धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता : मुख्यमन्त्री आचार्य


रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले देश तथा विदेशमा रहेका नेपाली मुस्लिम समुदायका साथै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरे ।
मुख्यमन्त्री आचार्यले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा भौगोलिक विविधता भएको देश भएकाले यहाँको धार्मिक सहिष्णुता अनुकरणीय रहेको उल्लेख गरे । धार्मिक तथा सांस्कृतिक चाडपर्वहरूले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्न तथा राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनले उल्लेख गरे ।
ईद उल फित्र मुस्लिम समुदायका लागि महत्त्वपूर्ण चाड रहेको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले यस पर्वले विविध धर्म तथा संस्कृति मान्ने सबै नेपालीबीच भाइचारा, प्रेम र एकताको भावना प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले सबै धर्म, संस्कृति तथा पर्वलाई समान रूपमा महत्त्व र सम्मान दिँदै आएको उल्लेख गर्दै उनले हाम्रा मौलिक संस्कार, संस्कृति संरक्षण, प्रवर्द्धन तथा विकासबाट समृद्धि हासिल गर्न सकिने बताए । प्रदेश सरकार यही दिशामा अघि बढिरहेको उनको भनाइ छ ।