राजावादीको आन्दोलनले पुर्याएको क्षति उनीहरूबाटै भराउन समाजवादी मोर्चाको माग


काठमाडौं । चैत १५ गते राजावादीहरुको आन्दोलनले पुर्याएको क्षतिपूर्ति उनीहरुबाटै भराउन समाजवादी मोर्चाले माग गरेको छ ।
आज बासेको मोर्चाको बैठकले हिंसात्मक आन्दोलनले पुर्याएको क्षतिको पूर्तिका लागि सरकारसँग आग्रह गरिएको विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले बताए ।
उनले भने, ‘यो घटना डिजाइन गरेर जति क्षति भएको छ । सबैको क्षतिपूर्तिका लागि पनि सरकारसँग कुरा गर्नुपर्छ । जो मान्छेले क्षति गरे त्यो मान्छेबाट सरकारले क्षतिपूर्ति भराउनुपर्छ ।’
यस्तै मोर्चाले नेपालमा गणतन्त्रका पक्षधरसँग अन्तरक्रिया र परामर्श निरन्तर गर्ने निर्णय पनि गरेको उनले बताए । देशलाई विध्वंशतिर लान खोजिएको उल्लेख गर्दै उनले यसतर्फ युवाहरूलाई सचेत गराएर अगाडि बढ्नुपर्छ भन्ने आफूहरूको धारण भएको बताए ।
मोर्चाको १५ गतेको प्रदर्शन र सभाले राजावादीहरुको प्रदर्शनलाई रक्षात्मक बनाउन सहयोग गरेको उनको भनाइ छ ।