नजरबन्दमा नवराजः प्रहरीले गरिदियो मोबाइल स्वीच्ड अफ, अरु बन्देज के छन् ? – Nepal Press

नजरबन्दमा नवराजः प्रहरीले गरिदियो मोबाइल स्वीच्ड अफ, अरु बन्देज के छन् ?

काठमाडौं । ८७ वर्षीय बयोवृद्ध नेता नवराज सुवेदी आफ्नै घरभित्र नजरबन्द छन् । जीवनको उत्तरार्द्धमा राजा फर्काउन कस्सिएका उनले फरक परिस्थितिको सामना गर्नुपरेको छ ।

अस्ति राजावादीहरूले गरेको आन्दोलन अशान्तिपूर्ण बनेपछि सुवेदीलाई सरकारले आफ्नै घरभित्र नजरबन्द गरिदिएको हो । उनको गुह्येश्वरी घरको बाहिर सुरक्षाकर्मीहरू तैनाथ गरिएका छन् । घरको छेउछाउमा हिँडडुल गर्न कडाइ गरिएको छ भने फोटो खिच्न रोक लगाइएको छ ।

गुह्येश्वरी हाइटमा रहेको नवराजको घरमा अहिले ६ जना बस्छन् । तीनजना परिवारका सदस्य (नवराज, उनकी पत्नी र छोरा) हुन् भने अन्य तीन नजिकका आफन्त हुन् । उनीहरू सबैलाई बाहिर निस्किन कडाइ गरिएको छ ।

पारिवारिक स्रोतले भन्यो, ‘हामीलाई एकपटक बाहिर निस्किएपछि भित्र पस्न नपाउने भनिएको छ । तरकारी र अत्यावश्यक वस्तु खरिदका लागि एकपटक जान दिइन्छ ।’

सुवेदीले आफ्नो मोबाइल फोन प्रयोग गर्न पाएका छैनन् । प्रहरीले उनको मोबाइल स्वीच्ड अफ गरेर एक ठाउँमा राखिदिएको  पारिवारिक स्रोतले बतायो । घरको इन्टरनेट भने काटिएको छैन ।

नजरबन्दमा भएदेखि पार्टी र अभियानका नेताहरुसँग नवराजको सम्पर्क लगभग विच्छेद भएको छ । केही नेता हिजो उनको घरसम्म पुगे पनि सुरक्षाकर्मीले फर्काइदिएका थिए ।

नवराजका छोराले कनक सुवेदीले बुवाआमाको स्वास्थ्य हेरविचार गर्ने गरेका छन् । उमेरले ९० छुन आँटे पनि नवराज शारीरिक र मानसिकरूपमा सबल नै छन् ।  आफ्नै जीवनकालमा राजसंस्था फर्किन्छ भन्नेमा उनी आशावादी रहेको निकटस्थ स्रोतहरू बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर