स्ववियू अध्यक्षज्यू ! नेतृत्वले केवल इतिहास नलेखोस्, परिवर्तनको चेतना फैलाओस्

ल त विद्यार्थी नेताज्यू ! स्ववियू निर्वाचन पनि सकियो, अब क्याम्पस र विद्यार्थीको हक हितका लागि काम गर्न तर्फ लागौँ । लामो समयको अन्यौलताका बाबजुद स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको चुनाव देशैभरी केही छिटपुटका घटनाबाहेक शान्त र सौहाद्रपूर्ण तबरले सम्पन्न भयो । जुन नेपालको स्ववियू निर्वाचनको इतिहासमा एउटा स्वर्णिम अक्षरले लेखिएको छ । त्यसको साक्षी मजस्ता लाखौं विद्यार्थी हुन पाउँदा सम्भवतः हामी सबै हर्षित छौँ ।
अङ्ग्रेजीमा एउटा भनाई छ- ‘द मर्निङ सो द डे’ हो यस पटको स्ववियू निर्वाचनले सिङ्गो देश र नेपाली राजनीतिलाई एउटा जबरजस्त सन्देश दिएको छ । अबको युवा सचेत छन् । अचेत छैनन् । अबको युवाको झोलामा पार्टीको झण्डा र पर्चामात्र हुँदैन । विवेकको किताब र संवेगको कलम पनि छ । अबका युवा झुण्डमा झगडा गर्दैनन्, ग्रुपमा बहस गर्छन् । विपक्षीको विरोधमात्र गर्दैनन्, साथमा लिएर सँगै जान्छन् । अबको युवा कसैको इसारामा नाच्दैनन् आफ्नै स्वविवेकले कदम चाल्छन् ।
०००
भविष्यमा देश हाँक्ने नेताहरू उत्पादन गर्ने थलोका रूपमा स्ववियूलाई लिने गरिन्छ । विश्वविद्यालयका विद्यार्थी नेताहरू भोलिको यो मुलुक हाँक्ने नेता हुन् । देश हाँक्ने प्रधानमन्त्री, मन्त्री हुन् । साथै देशको सेवामा लागेर देशको आमूल परिवर्तन गर्ने संवाहक हुन् । त्यसको नर्सरीका रूपमा स्ववियूलाई लिन सकिन्छ । यसले ठूलाठूला राजनीतिक परिवर्तनहरूमा महत्वपूर्ण भूमिका निर्वाह गरेको गर्विलो इतिहास छ । साथै विद्यार्थीको हकहित र अधिकार स्थापित गर्न स्ववियू निरन्तर कटिवद्ध छ । स्ववियूले शिक्षामा पनि क्रान्तिकारी परिवर्तन र लोकतान्त्रिक पद्धतिको जग बसालेको पाइन्छ ।
हार व्यर्होनु भएकाहरूले पनि केही न केही सिक्नुभएको होला, निश्चय पनि त्यो हार नै सबैभन्दा ठूलो सफलता हो, पाठ हो । तपाईँले पाएको मत तपाईँको जित हो, सम्पत्ति हो । तपाईँलाई ज-जसले विश्वास गरेर मत दिए , उनीहरूको तपाईँ लिडर हो, नेतृत्व हो । त्यसलाई सही सदुपयोग गर्नु र नेतृत्वलाई खवरदारी गर्नु तपाईँको दायित्व हो ।
स्ववियू निर्वाचन लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ पनि हो । हामी हाम्रा नेताहरूमा नेतृत्व गर्न सक्ने क्षमता नै भएन भनेर गुनासो गरिरहेका हुन्छौं । तर, वास्तवमा स्ववियू निर्वाचनले भोलिका देश हाँक्ने भविष्यका नेताहरूमा नेतृत्व क्षमता विकास गर्न निकै सहयोग गरेको हुन्छ । क्याम्पस तहदेखि नै लोकतान्त्रिक विधिबाट निर्वाचनमा भाग लिइरहँदा त्यसले उनीहरूमा नेतृत्व क्षमताको जग बलियोसँग स्थापित हुँदै जान्छ । यसले युवाहरूको आर्थिक, सामाजिक, शैक्षिक एवं राजनीतिक जीवनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।
स्ववियूको निर्वाचनले विद्यार्थीमा सामाजिक तथा शैक्षिक जिम्मेवारीको समेत बोध गराउँछ । म नेतृत्वकर्ता हुँ र मैले सामाजिक र शैक्षिक जिम्मेवारी पनि सँगसँगै अगाडि बढाउनु पर्छ भन्ने भावना विद्यार्थीहरूमा जगाउँछ । त्यो भनेको समृद्ध समाज निर्माणका लागि टेवा पुग्नु हो । देशलाई समृद्ध बनाउन सहयोग पुर्याउनु हो । स्ववियू निर्वाचन नेतृत्व पैदा गर्ने नर्सरी पनि हो ।
यति धेरै महत्व बोकेको स्ववियूलाई पछिल्लो क्रममा विभिन्न राजनीतिक रंगहरू दिएर गुन्डागर्दी र अराजकताको अखडाका रूपमा चित्रण गर्दै बदनाम गर्ने कार्य भइरहेको छ । यसलाई चिर्नु हाल नेतृत्वमा आएका पदाधिकारी साथै समग्र विद्यार्थीहरूको पनि दायित्व हो । तसर्थ अब विद्यार्थी संगठनहरूले दलकै बोलीमा बोली मिलाउन थाल्ने हो भने यो उपलब्धि गुम्न सक्छ । माउ पार्टीहरूबाट हस्तक्षेप हैन, सहजीकरणका लागि विद्यार्थी संगठनले आह्वान गर्न सक्नु पर्छ ।
स्ववियू निर्वाचन हिंसात्मक र खर्चिलो पनि बन्दै गएको छ । यस्ता नकारात्मक पाटाहरूलाई चिर्दै अघि बढ्ने दायित्व स्वयं विद्यार्थीहरूकै हो । क्याम्पसहरूमा हुने झडपले संस्थाकै गरिमालाई ओझेलमा पार्ने गर्छ ।
२००७ सालको जन आन्दोलनपछि राजनीतिक चेतनासँगै शिक्षा क्षेत्रमा हुँदै गएको विकासलाई पुनः २०१७ सालको राजनीतिक परिवर्तनले धक्का दिएको परिप्रेक्ष्यमा पुनः विद्यार्थीको आवाजसँगै २०१८ सालमा स्ववियूको स्थापना भएको हो ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरू कसैको अधिकार हनन गर्नु हुँदैन भन्ने पनि बुझ्नु आवश्यक छ र स्ववियूको त्यो गर्विलो इतिहासको साख जोगाउने जिम्मेवारी वर्तमानका विद्यार्थीहरूकै काँधमा छ । सबैले इमानदारिताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने आज आफूलाई नयाँ र फरक हुँ भन्ठान्नेहरूले स्ववियू विद्यार्थी राजनीतिलाई राजनीतिको अखडा बन्यो भन्दै विरोध गर्नेहरूको मुखमा बिर्को लाग्नेछ ।
०००
हिजो मात्र जन्मेकाहरुले स्ववियूको विरोध गर्दै गर्दा यस्को इतिहासलाई नजरअन्दाज गरेको भान हुन्छ । विद्यार्थीका हक हित र अधिकारका लागि भनेर नेपालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सबैभन्दा पहिले २०१८ सालमा भएको थियो र त्यसपछि २०२९ सालमा स्ववियू निर्वाचन भयो, तर बीचमा विभिन्न विवादका कारण २०३० सालमा स्ववियूमाथि प्रतिबन्ध लगाइयो । त्यसपछि एकैपटक २०३६ सालमा भएको जनमत संग्रहको घोषणासँगै स्ववियूमाथिको प्रतिबन्ध फुकुवा भयो । जनमत संग्रहपछि २०३६ सालमा त्रिविमा स्ववियू निर्वाचन भयो । फेरि विद्यार्थीले निर्वाधरूपमा विश्वविद्यालय तथा क्याम्पसहरूमा स्वतन्त्र रूपमा आफ्ना गतिविधि गर्न थाले ।
प्रत्येक २-२ वर्षमा स्ववियू निर्वाचन गर्नेगरी ऐन संशोधन भयो । सोही आधारमा हरेक २-२ वर्षमा स्ववियू निर्वाचन हुन थाल्यो । २०६५ सालपछि आठ वर्ष स्ववियू निर्वाचन हुन सकेन । एकैपटक २०७३ सालमा स्ववियू निर्वाचन भयो । तर, केही सीमित क्याम्पसहरूमा मात्र स्ववियू निर्वाचन भयो । ६ वर्षको अन्तरालपछि २०७९ मा निर्वाचन भयो भने हाल कति क्याम्पसहरूमा भने कतै २, ४, १७, १८ वर्षपछि वा त्यो भन्दा बढी समयपश्चात् मात्र स्ववियू भएको छ । स्ववियू विभिन्न उतरचढावलाई पार गर्दै यहाँसम्म आएको एक गर्विलो इतिहास बोकेको संस्था हो ।
०००
यसरी हामीले स्ववियूको चर्चा गर्दै गर्दा केही व्यक्तिहरूलाई स्मरण गर्नै पर्छ । राणा शासनको विरोध गरेकै भरमा २२ वर्षे कलिलो विद्यार्थी उमेरमै गंगालाल श्रेष्ठलाई मृत्युदण्ड दिइएको इतिहास छ जुन कहिल्यै मेटिने छैन । आफ्नो कलिलो उमेरमा नेपालमा क्रान्ति ल्याउने व्यक्तिहरू गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री , धर्मभक्त र दशरथ चन्दजस्ता युवाको कारण देशमा ठूलो क्रान्ती आएर राणा शासनको अन्त्य भएको इतिहास साक्षी छ ।
राणा शासनको बेलादेखि नै जुर्मुराएको विद्यार्थी राजनीतिले उक्त समयमा राज्यभित्र मुर्त रूप लिन नसके पनि भारतको बनारसमा विक्रम सम्वत् १९९१ मा स्थापित नेपाली छात्रा संघलाई पहिलो विद्यार्थी संगठनको रुपमा लिने गरिन्छ । भनिन्छः २००४ सालमा शिक्षा सुधारको माग लिएर उठेको विद्यार्थी आन्दोलन ‘जयतु संस्कृतम्’ को प्रभावले राणा शासनमै धक्का दिने गरी ठूलो बन्न पुगेको थियो । त्यति बेला संस्कृत प्रधान पाठशालाका विद्यार्थीले शिक्षामा आधुनिकीकरण गरी आफूहरूलाई पनि इतिहास, भूगोल जस्ता विषय पढाउनुपर्ने लगायत माग गर्दै प्रदर्शन गरेका थिए । .
२००७ सालको जन आन्दोलनपछि राजनीतिक चेतनासँगै शिक्षा क्षेत्रमा हुँदै गएको विकासलाई पुनः २०१७ सालको राजनीतिक परिवर्तनले धक्का दिएको परिप्रेक्ष्यमा पुनः विद्यार्थीको आवाजसँगै २०१८ सालमा स्ववियूको स्थापना भएको हो ।
स्ववियू निर्वाचन लोकतान्त्रिक अभ्यासको आधारस्तम्भ पनि हो । हामी हाम्रा नेताहरूमा नेतृत्व गर्न सक्ने क्षमता नै भएन भनेर गुनासो गरिरहेका हुन्छौं । तर, वास्तवमा स्ववियू निर्वाचनले भोलिका देश हाँक्ने भविष्यका नेताहरूमा नेतृत्व क्षमता विकास गर्न निकै सहयोग गरेको हुन्छ ।
राज्यका हरेक ठूला परिवर्तन र आन्दोलनमा विद्यार्थीहरूको ठूलो भूमिका रहँदै आएको छ । हालसालै भएको बंगलादेशको सत्ता परिवर्तनलाई मात्रै हेरे पनि विद्यार्थी आन्दोलनको महत्व सहजै बुझ्न सकिन्छ । आन्दोलनको मेरुदण्ड भनेकै युवा पुस्ता हुन्, जो अधिकांश विद्यार्थी नै हुन्छन् । अतः विद्यार्थीहरुको राष्ट्रिय राजनीतिमा भूमिका रहनु र दलहरूले यसलाई आफ्नो प्रभावमा राख्न खोज्नु कुनै असामान्य विषय भएन । तर, स्ववियूले स्वविवेक प्रयोग गरेर आफ्नो अधिकार र मक्सदलाई बिर्सनु हुँदैन । विद्यार्थीहरूको हक, अधिकार तथा जनतामा राजनीतिक चेतनाको बिजारोपण गर्ने अभिभारा युवाको हो ।
विद्यार्थीहरूको माध्यमबाट मात्रै राजनीतिक चेतनाका आवाजहरू परिवार हुँदै समाजमा पुग्न सम्भव हुन्छ । तसर्थ नेपाली राजनीतिक परिवर्तनका सम्वाहकका रूपमा स्ववियूलाई लिन सकिन्छ । हजारौं विद्यार्थीले भाग लिने स्ववियू चुनावमा अहिले चार-पाँच सय पनि मतदाता हुँदैनन् । भर्ना हुने तर अन्तमा परीक्षामा मात्र सहभागी हुने, पढाई बीचमा छाड्ने समस्या पनि ज्यूँका त्यूँ देखिन्छ । तसर्थ अब विद्यार्थीलाई स्वदेशमै अध्ययन र रोजगारीको वातावरण सिर्जना गर्ने दिशामा सिंगो राज्य शक्ति केन्द्रित हुन आवश्यक छ । देशको आशा र सम्भावना बोकेका विद्यार्थीहरूलाई नेपालमै बस्ने वातावरण मिलाइदिने दायित्व राज्यको हो ।
०००
अन्तमा स्ववियूमा जित्नुहुने नयाँ पदाधिकारीहरूलाई शुभकामना, हार व्यर्होनु भएकाहरूले पनि केही न केही सिक्नुभएको होला, निश्चय पनि त्यो हार नै सबैभन्दा ठूलो सफलता हो, पाठ हो । तपाईँले पाएको मत तपाईँको जित हो, सम्पत्ति हो । तपाईँलाई ज-जसले विश्वास गरेर मत दिए , उनीहरूको तपाईँ लिडर हो, नेतृत्व हो । त्यसलाई सही सदुपयोग गर्नु र नेतृत्वलाई खवरदारी गर्नु तपाईँको दायित्व हो । असल नेतृत्व चुनावको नतिजाले मात्र नभएर निरन्तर संघर्ष र सेवाभावले परिभाषित गर्छ ।
अबको युवा सचेत छन् । अचेत छैनन् । अबको युवाको झोलामा पार्टीको झण्डा र पर्चामात्र हुँदैन । विवेकको किताब र संवेगको कलम पनि छ । अबका युवा झुण्डमा झगडा गर्दैनन्, ग्रुपमा बहस गर्छन् । विपक्षीको विरोधमात्र गर्दैनन्, साथमा लिएर सँगै जान्छन् । अबको युवा कसैको इसारामा नाच्दैनन् आफ्नै स्वविवेकले कदम चाल्छन् ।
तसर्थ, चुनावमा हार जित सामान्य नियम हो । त्यो नियमअन्तर्गत रहेर कोही एकजना अगाडि बढ्यो, त्यो ठूलो कुरा होइन, तपाईँको कार्यकालमा तपाईँ पढेको क्याम्पसमा कति प्रभाकारी रूपमा तपाईँले परिवर्तन गर्नुभयो ? के छाप छोड्नु भयो ? यो मुख्य कुरा हो । तपाईँ पढेको क्याम्पसमा स्ववियू अध्यक्ष कति भए, गए होलान् तर क्याम्पसले सम्झने १/२ जना विद्यर्थी नेतामा तपाईँ पर्नुहुन्छ कि हुन्न यो गहन हो ।
अब शैक्षिक गुणस्तरको लागि जोड दिऔं, चुनाव जितेका विद्यार्थी नेताहरूले एउटा नयाँ खाका कोरौं, योजना बनाऔं, जसलाई भविष्यमा आउने भाइ-बहिनीहरूले सिको गरुन्, राजनीति भन्नसाथ नाक खुम्चाउने नयाँ युवाहरूलाई शिर उठाउन सक्ने बनाऔं, हिजोसम्म तपाईँ कुनै राजनितिक दलप्रति आस्था गर्ने एउटा दलको व्यक्ति हुनुहुन्थ्यो होला अब तपाई सिङ्गो विद्यार्थीको नेतृत्वकर्ता हुनुभएको छ, त्यसैले स्ववियू अध्यक्ष ज्यू ! अब विद्यार्थीको हक हित र शैक्षिक सदृढीकरणमा लागौँ ।