गृहजिल्ला पुगेर मधेशका मुख्यमन्त्री सिंहले दिए ४ अस्पताल बन्द गर्न निर्देशन – Nepal Press

गृहजिल्ला पुगेर मधेशका मुख्यमन्त्री सिंहले दिए ४ अस्पताल बन्द गर्न निर्देशन

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गृहजिल्ला सप्तरी पुगेर निजी अस्पतालहरुको अनुगमन गरेका छन् । उनले बोदेबर्साइनस्थित पाँच अस्पताल अनुगमन गर्दा चार वटा अवैध रुपमा सञ्चालनमा रहेको पाएका छन् ।

मुख्यमन्त्री सिंहले अनुमतिविना सञ्चालित लाइफ केयर पोलिक्लिनिक प्रालि, छिन्नमस्ता डेन्टल क्लिनिक प्रालि, सगरमाथा डेन्टल क्लिनिक प्रालि, नइमा हेल्थ केयर एन्ड डाइग्नोस्टिक सेन्टर र अक्टोभोग आइकेयर प्रालि बन्द गर्न निर्देशन दिए ।

यस्तै बोदेबर्साइनमा स्वास्थ्य व्यवसायी परिषद्बाट दर्ता प्रमाणपत्र नलिएका स्वास्थ्यकर्मी खटिने र मापदण्डविपरीत आकस्मिक उपचार कक्षमा ८ बेड र अन्तरङ्ग विभागमा ९ बेड सञ्चालन गरिरहेको जीवन ज्योति हस्पिटललाई १५ दिनभित्र कानूनसम्मत ढङ्गले सञ्चालन गर्न निर्देशन दिइएको छ ।

बोदेबर्साइन नगरपालिकाबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डविपरीत विभिन्न कक्ष तथा विभागमा बढी शय्या सञ्चालन गरिरहेको पाइएको मुख्यमन्त्री सिंहको भनाइ छ ।

यस्तै तोकिएको निकायबाट सेवा प्रदान गर्ने अनुमति नलिएका स्वास्थ्यकर्मीका भरमै स्वास्थ्य सेवा प्रदान गर्दै आएकाले मुख्यमन्त्री सिंहले अस्पताललाई नियमसम्मत तवरले सञ्चालन गर्न निर्देशन दिए ।

स्थानीय तहबाट १५ शय्याको सेवा सञ्चालन अनुमति प्राप्त गरेको सो अस्पतालले मापदण्डअनुसार नै सेवा दिनुपर्ने स्थिति देखिएकाले स्वास्थ्य संस्था सञ्चालन निर्देशिकाअनुसार प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसारको व्यवस्थापनका आधारमा मात्र अस्पताल सञ्चालन गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिएको उनका प्रेस सल्लाहकार अनिलकुमार कर्णले जानकारी दिए ।

उनले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन २०५२ ले ऐन प्रारम्भ भएको एक वर्षपछि दर्तावाला स्वास्थ्य व्यवसायीबाहेक अन्य स्वास्थ्य व्यवसायीले प्रत्यक्ष वा अप्रत्यक्ष रूपले स्वास्थ्य सेवा प्रदान गर्ने कामलाई दण्डनीय बनाए पनि अस्पतालमा उपलब्ध स्वास्थ्यकर्मी दर्तावाला नरहेकोतर्फ मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको बताए ।

प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले अहिलेसम्म १६२ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेका छन् । तीमध्ये १७ वटामात्र मापदण्डअनुसार सञ्चालनमा छन् । कुनै निकायमा दर्ता नरहेका ११२ अस्पताल बन्द गराइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर