राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग – Nepal Press

राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग

सवारीचालक सविन महर्जन परिवारलाई पनि नभनी कसरी पुगे आन्दोलनमा ?

काठमाडौं । दुई दिनअघि राजसंस्था पुन:स्थापनाको मागसहित काठमाडौंमा भएको आन्दोलनमा प्रहरीको गोली लागि निधन भएका युवा सविन महर्जनको शव अझै उठेको छैन । आर्थिक क्षतिपूर्ति र शहीद घोषणाको माग गर्दै परिवारले शव उठाउन इन्कार गरेका हुन् ।

कीर्तिपुर-४ गाम्चा निवासी २९ वर्षीय सविनलाई तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि ज्यान जोगिन सकेन । टिचिङ अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । संयुक्त जनआन्दोलन समितिले सविनलाई राजावादी आन्दोलनको पहिलो शहीद घोषणा गरेको छ ।

सविन एक सामान्य यातायात मजदुर हुन् । उनी काठमाडौं-हेटौंडा रुटमा सुमो चलाउँथे । राजनीतिमा उनी संलग्न थिएनन् ।

शुक्रबार बिहान सविन बल्खुमा गाडी बनाउनुपर्ने भन्दै घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । श्रीमान् आन्दोलनमा सहभागी भएकोबारे आफूलाई थाहै नभएको श्रीमती भविषाले बताएकी छन् । दिउँसो उनले श्रीमानलाई फोन गर्दा प्रहरीले उठाएपछि छाँगाबाट खसेझैँ भएकी थिइन् । प्रहरीले श्रीमान गम्भीर घाइते भएर अस्पताल ल्याइएको जानकारी दिएका थिए । भविषा अस्पताल पुग्दा सविनलाई मृत घोषणा गरिसकिएको थियो ।

सविन र भविषाका एक छोरी छन् । श्रीमानको निधनपछि बज्रपातमा परेकी भविषाले आफू बेसहारा बनेको बताउँछिन् । यसअघि ११ जनाको संयुक्त परिवारको आर्थिक दायित्व सविन एक्लैले बोक्दै आएका थिए । उनको निधनपछि परिवारकै बिचल्ली भएको छ ।

निधनको खबरपछि सविनकी ७५ वर्षीया हजुरआमा अस्वस्थ बनेकी थिइन् । उनलाई अहिले कीर्तिपुरको काठमाडौं मोडल अस्पतालमा राखिएको छ ।

यता, सविनको शव उठाउन परिवारले मानेका छैनन् । श्रीमानलाई शहीद घोषणा गर्नुपर्ने र परिवारलाई ५० लाख क्षतिपूर्ति दिइनुपर्ने सविनाको माग छ । उनले रोजगारीको माग पनि राखेकी छन् । संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि परिवारको मागमा समर्थन जनाएका छन् ।

राप्रपाको हिजो बसेको बैठकले आन्दोलनमा निधन भएका सविन र पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो ।


प्रतिक्रिया

One thought on “राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग

  1. लौ लौ ५ करोड भन्दा तल क्षति पूर्ति कसरी दिदा रैछन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर