प्रेस सेन्टरको अध्यक्षमा दुईजनाको उम्मेदवारी, हेडक्वार्टरको निर्देशनमा को-को भए ब्याक ?


काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपालको अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ । शनिबार अध्यक्ष प्रचण्डले उद्घाटन गरेको महाधिवेशनको दोस्रो दिन निर्वाचन प्रक्रिया अघि बढेको हो ।
निर्वाचन समितिका अनुसार मनोनयन दर्ताको समय सकिएको छ । अध्यक्ष पदमा कमल गिरी र दीपेन्द्र रावलको उम्मेदवारी परेको छ । गिरी पार्टी हेडक्वार्टरका उम्मेदवार हुन् भने रावल जनार्दन शर्मानिकटका हुन् ।
अध्यक्षमा दाबी गरेका लक्ष्मण खड्का, निर्मल ज्ञवाली, आस्था केसीलगायत हेडक्वार्टरको निर्देशनमा पछि हटेका छन् । मिलाएर टीम बनाउने भनेकाले क-कसले कुनमा उम्मेदवारी दिने भन्ने नै गन्जागोल भएको महाधिवेशनस्थलमा रहेका नेताहरूले बताए ।
निर्वाचन समितिका संयोजक गोविन्द आचार्यले मनोनयनको समय सकिएको र केहीको फारम आउन बाँकी रहेकाले कसको कुन पदमा उम्मेदवारी परेको भन्ने आधिकारिक विवरण आइनसकेको नेपाल प्रेसलाई बताए ।
अध्यक्ष उम्मेदवार आस्था केसीले भने आफूलाई नेताहरूले सहमतिका लागि पछि हट्न र भविष्यमा न्याय गर्ने आश्वासन दिएकाले उम्मेदवारी नदिएको बताइन् । अहिले अध्यक्ष प्रचण्ड घेराबन्दीमा रहेकाले हेडक्वार्टरलाई सघाउनका लागि आफू ब्याक भएको उनको भनाइ छ ।
अध्यक्षका अर्का आकांक्षी लक्ष्मण खड्काले पनि सहमतिका लागि आफूले उम्मेदवारी नदिएर ब्याक भएको बताए । कमल गिरीलाई सर्वसम्मत अध्यक्ष बनाएर आधिकारिक टीम घोषणाको प्रयास पनि जारी रहेको छ ।
हाल बरिष्ठ उपाध्यक्ष रहेका गिरीलाई अध्यक्ष बनाएर सर्वसम्मत केन्द्रीय समिति चयन गर्ने हेडक्वार्टरको संकेतपछि अध्यक्ष प्रचण्ड र वर्षमान पुनलगायतका नेताहरुसँग निकट मानिएका दाबेदारहरु ब्याक भएका हुन् । दिपेन्द्र रावलले भने आफू जनयुद्धको घाइते भएकाले न्याय हुनुपर्ने भन्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् ।
उनको नेतृत्वमा जनार्दन शर्मा पक्षले प्यानल बनाउने प्रयास गरेको छ ।