कोइराला परिवारका एक्लो कम्युनिष्ट थिए, कमल कोइराला

नेपाली राजनीतिको वर्चस्वमा रहेका कोइराला परिवारका एक्ला कम्युनिष्ट लेखक तथा विश्लेषक कमल कोइरालाको निधन भएको छ । उनै कोइराला जो नेपाली काँग्रेस पार्टीबाट नेपालको प्रधानमन्त्री भएका बाबु मातृकाप्रसाद कोइरालाको बाटो समेत त्यागेर कम्युनिष्ट राजनीतिमा होमिएका थिए । उनै स्वर्गीय कोइरालासँग कम्युनिस्ट पार्टी प्रवेशको अनुभवसँग केन्द्रित भएर नेपाल प्रेसकर्मी प्रतिमा सिलवालले २०७० जेठमा तत्कालीन सौर्य दैनिक पत्रिकाको लागि गरेको कुराकानीको सम्पादित अंश पुनः प्रकाशित गरेका छौँ ।
२०११ सालमा मेरो बुबा मातृकाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री हुनुहुन्थ्यो । नेपाली काँग्रेसको सभापति पनि हुनुहुन्थ्यो बुबा त्यतिबेला । दक्षिण एसियामै नेपालको कोइराला घरानालाई कांग्रेस घरानाका रूपमा चिनिन्छ र कांग्रेसको आन्तरिक राजनीतिको केन्द्र पनि कोइराला परिवार नै हो । म त्यही परिवारको एक्लो कम्युनिस्ट हुँ । राजनीति विचारबाट निर्देशित हुन्छ र परिवार गृहस्थको अर्कै व्यवहारिक सिद्धान्त हुन्छ । सिंगै परिवार मुलुकको कांग्रेसी राजनीतिको केन्द्र हुँदा पनि मलाई त्यसले कुनै असर पारेन । बरु मैले कम्युनिस्ट राजनीति आत्मसात् गरेर यहाँसम्म आइपुग्दा गौरव महसुस गरेको छु ।
पारिवारिक जीवन र राजनीतिक विचारको भेदले दैनन्दिन मलाई असर पारेनन् तर, केही यस्ता सम्झनाहरू मसँग छन् त्यसलाई आज विश्लेषण गर्दा मेरो परिवारमा सहिष्णु राजनीतिक संस्कार मौलाउने ठाउँ थियो भन्ने लाग्छ । म आफू कम्युनिस्ट भएर आफ्नै फुपूकी छोरीसँग चुनाव लड्दा र त्यसबेला आफ्नै भाइले पनि मलाई होइन बहिनी शैलजालाई जिताउन प्रचार गरेको सम्झँदा परिवारको भन्दा विचारको नाता बलियो पाएँ । न म कम्युनिस्ट भएबापत परिवारका कसैले विरोध गरे न त मैले नै चुनावमा परिवारले मलाई सघाइदिए हुन्थ्यो जस्तो गरेँ । एउटै चुल्होमा पाकेको खाना खाएर म कम्युनिस्टको राजनीतिमा सक्रिय हुन्थें र अरू सबै कांग्रेसको राजनीतिमा सक्रिय हुन्थे ।
०००
२०११ सालतिरकै कुरा, म त्रिचन्द्र कलेजमा आइए पढ्दै थिएँ । परिवारको राजनीतिक पृष्ठभूमि काँग्रेस भएपनि त्यतिबेलासम्म मेरो छुट्टै राजनीतिक पृष्ठभूमि बनिसकेको थिएन । कलेज गएपछि अधिकांश साथीहरू कम्युनिष्ट निकट भए । त्यतिबेला कम्युनिस्ट पार्टीलाई सभा जुलुस गर्न प्रतिबन्ध थियो । कम्युनिष्ट पार्टी भूमिगत थियो । कलेजबाट जनअधिकार सुरक्षा समिति मार्फत हामीले प्रदर्शन गर्यौं । प्रदर्शनमा प्रहरीले धरपकड ग¥यो । म पनि पक्राउ परें । जनअधिकार सुरक्षा समिति कम्युनिष्टहरुको संगठन हो भन्ने सबैलाई थाहा थियो । निषेधाज्ञा उलङ्घन गरेर प्रदर्शन गरेपछि प्रहरीले समाएर एक हप्तासम्म नख्खु जेलमा राख्यो । एक हप्तापछि घर जाँदा बुबा मसँग बोल्नुभएन । एकतातिर कम्युनिष्ट पार्टीमा लागेको मन नपरेको, अर्कोतिर पढ्ने बेला आन्दोलनमा हिँड्यो भनेर बुबा मसँग ठुस्किनुभएको थियो । तर, मुखै फोरेर केही भन्नुभएन । आमालाई लगाएर, ‘पढ्ने बेला आन्दोलनमा लाग्यो’ भन्नुभएछ । म कम्युनिष्टमा लागेको थाहा पाएपछि करिब दुई महिनासम्म बुबा मसँग बोल्नुभएन । त्यसपछि बिस्तारै सामान्य हुँदै गयो ।
मेरो खानदान नै काँग्रेस भएपनि म कम्युनिष्ट भएँ । मेरो बुबाले कहिल्यै पनि किन कम्युनिष्ट भइस् भन्नुभएन । तर, परिवारमा भने केही अप्ठ्यारो हुने रहेछ । बुबा काँग्रेसको सभापति अनि प्रधानमन्त्री दुवै हुँदा पार्टीको र सरकारको काम लिएर मान्छेहरू घर आउँथे । घरमा काँग्रेसका बैठक हुन्थे । त्यस्ता समारोहमा म कहिल्यै बस्दिनथें । आफैले जानेर घरबाट निस्किदिन्थें । आफ्ना साथीहरूलाई पनि घर लिएर कहिल्यै गइन । एकदुई कम्युनिष्ट साथी घर गए पनि मेरो कोठामा बस्थ्यौँ । खासखुस गफ गरेर फर्किन्थ्यौं ।
काठमाडौंमा पहिलो पटक जेल परेपछि बुबाले मलाई आइए पढ्न इलाहावाद पठाउनुभयो । बनारस युनिभर्सिटीबाट बिए पास गरेँ । म इलाहावादमा एमए पढ्दै थिएँ, नेपालमा २०१७ सालको काण्ड भयो । तत्कालीन राजा महेन्द्रले बहुदलीय प्रजातन्त्र खोसे । म त्यतिबेला अखिल भारत नेपाली विद्यार्थी फेडेरेसनको महामन्त्री थिएँ । विद्यार्थी फेडेरेसनमा सबै पार्टी निकट विद्यार्थीहरूको उम्मेदवारी पर्थ्यो । त्यतिबेला वामपन्थीहरूको वर्चस्व आयो फेडेरेसनमा । नेपालबाट वीपी गएर फेडेरेसनको अधिवेशन उद्घाटन गर्नुभएको थियो । म महामन्त्री भएको केही दिनपछि महेन्द्रले ‘कु’ गरे । महेन्द्रलाई भारतको समर्थन थियो, यता सम्पत्तिको मोह भएका व्यक्तिहरूले राजालाई समर्थन गरे ।
नेपालमा कम्युनिष्ट पार्टी भूमिगत थियो त्यतिबेला । भारत बसेर पढेको भए पनि म नेपाल आएर पार्टीको काम पनि गर्ने गर्थेँ । २०१२ सालमा मलाई नरबहादुर कर्माचार्यले पार्टीको सदस्यता फारम भराउनुभएको थियो । त्यतिबेला अहिलेजस्तो, मन लागेको मान्छेलाई भर्ती गर्ने चलन थिएन । सदस्यता फारम भरेपछि ती व्यक्तिको बारेमा आवश्यक सुझबुझ गरेपछि मात्रै सदस्यता स्वीकृत गरिन्थ्यो । मेरो सदस्यता चाँडै स्वीकृत भयो ।
कम्युनिष्ट पार्टी भूमिगत भएकाले खुला राजनीतिमा काँग्रेसको एकछत्र राज थियो । २०१५ सालको आम निर्वाचनमा नेपाल राष्ट्रवादी गोरखा परिषद्मार्फत कम्युनिष्टहरु चुनावमा सहभागी भएका थिए । चुनावी प्रचार प्रसारको लागि म विराटनगर आएँ । परिषद्को नेतृत्व केआइ सिंहले गर्नुभएको थियो । सुरुआती दिनमा कम्युनिष्ट सिद्धान्त बुझेर भन्दा पनि जिम्मेवारीले म कम्युनिष्ट भएँ ।
०००
म आफ्नै महत्वकांक्षाले कम्युनिष्ट भएँ । कम्युनिष्ट भएकै कारण २०१७ सालदेखि २०२४ सालसम्म भारतमा निर्वासित जीवन पनि बिताएँ । २०२४ सालमा नेपाल आएपछि पक्राउ परेँ । २ वर्षसम्म भद्रगोल जेलमा राख्यो । जेलमा रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, प्रदिप गिरी लगायतलाई पनि ल्याएका थिए । उनीहरू विद्यार्थी नेता थिए त्यतिबेला । मनमोहन अधिकारी, रुपचन्द्र विष्ट, मोहनविक्रम सिंह, आनन्ददेव भट्ट लगायतलाई पनि भद्रगोल जेलमा राखिएको थियो । हामी पक्राऊ परेको केही समयपछि बिपी लगायतका नेता भने छुट्नुभयो ।
नातामा बिपी मेरो काका, तर, म कम्युनिष्ट, उहाँ काँँग्रेस । उहाँ छुटेपछि एकदिन भद्रगोल जेलमा आउनुभएको थियो । उहाँले मलाई तिमीलाई के चाहिएको छ ? भनेर सोध्नुभयो । काका भएको नाताले ‘केही खर्च दिनुस्’ भनेँ । उहाँले रामचन्द्र पौडेल र मलाई २५/२५ रुपियाँ दिनुभएको थियो । बिपी मेरो काका भएर पनि उहाँले कहिल्यै कोइराला परिवारबाट म कम्युनिष्ट भएकोमा प्रश्न गर्नुभएन । न त मेरो बुबाले नै गर्नुभयो । बरु, बाहिरका साथीहरू तथा काँग्रेस पार्टीका अरू नेताले हाम्रै पार्टीमा आउनुस् भन्थे । कहिलेकाहीँ घरका सबै काँग्रेसकाबीचमा आफू एक्लो कम्युनिष्ट हुँदा अलग्गिएको महसुस पनि हुन्थ्यो । यद्यपि, कम्युनिष्ट पार्टीमा लागेर कहिल्यै ग्लानीबोध भएन । बरु, छुट्टै पहिचान भएझैँ लाग्थ्यो मलाई । २०२६ सालमा जेलबाट छुटेपछि बिहे गरेँ , त्यसपछि लगातार ११ वर्ष वकालत पेशा गरेँ । पेशा वकालत भएपनि कम्युनिष्ट पार्टीको केन्द्रीय समिति सदस्य थिएँ म । २०४६ सालको आन्दोलन सुरु भएपछि कम्युनिष्ट पार्टीको झण्डा लिएर निस्किएँ त्यतिबेला पनि पक्राउ परेको थिएँ । प्रजातन्त्र घोषणा गर्ने पक्का भएपछि चैतको २५ गते थुनामुक्त भएँ ।
२०४८ सालको निर्वाचनमा पारिवारिक सहयोग नपाउँदा चाहिँ मलाई परिवार भित्रै एक्लो बृहस्पति भएझैँ महसुस भएको थियो । मोरङ क्षेत्र नम्बर ५ बाट उम्मेदवार भएको थिएँ । मेरो प्रतिद्वन्द्वी आफ्नै फुपूकी छोरी शैलजा आचार्य थिइन् । हरेक वर्ष तिहारमा भाइटिका लगाउने बहिनीसँग चुनावी प्रतिस्पर्धामा थिएँ म । उनले नेपाली काँग्रेसबाट टिकट पाएकी थिइन्, मैले नेकपा एमालेबाट । पार्टीले टिकट दिएपछि चुनाव लड्नै प¥यो । फेरि, राजनीति भन्ने कुरा व्यक्तिगत महत्वकांक्षाबाट प्रेरित हुन्छ । राजनीतिमा महत्वकांक्षा त्याग्नु भनेको सक्रिय राजनीतिबाट हात धुनु हो । मलाई लाग्छ, धर्म, राजनीति र खेलमा व्यक्तिगत सम्बन्धले कुनै महत्त्व राख्दैन । त्यसैले मैले बहिनीसँगको चुनावी लडाइँ स्वीकार गरेँ । भाइ विजय कोइराला मेरो चुनावी प्रचारमा नलागेर फुपूकी छोरीको साथ हुन्थ्यो । मलाई भने आफ्नै पार्टीका कार्यकर्ताले साथ दिएका थिए । यद्यपि, शैलाजाले चुनाव जितिन्, मैले चुनाव हारेँ । २०५१ सालमा भने त्यही क्षेत्रबाट मैले चुनाव जितेँ । कांग्रेसका श्यामलाल तबदार थिए मेरो प्रतिद्वन्द्वी ।
शैलजाले चुनाव जितेपछि पनि उनसँग पारिवारिक सम्बन्ध कहिल्यै बिग्रिएन । चाडपर्वमा आउने जाने उसैगरी भयो । पहिलेझैँ पारिवारिक सम्बन्ध सुमधुर थियो । हाम्रो परिवारमा कहिल्यै राजनीतिक कारणले मनमुटाब भएन ।
म परिवारको माइलो छोरो । मेरा दाजुभाइहरू अझ भनौं, कोइराला परिवारमै एकमात्रै कम्युनिष्ट । मेरो बुबा काँग्रेसपार्टीको सभापति हुनुभयो । काका जननायक नै हुनुहुन्छ । अहिलेसम्म पनि नेपाली काँग्रेसको नेतृत्वमा कोइराला परिवारकै वर्चस्व छ । तर, मैले काँग्रेसको राजनीतिमा लाग्ने सपना कहिल्यै पालिन । न त कम्युनिष्ट बनेर परिवारसँग मनमुटाब नै भयो । मेरा दाजुभाइहरू एउटै विचारका भए पनि बुबासँग छुट्टिएर बसे । तर, म बुबाको अन्तिम अवस्थासम्म सँगै रहेँ । मैले बुबाको किरिया गरिन । दाजुभाइले किन काजक्रिया नगरेको भनेर गुनासो पनि गरेनन् । दाजुभाइ किरिया बस्थे, म भने आफ्नो तरिकाले बाहिर हिँडडुल गर्थेँ ।
०००
नेपाली काँग्रेसको राजनीतिमा नभए पनि पारिवारिक सम्बन्ध र राजनीतिक चेतनाका कारण नेपाली काँग्रेसको राजनीतिलाई नजिकबाट नियालेको छु । सुरुआतदेखि काँग्रेसको आन्तरिक राजनीति व्यक्तिगत महत्वकांक्षाले प्रभावित रहँदै आयो । २००८ सालमा बिपीले गृहमन्त्रीबाट राजीनामा दिएपछि मेरो बुबा मातृका कोइरालाको प्रधानमन्त्री बन्ने महत्वकांक्षाका कारण उहाँलाई दरबारले हात लियो । बुबा प्रधानमन्त्री बन्नुभयो । म ११ वर्षको थिएँ, त्यतिबेला । बिपी र बुबाको मनमुटाब भएको अलिअलि जान्दछु । अरुबेला पार्टीका विषयमा पनि छलफल हुने हाम्रो घरमा बुबा प्रधानमन्त्री भएपछि घरायसी काम बाहेक अरू कुरामा बिपीसँग बुबाको बोलचाल हुँदैनथ्यो । पण्डित नेहरु नेपालमा त्यसअघि गठन भएको राणा, कांग्रेस र राजाको संयुक्त सरकारबाट रिसाएपछि बिपीले राजीनामा दिनु परेको थियो । बिपी सरकारमा भए देशको समृद्धि हुने देखेर नेहरुले राजा मार्फत खेले । त्यतिबेला मातृका कोइराला नेपाली राष्ट्रिय काँग्रेसको सभापति हुनुहुन्थ्यो । राजालाई पनि, ‘देशको सबैभन्दा ठूलो पार्टीको सभापतिलाई मन्त्रीमण्डल गठनको लागि बोलाइबक्सेका छौँ’ भन्न सजिलो भयो ।
मातृका प्रधानमन्त्री भएपछि एक पटक बिपी मातृकाको मन्त्रीमण्डलमा आउन लागेका पनि थिए । बिपी, सुवर्ण शमशेर लगायत चार जना मन्त्रीमण्डलमा सहभागी हुने पक्का भएको थियो । तर, राजा त्रिभुवनले मानेनन् । बिपीलाई मन्त्रीमण्डलमा सहभागी नगराउनु भनेर त्रिभुवनले पत्र पठाए । त्यो दस्ताबेज मसँग अझै सुरक्षित छ । बिपीलाई कमजोर पारेर राष्ट्रियता कमजोर बनाउन भारतले राजामार्फत खेल्यो त्यतिबेला । तर, बिपीलाई कमजोर पार्न सकेन । महेन्द्रको महत्वकांक्षा मार्फत २०१७ सालमा भारत र अमेरिकाले नेपालको राष्ट्रियतामा खेलेको थियो । नेपाली राजनीतिमा त्यही रोग आजसम्म पनि कायम नै छ ।