हिन्दू राज्य नभए पनि नेपाल हिन्दू क्षेत्र नै हो : देउवा


डोटी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल हिन्दु क्षेत्र भएको बताएका छन् ।
डोटी र डडेल्धुराको सिमानामा पर्ने गहनान क्षेत्रमा आइतवारदेखि सुरु भएको श्रीमद् देवी भागवत महापुराण ज्ञान धनधान्याञ्चल लक्ष हवन महायज्ञको शुभारम्भ गर्न डोटी पुगेका पूर्व प्रधानमन्त्री देउवाले नेपाल हिन्दु धर्म, हिन्दु संस्कृति, परम्परा मान्ने राष्ट्र भएको बताए ।
‘हिन्दू राष्ट्र नभए पनि यो हिन्दू नै हो’ उनले भने, ‘यस कारण यहाँ गौ वध दण्डनीय छ ।’
उनले नेपाल गाईलाई पूजा गर्ने देश भएको बताउँदै गाई मार्नेलाई सजाय गर्दै आएको बताए । उनले हिन्दु राज्य घोषणा नभए पनि नेपाली हामी सबै हिन्दु रहेको बताए ।
गृहजिल्ला डडेल्धुरा भएका देउवाले आफू सानो छँदा गहनान क्षेत्रमा आएको सम्झिए ।
‘मेरा बाजेको अन्त्येष्टि गरिएको स्थल पनि यही हो, म डोटीको सिताराम माविमा अध्ययन गर्दा धेरै पटक यता आएको पनि छु’ देउवाले भने ‘यो ठाउँमा आउने वातावरण बनाइदिनु भयो, आयोजकलाई धन्यवाद छ ।’
उनले महाभारत पर्वतमा रहेको घण्टेश्वर मन्दिर यता पूर्व उत्तरका स्थानीयहरूको पवित्र स्थलका रूपमा गहनान धाम रहेको र घण्टेश्वर उताका स्थानीय महाकाली नदीको किनार परशुराम धाम रहेको बताए ।
धार्मिक पर्यटन प्रवर्द्धन र गहनान क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञ २५ गतेसम्म सञ्चालन हुने महायज्ञ आयोजना मूल समितिका संयोजक ललित बलायरले जानकारी दिए ।