बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण – Nepal Press

बर्दघाटको चौपता अस्पताललाई ६ वटा डायलासिस मेसिन हस्तान्तरण

बनेपा । पश्चिम नवलपरासीको बर्दघाट(१४ मा रहेको शहीद स्मृति सामुदायिक अस्पताल ९चौपता अस्पताल० लाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । आज काभ्रेको धुलिखेलमा एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य विनोद चौधरीको उपस्थितिमा मेसिन बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

रोटरी क्लब अफ धुलिखेलको समन्वयमा जर्मन रोटरी भोलिन्टियर डाक्टरका तर्फबाट डाक्टर जोबस्ट इस्बरीले उक्त मेसिन उपलब्ध गराएको हो ।

सांसद चौधरीले डायलासिस मेसिन उपलब्ध भएपछि पश्चिम नवलपरासीसहित नजिकका बिरामीले लाभ लिनसक्ने बताए ।

उनले भने, ‘आज जर्मन रोटरी भोलिन्टियर डाक्टर र रोटरी क्लब अफ धुलिखेलको सहकार्यमा चौपता अस्पताल बर्दघाटलाई ६ वटा हेमोडायलासिस मेसिन हस्तान्तरण गरिएको छ । यसबाट पश्चिम नवलपरासीका मृगौला रोगीहरूको उपचारमा महत्वपूर्ण योगदान पुग्नेछ ।’

धुलिखेल नगरपालिकाका मेयर अशोक व्याञ्जूले मोफसलका सामुदायिक अस्पतालमा महत्वपूर्ण स्वास्थ्य सामग्री उपलब्ध हुँदा यसबाट नागरिकलाई लाभ हुने विश्वास व्यक्त गरे ।

यसअघि रोटरी क्लव अफ धुलिखेलले पश्चिम नवलपरासीमा ह्विल चियर प्रदान गर्नुका साथै बर्दघाटको रेयुकाइ भवनमा आँखा क्लिनिक पनि सञ्चालनमा सहयोग गरेको थियो । डायलासिस मेसिन हस्तान्तरण कार्यक्रममा मेयर शम्भुलाल श्रेष्ठ, चौपता अस्पतालका अध्यक्ष डीबी रानासहितका पदाधिकारी पनि उपस्थित थिए ।

सांसद चौधरीले अस्पतालका लागि डायलासिस मेसिन र त्यसका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिदिन स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई आग्रह गर्दै आएका थिए । मन्त्री पौडेलले यसका लागि समन्वय गरेका थिए । स्वास्थ्यमन्त्री पौडेलले हेमोडायलासिस मेसिन सञ्चालनका लागि आवश्यक पर्ने जनशक्ति तयार गर्न पनि सहयोग गर्ने जनाएका छन् ।

स्वास्थ्य हब बन्दै पश्चिम नवलपरासी

सांसद चौधरीले आफ्नो निर्वाचन क्षेत्रलाई स्वास्थ्य सेवाको हबकै रूपमा विकास गर्दै लगेका छन् । उनकै पहलमा अलपत्र अवस्थामा रहेको ट्रमा सेन्टर निर्माण अगाडि बढेको छ । काठमाडौं बाहिर पहिलो ट्रमा सेन्टर बर्दघाटमा निर्माण भइरहेको छ ।

यस्तै चिसापानी अस्पतालमा विशेषज्ञ सेवासहित सञ्चालन भइरहेको छ । चौधरी फाउन्डेसनको सहयोगमा अस्पतालको स्तरोन्नतिका साथै सेवा विस्तार कार्य भएको हो ।

सरावलमा १५ बेडको अस्पताल निर्माण कार्य पनि अघि बढेको छ । सांसद चौधरीको निरन्तरको पहलमा सरकारले अस्पतालका लागि स्रोत सुनिश्चित गरिसकेको छ । सांसद चौधरीकै पहलमा निःशुल्क कृत्रिम हातखुट्टा उपलब्ध गराउन सीजी सबल केन्द्र सञ्चालन हुनुका साथै सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर