सुरेश रजकको पोस्टमार्टम फण्डा- सरकारलाई सोमबारसम्मको अल्टिमेटम, बजारमा गोली फेला परेको हल्ला


काठमाडौं । शुक्रबार राजावादी प्रदर्शनका क्रममा ज्यान गुमाउने एभेन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको पोस्टमार्टमका विषयलाई लिएर बजारमा अनेकौं हल्ला चलेपछि परिवारका सदस्य र टेलिभिजनकर्मी छक्क परेका छन् ।
उनको पार्थिव शरीर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको शवगृह (मर्चरी)मा राखिएको छ । घटनापछि गृहमन्त्री रमेश लेखक उनी कार्यरत एभेन्युज टेलिभिजन पुगेका थिए । त्यही परिवारका सदस्यसँग पनि भेटे । परिवार र टेलिभिजनकर्मीको एउटै माग थियो– शहीद घोषणा गरी आवश्यक क्षतिपूर्ति नदिएसम्म शव नउठाउने । त्यसका लागि दिइएको ३ दिनको अल्टिमेटम भोलि सोमबार सकिँदैछ ।
टेलिभिजनका समाचार प्रमुख केदार कोइराला भन्छन्, ‘हाम्रो अल्टिमेटम नै भोलिसम्मको छ, आजै पोस्टमार्टम भएछ भने पनि हामी शव उठाउने पक्षमा छैनौं ।’
अर्थात् पोष्टमार्टम गर्नुपर्ने माग न परिवारको छ न त टेलिभिजन पक्षकै । यसरी अहिलेसम्म रजकको पोस्टमार्टम भएको छैन, हुनुपर्छ भन्ने माग पनि छैन ।
समाचार प्रमुख कोइराला आफूहरु सोमबार बेलुकीसम्म सरकारले गर्ने निर्णयको प्रतीक्षामा रहेको बताए ।
कतिपय शुभचिन्तकले माग सम्बोधन नभई पोस्टमार्टम गरिएको र अन्त्येष्टिको तयारी भएको भन्दै चिन्ता व्यक्त गरेपछि परिवारका सदस्यले त्यस्तो नभएको स्पष्ट पार्न सामाजिक सञ्जालबाट सूचित गरिरहेका छन् ।
बजारमा भने पोसटमार्टम भइसकेको र रजकको शरीरमा गोलीका छर्रासमेत फेला परेको हल्ला व्यापक बनेको छ ।
एभेन्युजका समाचार प्रमुख कोइराला भन्छन्, ‘हामीसँग सम्बन्धित समाचार यति अफवाहपूर्ण हुन्छन् भने यो सोसाइटीमा अरुमाथि फैलाइने अफवाह कति पीडादायी होला ?’