आगलागी र विद्युतीय सुरक्षा प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा


काठमाडौं । नेपालमा आगलागीको जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी हुने भएको छ । एसिया प्यासिफिक सेक्युरिटी एसोसियसन (आप्सा) नेपालले यही चैत २४ र २५ गते दरबारमार्गस्थित होटल याक एन्ड यतीमा ‘फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ आयोजना गर्ने तयारी गरेको छ ।
आप्सा नेपालका अध्यक्ष सुनिल कुमारका अनुसार सम्मेलनमा गृह मन्त्रालय, सहरी विकास मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय तहका ७५३ वटै पालिकाका प्रतिनिधिहरू, उद्योग क्षेत्रका नेताहरू तथा आगलागी तथा इलेक्ट्रोनिक सुरक्षासम्बन्धी विज्ञहरूको सहभागिता रहनेछ । सम्मेलनमा विभिन्न अन्तर्राष्ट्रिय विज्ञ तथा प्रमुख वक्ताहरू सहभागी हुने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामलगायत १४ राष्ट्रका विज्ञहरूले सम्मेलनमा आआफ्नो प्रस्तुति दिनेछन् । छलफल सत्रहरू, कार्यपत्र प्रस्तुति तथा प्रविधि प्रदर्शनीमार्फत अग्नि सुरक्षा तथा विद्युतीय सुरक्षा प्रविधिहरूमा भइरहेको नवीनतम प्रगतिबारे जानकारी दिने लक्ष्य राखिएको छ ।
दुई दिनसम्म चल्ने सम्मेलनका लागि सहभागी हुन दर्ता खुलिसकेको छ । आयोजकका अनुसार नेपालमा हरेक वर्ष आगलागीका घटनाले ठूलो जनधनको क्षति पु¥याउँदै आएको छ । सरकारी तथा स्थानीय तहले विभिन्न प्रयासहरू गरिरहेका भए पनि समुदायस्तरमा सचेतना अभिवृद्धि र नवीन समाधानको खोजी अझै आवश्यक रहेको निष्कर्ष निकाल्दै यो सम्मेलन आयोजना गरिएको हो ।