प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद, सरकारले बोलायो सर्वदलीय बैठक


काठमाडौं । सभामुख देवराज घिमिरेले तीनकुनेमा शुक्रवार भएको घटनाबारे छलफल गर्नका लागि पनि संसद बैठक अघि बढाउन सघाउन प्रमुख दलका प्रमुख सचेतकहरूलाई आग्रह गरेका छन् ।
संसद भवनमा भएको छलफलका क्रममा सभामुख घिमिरेले दुई दिनअघि भएको तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएकाले संसदमा छलफल बहस गर्ने वातावरण बनाउन दलहरूलाई आग्रह गरेका हुन् ।
अधिवेशन सञ्चालन नभएको अवस्थामा पनि सदन सञ्चालन गर्नुपर्ने अवस्थामा सदन अवरोध कुनै पनि हालतमा उचित नहुने सभामुखको रहेको सचिवालयले जनाएको छ ।
बैठकमा एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीले भोलि १८ गतेको बैठकमा सम्बोधन गर्ने जानकारी गराएका थिए । बर्तौलाले संसद अवरोध खुलाउने विषयमा प्रधानमन्त्री र विपक्षी दलका नेता प्रचण्डबीच टेलिफोन संवाद भएको जानकारी समेत गराएका थिए ।
प्रधानमन्त्रीले आज नै सर्वदलीय बैठक बोलाएको समेत बर्तौलाले बताए । कुलमान घिसिङ प्रकरणलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् । सत्तापक्षले सदन अवरोध खुलाउन विपक्षी दललाई अनुरोध गरेको छ ।
विपक्षी दलले भने आफ्नो अडान यथावत् रहेको जानकारी दिएको छ ।