२२ रुपैयाँ हात पारेको छ । उपविजेता एपीएफले ६ लाख ६६ हजार ६६६ रुपैयाँ पाएको छ ।

फाइनल खेलको म्यान अफ दि म्याच चर्चका राज भुसाल घोषित हुँदै नगद ११ हजार हात पारेका छन् । विधागततर्फ उत्कृष्ट गोलकिपर चर्च ब्वाइजकै विशाल चौधरी, बेस्ट डिफेन्डर एपीएफका मानबहादुर राना, बेस्ट मिडफिल्डर एपीएफकै सामुयल सुनार, बेस्ट स्ट«ाइकर चर्च ब्वाइजका रिचर्ड विलसन र बेस्ट कोच चर्च ब्वाइजकै आशषिक थापा मगर भएका छन् । उत्कृष्ट हुने सबैले जनही ३१–३१ हजार र ट्रफी हात पारेका छन् ।

सर्वश्रेष्ठ खेलाडी चर्च ब्वाइजका अमन लामा

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी चर्च ब्वाइजका अमन लामा भएका छन् । उनले एक थान स्कुटर जिते । उत्कृष्ट खेलाडीहरु तथा विजेता तथा उपविजेता टीमलाई बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, प्रदेश खेलकुद विकास परिषद् लुम्बिनीका सदस्यसचिव तिरण गौतम, एन्फाका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी, यशोदा फुड्स प्रालिका डाइरेक्टर नितेश मालपानी, रुपन्देही फुटबल संघका अध्यक्ष लोक पुनलगायतले पुरस्कार वितरण गरेका थिए ।

तिलोत्तमा गोल्डकपको २३ औं संस्करण सम्पन्न हुँदासम्म १६ वटा टीमले यसको उपाधि उचालेका छन् । जसमा ३ विदेशी टीम भारतको बम्बई फर्टिलाइजर मुम्बई र महिन्द्रा एन्ड महिन्द्रा तथा क्यामरुनको दाउफिन्स एफसीले जितेका छन् । बाँकी १३ वटा नेपाली क्लबले जितेका छन् ।

चैत ९ गते सुरु भएको प्रतियोगितामा आयोजक करेन्ट रुपन्देही–११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपीएफ क्लब तथा दुई भारतीय टीम एडोर्न गडवाल स्पोर्टिङ क्लब र जर्जियन एफसीको सहभागिता रहेको थियो ।

बुटवल उपमहानगरपालिका संरक्षक तथा रुपन्देही फुटबल संघको आयोजनामा भएको प्रतियोगितालाई यशोदा फुड्स प्रालि र त्रिमूर्ति इन्डष्ट्रिज प्रालिले मुख्य प्रायोजन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *