दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र – Nepal Press

दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र

दाङ । बंगालाचुली गाउँपालिकामा ९ वर्षीया बालिका बलात्कारको शिकार भएकी छन् । गत माघ २४ गते आफन्तको घरमा गएकी ती नाबालिगलाई राति १० बजे १८ वर्षीय केशव खत्रीले बलात्कार गरेको घटना करिब अढाई महिनामा सार्वजनिक भएको हो ।

आमा दिवंगत भइसकेको र बुवा रोजगारीका लागि भारतमा गएका बेला आफन्तको घरमा जाँदा हाडनाताभित्रकै युवकले बलात्कार गरेका हुन् । ती नाबालिग रमिला (परिवर्तित नाम)ले पेट दुख्यो भनेर निकै रून थालेपछि उनलाई उपचारका लागि उनका अंकलले चैत २ गते घोराहीको बुद्ध हस्पिटल लगेका थिए ।

चेकजाँचका क्रममा चिकित्सकले उनको योनांगमा घाउ देखिएपछि एक्लै राखेर सोधपुछ गरेको र उनले आफन्त पर्नेले जबरजस्ती बलात्कार गरेको खुलाएकी थिइन् ।

हस्पिटल स्रोतका अनुसार नाबालिग रमिलाको योनांगमा घाउ भएको र घाउमा खाटा लागेको छ । पहिले चिकित्सकसँग घटनाबारे बताएकी रमिलाले पछि अंकलसँग पनि सबै कुरा बताएकी थिइन् । भतिजी बलात्कार भएको थाहा पाएपछि उनले भारतको दार्जिलिङमा रहेका आफ्ना दाइलाई घटनाबारे जानकारी गराएका थिए ।

नाबालिग छोरी बलात्कार भएको खबर पाएपछि घर आएका रमिलाका बुवा सुरूमा न्यायका लागि वडा कार्यालय गए । वडा कार्यालयमा अध्यक्ष डोमबहादुर केसीले गाउँको कुरा गाउँमै मिलाउनुपर्ने भन्दै पीडकका बावु र पीडितका बावुबीच यही चैत १३ गते मिलापत्रको कागज गराएको खुलेको छ ।

‘छोरी बलात्कार भएको भाइले खबर गरेपछि म घर आँए’ पीडित रमिलाका बावुले नेपालप्रेससँग भने, ‘वडा कार्यालयमा जाँदा वडाध्यक्षले यतै मिलापत्र गरौँ भन्नुभयो । अनि मिलापत्र गर्‍यौं ।’

उनका अनुसार आगामी दिनमा गल्ती नदोहोर्‍याउने र फेरि गल्ती गरे कानूनी उपचार खोज्ने उल्लेख छ । वडाध्यक्ष केसीले पनि बलात्कार घटनाको वडा कार्यालयमा मिलापत्र गराइएको स्वीकार गरेका छन् ।

पहिला बलात्कार भएको भन्दै निवेदन आएको र पछि गाउँको घटना गाउँमै मिलाउने भनेर चैत १३ गते मिलापत्र गराइएको उनले बताए ।

‘पहिला बलात्कार भनेर निवेदन आयो’, वडाध्यक्ष केसीले भने, ‘पछि फेरि यतै मिलाऔं भनेर मिलापत्र गराइएको हो ।’

उनका अनुसार मिलापत्रको कागज वडा कार्यालयमै राखिएको छ । केसी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् । बलात्कारको घटनाको मिलापत्रको कागज वडा कार्यालयकै कर्मचारी रामबहादुर घर्तीले लेखेको पाइएको छ ।

बलात्कारको निवेदन आएपछि प्रहरीमा पठाउनुको सट्टा वडाध्यक्षले नै मिलापत्र गराइएको भन्दै स्थानीय स्तरमा असन्तुष्टि बढेको छ । यो घटनाको सूचना हालसम्म पनि प्रहरीमा पुगेको छैन ।

जिप्रका दाङका प्रवक्ता डीएसपी चक्रबहादुर शाहले यस विषयमा सूचना आइनपुगेको भन्दै प्रहरीले गम्भीर भएर अनुसन्धान गर्ने बताए ।


प्रतिक्रिया

2 thoughts on “दाङको बंगलाचुलीमा ९ वर्षीया बालिका बलात्कृत, वडाध्यक्षले गराए मिलापत्र

  1. यो घट्ना सत्य हो भने त्यो कुरा मिलाउने र कागज लेख्ने सबैलाई झुन्ड्याएर मार्नु पर्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर