संविधान र गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिने एमालेको संकल्प


काठमाडौं । नेकपा एमालेले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानको रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गरेको छ ।
त्यस्तै, सबै पार्टीहरु र नागरिक समाजलाई लोकतन्त्रको पक्षमा र पश्चगमनको दष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गरेको छ ।
केन्द्रीय सचिवालयको ४७ औं बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा शुक्रबार राजावादीहरुको प्रदर्शनका क्रममा भएको उद्दण्डता, अराजकता, तोडफोड, लुटपाट, हत्या र हिंसाका घटनालाई पार्टीले गम्भीररुपमा लिइ भर्त्सना गरेको उल्लेख छ ।
त्यस्तै, संघीय संसदका दुुवै सदनमा प्रतिस्थापन विधेयक पारित गर्ने प्रक्रियामा व्यवधान सिर्जना भइरहेको प्रति बैठकले ध्यानाकर्षण गराउँदै सबै विपक्षी दलहरुलाई सहयोग गर्न आग्रह पनि गरेको छ ।