स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा तात्यो माहोल, दलनिकट संगठनहरूबीच तीव्र प्रतिस्पर्धा – Nepal Press

स्ववियु निर्वाचन : मध्यपश्चिम विश्वविद्यालयमा तात्यो माहोल, दलनिकट संगठनहरूबीच तीव्र प्रतिस्पर्धा

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी चुलिएको छ । भोलि हुने निर्वाचनका लागि विभिन्न दलनिकट संगठनहरू र एक स्वतन्त्र उम्मेदवार गरी आठ जना अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्।

६ वर्षपछि हुन लागेको यो निर्वाचनले विद्यार्थी राजनीतिमा नयाँ मोड ल्याउने अनुमान गरिएको छ। प्रमुख प्रतिस्पर्धीको रूपमा नेपाली कांग्रेसनिकट नेविसंघ, नेकपा एमालेनिकट अनेरास्ववियु, र माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी रहेका छन्।

यद्यपि, पछिल्लो समय विद्यार्थीहरूमा दलहरूप्रति असन्तुष्टि बढ्दै गएकाले स्वतन्त्र उम्मेदवारीको प्रभाव पनि निर्णायक हुन सक्ने देखिएको छ।

निर्वाचन समितिका अनुसार नेपाल क्रान्तिकारी विद्यार्थी संघ, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल (क्रान्तिकारी), स्वतन्त्र उम्मेदवार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन )छैटौँ), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, र नेपाल विद्यार्थी संघ निर्वाचन प्रतिस्पर्धामा छन् ।

हालसम्म कुनै गठबन्धन नभएको निर्वाचन अधिकृत खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिएका छन्। मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशकै ठूलो शैक्षिक संस्था भएकाले यसको स्ववियु निर्वाचन विद्यार्थी राजनीति मात्र नभई राष्ट्रिय राजनीतिका लागि पनि महत्त्वपूर्ण बनेको छ।

प्रमुख दलनिकट विद्यार्थी संगठनहरू नेतृत्व आफ्नो पक्षमा पार्न कसरत गरिरहेका छन् भने स्वतन्त्र उम्मेदवारहरूले समेत आक्रामक चुनावी अभियान सञ्चालन गरिरहेका छन्।

अध्यक्ष पदका लागि नेविसंघबाट विवेक खड्का, अनेरास्ववियुबाट जगतजंग शाही, अखिल क्रान्तिकारीबाट प्रकाश विक, अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) बाट चिनबहादुर सहकारी, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिनकुमार रेग्मी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट विकल्प वली तथा स्वतन्त्र उम्मेदवारका रूपमा मिलन विसी प्रतिस्पर्धामा छन्।

सचिव र कोषाध्यक्ष पदमा दुई जना स्वतन्त्र उम्मेदवार छन् भने सदस्य पदका लागि ३३ जनाले उम्मेदवारी दिएका छन्। स्ववियु कार्यसमिति अध्यक्ष, सचिव, कोषाध्यक्ष सहित १७ सदस्यीय हुने व्यवस्था छ।

मध्यपश्चिम विश्वविद्यालयका चार हजार तीन सय ८३ जना मतदाताले भोलि आफ्नो मताधिकार प्रयोग गर्नेछन्। २०७३ साल भदौमा सम्पन्न पहिलो निर्वाचनबाट कांग्रेसनिकट नेविसंघका झक्कबहादुर शाही अध्यक्षमा निर्वाचित भएका थिए। २०७६ पछि नेतृत्व रिक्त रहेको स्ववियु यस निर्वाचनपछि नयाँ दिशा लिने अपेक्षा गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर