एमाले रामेछापको बैठक- जनताका समस्या र समाधानमा जोड


रामेछाप । नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले नेकपा एमाले माथि सधैँभरि चुनौती र घेराबन्दी भएको बताएका छन् ।
आइतबार नेकपा एमाले जिल्ला कमिटी रामेछापको चौथो विस्तारित बैठकमा बोल्दै कडरियाले नेकपा एमाले निरन्तर देशी, विदेशी शक्तिको आक्रमणको निशाना बन्दै आएको बताए।
‘नेकपा एमाले सरकारमा हुँदा मात्र होइन प्रतिपक्षमा रहँदा समेत चौतर्फी आक्रमण हुने गरेको छ, यसका बीचमा पनि नेकपा एमाले जनताको सबैभन्दा प्रिय पार्टी र देशको सबैभन्दा ठुलो पार्टी बनेको छ’, उनले भने ।
पार्टी भित्रै पनि थुप्रै समस्या र चुनौती रहेका बताउँदै उनले नेकपा एमाले निरन्तर यसलाई चिर्दै अघि बढेको उनले स्पष्ट पारे । एमाले सबै खालका अप्ठेरालाई चिरेर अघि बढ्न सक्ने पार्टी भएको कडरियाले दाबी गरे।
नेकपा एमालेले सञ्चालन गरेको जरा अभियानबाट स्थानीय स्तरका धेरै समस्या पार्टीले पहिचान गरेको कडरियाले बताउनुभयो । ती समस्या समाधानको लागि नेकपा एमाले निरन्तर लाग्ने उनले बताए।
जरा केन्द्रित अभियानका क्रममा गाउँमा मानिसहरू कम भेटिएका बताउँदै उहाँले सहरी करणको चरणमा यस्तो खालेको समस्या आउने बताए । यसको लागि गाउँमा नै अवसर सिर्जना गरी बजारीकरण तर्फ लैजाने योजना ल्याउनु पर्नेमा उनले जोड दिए ।
केन्द्र र प्रदेश सरकारबाट साना साना योजना विनियोजन हुँदा ठुला खालका विकासका काम हुन नसकेका भन्दै उनले त्यस तर्फ प्रदेश र केन्द्र सरकारको ध्यान जानु पर्ने बताए । आवश्यकताको आधारमा वस्तुनिष्ठ समीक्षा गरेर विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने कडरियाले सुझाव दिए।