बालेनविरुद्ध महानगरका कर्मचारी एकजुट, अनधिकृत व्यक्तिहरुबाट त्रास सिर्जना गरिएको आरोप – Nepal Press

बालेनविरुद्ध महानगरका कर्मचारी एकजुट, अनधिकृत व्यक्तिहरुबाट त्रास सिर्जना गरिएको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी संगठनहरुले मेयर बालेन शाहले अभिभावकीय भूमिका नदेखाएको र अनधिकृत व्यक्तिको मौखिक आदेशबाट काम गर्न कर्मचारीलाई दबाब दिइएको भन्दै संयुक्त वक्तव्य जारी गरेका छन् ।

आइतवार चारवटा कर्मचारी संगठनहरुले वक्तव्य जारी गर्दै महानगर प्रमुख जस्तो जिम्मेवारीमा रहेको व्यक्तिले समन्वयात्मक भूमिका खेल्नुको साटो उत्तेजित शब्दावली प्रयोग गरेर थप समस्या सिर्जना गरिरहेको आरोप लगाएका छन् ।

प्रशासकीय अधिकृतलाई अपमाजनक ढंगले काम गर्न रोक लगाएर मेयरले समस्या सिर्जना गरेको भन्दै उनीहरुले ५ दिनभित्र कर्मचारीका माग सम्बोधन नभए आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

उनीहरुले व्यक्तिको मौखिक आदेश निर्देशनबाट प्रशासन संयन्त्र संचालन गर्न खोज्दा अहिलेको समस्या पैदा भएको र अनधिकृत व्यक्तिहरुबाट कर्मचारीलाई त्रास सिर्जना गरिएको समेत बताएका छन् । कर्मचारीले ५ महिनादेखि तलब नपाएको तर समस्या समाधानमा मेयर गम्भीर नभएको उनीहरुको आरोप छ ।

उनीहरुले कर्मचारीको पारिश्रमिक यथाशीघ्र उपलब्ध गराउन ५ दिनको अल्टिमेटम दिएका हुन् । विज्ञप्तिमा स्थानीय तह कर्मचारी यूनियनका अध्यक्ष नरवहादुर साउद,स्थानीय तह कर्मचारी संघ नेपालका महासचिव शम्भु बराल,परिषद अध्यक्ष उत्तम कुमार घले र सफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन् ।

मेयर शाहले प्रशासकीय अधिकृत सरोज गुरागाईमाथि अपुष्ट आरोप लगाएर कार्यालय प्रवेशमा रोक लगाएपछि महानगरपालिका प्रशासकीय नेतृत्वविहीन अवस्थामा छ । गुरागाईमाथि छानविन गर्न गठित समितिले उनी दोषी नदेखाए पनि मेयरले अर्को प्रशासकीय अधिकृत मागेका छन् ।

मेयरको इगोका कारण कर्मचारीले तलब नपाएको,पुर्वाधारको काम ठप्प भएको र महानगरको प्रशासकीय काम नभएको भन्दै कर्मचारीले आन्दोलनको चेतावनी दिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर