८ वर्षपछि चलचित्रको डबिङ गरेका हमाल भन्छन्- दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ


काठमाडौं । अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’को आइतबार डबिङसँगै सम्पूर्ण काम सकिएको छ । हमालले ८ वर्षपछि चलचित्रको लागि डबिङ गरेका हुन् ।
चलचित्रलाई लिएर निकै आशावादी रहेका हमाल डबिङ सकिएपछि उत्साहित देखिन्थे । स्टुडियोबाट बाहिर निस्किँदै उनले भने, ‘दर्शकले मलाई यस पटक फरक अवतारमा देख्नुहुनेछ, दर्शकका लागि यो फिल्म सरप्राइज हुनेछ ।’
चलचित्रका निर्देशक दिवाकर भट्टराईका अनुसार अबको केही दिनमा फिल्म तयार हुनेछ । चलचित्रको प्रदर्शन मितिसहितको फस्टलुक भोलि सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ ।
चलचित्रमा राजेश हमालको साथमा सरोज खनाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवर, राजीवजंग बस्नेत, दीपा शाही, प्रभु श्रेष्ठ, अमित गिरी, एभेलिना खड्का, समाइरा थापा, आशा पौडेललगायतका कलाकारहरुको अभिनय छ ।
राजुविक्रम थापाले खिचेको चलचित्रमा कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन र शम्भुजित बास्कोटा तथा अर्जुन पोखरेलको संगीत छ ।
दिवाकर भट्टराईकै लेखन रहेको चलचित्रमा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ । करण सिंह प्रोडक्सन डिजाइनर रहेको चलचित्रका एसोसियट निर्देशक वसन्त अधिकारी हुन् ।