प्रतिनिधिसभाको बैठक आज नबस्ने, सभामुखले तोके नयाँ समय


काठमाडौं । प्रतिनिधिसभाको बैठक आज नबस्ने भएको छ ।
११ बजेको बैठक अवरुद्ध भएपछि अपरान्ह ४ बजे सारिएकोमा सभामुख देवराज घिमिरेबाट विशेष कारण देखाउँदै सोमबार बिहान ११ बजेलाई निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।
कुलमान घिसिङको बर्खास्तीको विरोधमा विपक्षी दलहरूले सदन अवरोध गरिरहेका छन् ।
आइतबार बैठक सुरू हुनासाथ सत्ता र प्रतिपक्षी दुवैतर्फका सांसदहरू उठेका थिए । संसद सुचारु गर्न सभामुख देवराज घिमिरेले पटकपटक आग्रह गरे । उनले शुक्रबार भएको घटनाको छलफल गर्न पनि सदन सुचारु गर्नुपर्ने र प्रधानमन्त्रीले भोलि सदनमा जवाफ दिनेसमेत तय भइसकेको जानकारी गराएका थिए । तर, विपक्षी सांसदले मानेनन् ।
त्यस्तै सत्तापक्ष सांसदहरूले राजावादीको प्रदर्शनमा जनता मारिएको भन्दै बोल्न पाउनुपर्ने माग राखेपछि राप्रपाका सांसद आक्रोशित भएका थिए । दुईपक्षबीच असहज अवस्था सिर्जना हुने देखिएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरे ।
सोक्रममा प्रतिपक्षी र सत्तापक्ष सांसदबीच चर्काचर्की भयो ।