काठमाडौंको हिंसात्मक घटनामा रवीन्द्र र धवलसहित ४१ जनाविरुद्ध अनुसन्धान, कसलाई कुन मुद्दा ?


काठमाडौं । शुक्रबार काठमाडौंमा भएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेरसहित ४१ जनाविरुद्ध विभिन्न कसुरमा अनुसन्धान अगाडि बढाएको छ । उनीहरुविरुद्ध राज्यविरुद्ध तथा संगठित अपराधमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।
प्रहरीले आइतबार जिल्ला अदालत काठमाडौँबाट मंगलबारसम्म थुनामा राख्न अनुमति लिएर अनुसन्धान अघि बढाएको हो । उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गर्न बुधबार पुनः अदालतमा उपस्थित गराउने छ ।
पहिलो पटक म्याद थपिएका ४१ जनामध्ये ११ जनालाई तीन वटा कसुरमा अनुसन्धान अगाडि बढाइएको छ । राज्यविरुद्धको कसुर र संगठित अपराधमा उनीहरुलाई पहिलो सूचिमा राखिएको छ ।
उनीहरुले चैत १५ गते काठमाडौँको तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्व अनुमति लिई नवराज सुवेदीको संयोजकत्व र दुर्गा प्रसाईको अगुवाइमा अराजक गतिविधि गरेका थिए ।
प्रसाईंसहितले संघीय संसद भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरी माथि ढुङ्गामुढा गरेको, आफैले चलाएको गाडीले प्रहरीको ज्यान लिने उद्देश्य र मनसायले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
म्याद थपका लागि अदालतसँग अनुमति माग गर्दै प्रहरीले आम सर्वसाधारणहरुको सुरक्षार्थ सडकमा डिउटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल समेतका सुरक्षाकर्मीहरुलाई समेत ढुङगा, लाठी, फलामका रड, घरेलु हतियार समेतले प्रहार गरेको दाबी गरेको छ ।
यस्तै सुरक्षाकर्मीको हातहतियार समेत खोसी सुरक्षाकर्मीहरुलाई घाइते बनाएको, सर्वसाधारण मानिसहरुको घर, निजी सम्पत्ति, संचार गृहहरुको भवन, विभिन्न राजनैतिक दलहरुको कार्यालय तथा नेताको निजी निवास, अस्पताल, प्रहरी कार्यालयहरु, व्यापारीक केन्द्र, नेपाल आयल निगमको अति संवेदनशील र अति प्रज्वलनशील पदार्थ ईन्धन भण्डारण रहेको स्थल, नागरिक उड्डयन प्राधिकरणको कार्यालय र अन्तर्राष्ट्रिय विमानस्थलको बाहिरी कम्पाउण्डमा समेत तोडफोड र आगजनी गरेको आरोप छ ।
साथै, तीनकुनेस्थित एउटा घरमा भित्र मानिस छ भन्ने कुरा थाहा जानकारी हुँदा हुँदै संचारकर्मी प्रष्ट रुपमा देखिने गरी रिपोर्टिङ गरिरहेको अवस्थामा आगो लगाई ज्यान लिएको समेत प्रहरीले अदालत समक्ष पेश गरेको छ । यी आधारमा उनीहरुमध्ये ११ जनालाई तीन कसुरमा र बाँकी ३० जनालाई दुईवटा कसुरमा अनुसन्धान गर्नुपर्ने माग गरेको छ ।
आपराधिक गतिविधि गर्दा घरमा रहेका नगद, जिन्सी सरसामानहरुमा क्षति र्पुयाई, लुटपाट तथा अपराधिक उपद्रव गरी सडकमा गुडिरहेका निजी र सरकारी सवारी साधनहरुमा समेत आगजनी गरी आतङ्कित पारेको र पूर्व योजना अनुसार संगठित तवरले अपराधिक घटना घटाएको भन्दै प्रहरीले तीन वटा मुद्दामा अनुसन्धान गर्न अनुमति माग गरेको छ ।
यो आन्दोलनको कमाण्डर बनेका दुर्गा प्रसाई अहिले फरार रहेका छन् भने अन्य धेरै जना पक्राउ परेका छन् ।
रविन्द्र र धवललाइ पनि १४-१४ वर्ष जेल हालिदेउ ।अनि देख्छन् राजनीतिमा त्याग भनेको के हो भनेर । राजाको जुत्ता लगाईदिएर नेता बन्न खोज्ने, त्यो पनि दुर्गालाई कमाण्डर बनाएर । बिबिसिमा काम गरेर संसार बुझेको होला भनेको त दास भएर आएछ । धिक्कार छ ईमान बेचुवालाई । राजा मान्ने भनेको ईमान जमान बेच्ने हो ।