पत्रकार सुरेश रजकको हत्यामा कसलाई जिम्मेवार बनाउने ? – Nepal Press

पत्रकार सुरेश रजकको हत्यामा कसलाई जिम्मेवार बनाउने ?

लोकतन्त्रमा निर्दिष्ट विधिभित्र रहेर राख्न, संगठित हुन र राजनीतिक प्रतिस्पर्धा गर्न सबै स्वतन्त्र छन् । लोकतन्त्रमा ‘गणतन्त्र जिन्दावाद’ भन्न पाइन्छ । र, ‘राजतन्त्र जिन्दावाद’ पनि भन्न पाइन्छ । लोकतन्त्रको सौन्दर्य नै यही हो ।

आमनागरिकका रूपमा भाष्करराज राजकर्णिकारलाई पनि कुनै वाद वा विचार अंगीकार गर्ने, त्यसको पक्षमा माहोल बनाउन शान्तिपूर्ण गतिविधि गर्ने र दल नै खोलेर प्रतिस्पर्धा गर्ने अधिकार छ नै ।

नागरिक अधिकार प्रयोग गरेर तिनै राजकर्णिकारले राजावादीको तीनकुने केन्द्रित आन्दोलनको पूर्वसन्ध्यामा ‘राष्ट्रिय जीवनका विविध क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउनुभएका व्यक्तित्वहरूको एक बृहत अन्तरक्रियात्मक भेला’ आयोजनाको अगुवाइ गरे । र, भेलामा उपस्थितिको नाममा ६ बुँदे अपील जारी गराए ।

‘प्रबुद्ध नागरिक’को भेलापछि जारी गरिएको अपीलको सार थियो- ‘प्रजातान्त्रिक व्यवस्थामा निषेध किमार्थ स्वीकार्य हुन सक्दैन । राज्यसत्ता र त्यसको नेतृत्वमा रहेकाहरूको वर्तमानको गतिविधिले निषेधको तृष्णा देखाउँछ ।’

अर्थात् राजावादीलाई राज्यसत्ता वा त्यसको नेतृत्वमा रहेकाले निषेध गर्न खोजेका छन् । तिनलाई आफ्ना गतिविधि गर्न फुक्काफाल छोडिदिनुपर्छ ।

अपीलको दोस्रो बुँदामा लेखिएको थियो- ‘आन्दोलनको स्वरूपलाई पूर्ण रूपमा अहिंसात्मक र शान्तिपूर्ण बनाउन पनि यो भेला आन्दोलनरत पक्षसँग अनुरोध गर्दछ ।’

अपीलको आवरणमा आन्दोलनकारी राजावादीलाई प्रोत्साहित गरेका भाष्करहरूले राज्यसत्तालाई धम्क्याए । ‘सन्तुलित’ देखिनुपर्ने बाध्यताका कारण ‘आन्दोलनलाई अहिंसात्मक र शान्तिपूर्ण बनाउन’ छुस्स आग्रह पनि गरे ।

लोकतन्त्रमा एक पक्षको वकालत गर्दै अर्को पक्षलाई आग्रह वा खबरदारी गर्न पाइन्छ । सुन्नुपर्नेले नसुने वा बेवास्ता गरे शान्तिपूर्ण रूपमा सडकमै ओर्लिएर पनि आफ्ना कुरा राख्न पाइन्छ । नागरिकको संवैधानिक अधिकार प्रयोगको सुरुवात भाष्करहरूले गरे । ठीकै गरे ।

भाष्करले नै प्रोत्साहित गरेको अराजकताको शिकार भयो एउटा कर्तव्यनिष्ठ श्रमजीवी पत्रकार ! वर्षौंदेखि व्यक्ति (ज्ञानेन्द्र)लाई बलियो र वर्तमान व्यवस्थालाई कमजोर बनाउन हिँडेका उनै भाष्कर सुरेशको हत्यालगत्तै ‘राज्य’ खोज्दै थिए ।

तर भाष्करहरूको प्रवृत्ति त्यतिखेर ‘म्याउँ’ गर्‍यो, जतिखेर भेलामा उपस्थितमध्ये कतिपयले आफूलाई जानकारी नै नदिई अपीलमा नाम राखिएको तथ्य प्रष्ट्याउँदै खण्डन गरे । उनीहरू भन्दैछन्- भाष्करहरूले बेइमानी गरे ।

०००

अघिल्लो दिन आन्दोलनकारी राजावादीलाई अपीलमार्फत उक्साइरहेका भाष्करराज राजकर्णिकारकै लागि चैत १५ को तीनकुने अराजकता सबैभन्दा भारी पर्‍यो । आन्दोलनकारीले आगजनी गरेको घरभित्र जलेर उनकै टेलिभिजनमा कार्यरत क्यामेरापर्सन सुरेश रजक दुःखद निधन भयो ।

नागरिकका रूपमा भाष्करराज राजकर्णिकारको राजनीतिक स्वतन्त्रता जति फराकिलो हुन्छ, सार्वजनिक सञ्चार प्रसारकका रूपमा हुँदैन । उनले व्यक्तिगत रूपमा ‘राजतन्त्र जिन्दावाद’ भन्न सक्छन्, तर उनको नेतृत्वमा सञ्चालित टेलिभिजन (एभिन्यूज)ले कुनै पनि ‘तन्त्र’प्रति जिन्दावाद भन्न सक्दैन, हुँदैन ।

सबै ‘तन्त्र’प्रति सन्तुलित भएर समाचार, विचार वा विश्लेषण प्रस्तुत गर्नुपर्ने दायित्व भुलेर राजकर्णिकारको टेलिभिजनले पूर्वराजाको फागुन ७ को वक्तव्यपछि ‘राजभक्ति’ गाउने क्रमलाई बढावा दिएको थियो ।

एभिन्यूज टेलिभिजनको यूट्युब पेजमा गएर सरसर्ती हेर्दा विचार प्रधान मुख्य तीनवटा कार्यक्रम देखियो, ‘व्यक्ति विषय र विशेष’, ‘चर्का-चर्की’ र ‘सीधा प्रश्न’ । यी तीन वटै जहाँ अतिथिलाई बोलाएर अन्तर्वार्ता गरिन्छ । यी तीनवटै कार्यक्रमका पछिल्ला श्रृंखलामा कि पूर्वराजाको गुणगानमा कि त ठूला दलहरूको बद्ख्वाइँमा केन्द्रित छ ।

‘व्यक्ति विषय र विशेष’का पछिल्ला ३० श्रृंखलामा १६ वटामा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा राजावादी कित्ताको वकालत गरिएको छ । ‘चर्का-चर्की’को पछिल्ला सात एपिसोडमध्ये ६ वटा र ‘सीधा प्रश्न’का चारमध्ये तीन वटामा पूर्वराजाको सन्दर्भलाई प्राथमिकता दिइएको छ ।

यूट्युबमा ‘एभिन्यूज लाइभ’अन्तर्गत राखिएका १२ सामग्रीमध्ये १० वटा पूर्वराजासँग सम्बन्धित छन् । पूर्वराजाले पछिल्लोपटक गरेका मठ-मन्दिर दर्शन छुट्टाइएको छैन ।

शुक्रबारको तीनकुने अराजकताबारे एभिन्यूजले ‘राजाको समर्थनमा राष्ट्रिय झन्डासहित तीनकुनेमा उत्रियो जनलहर’, ‘नेतृत्वविना स्वःस्फुर्त रूपमा राजावादी प्रदर्शनमा सर्वसाधारण’, ‘राजाले कोही डराउनु पर्दैन भनेपछि निर्धक्क प्रदर्शनमा’, ‘बंगलादेश-श्रीलंका जस्तै जनता जागिसके’ शीर्षकमा श्रव्य-दृश्य सामग्री प्रसारण गरेको थियो ।

यसले पुष्टि हुन्छ- सञ्चालक भाष्करले सार्वजनिक प्रसारण माध्यमको न्यूनतम धर्मसमेत निर्वाह नगरी, पत्रकारिताको आधारभूत मान्यताविपरीत, सम्पादकीय स्वतन्त्रताको बर्खिलाप एभिन्यूजलाई पूर्वराजा वा राजतन्त्रप्रेमीको ‘प्रवक्ता’ टेलिभिजन बनाएका थिए ।

२०६२/०६३ को आन्दोलनले राजालाई किनारा लगाएपछि सञ्चालनमा आएर एभिन्यूजले सुरुदेखि नै ‘राजावादी ट्याग’ पाएको थियो । त्यसको कारण थियो- राजाप्रति सञ्चालक भाष्करको व्यक्तिगत अनुराग र उनकै चरम हस्तक्षेपमा राजा सम्बद्ध समाचार र विचारलाई आवश्यकताभन्दा बढी स्थान दिनुपर्ने सम्पादकीय बाध्यता ।

भाष्करले जनताको असन्तुष्टि र आक्रोशको कारण राजावादीको आन्दोलन विस्तारै ठूलो हुँदै जाने, गणतन्त्रवादीहरू क्रमशः रक्षात्मक हुने र अन्ततः आन्दोलनकै बलमा राजा फर्किने भन्दै राजावादीले गर्ने सबै आन्दोलनको ‘एक्सक्लुसिभ’ कभरेज गर्नुपर्नेमा दबाब बढाए ।

यहाँनेर पत्रकार विनु सुवेदीको फेसबुक स्टाटस सान्दर्भिक हुन्छ नै- २०६५ साल जेठ १४ गते एभिन्यूज टीभीमा मेरो रिपोर्ट बज्यो । र, त्यसको निष्कर्ष थियो, दलहरूबीच रातभरमा कुनै असहमति भएन भने भोलि देशमा गणतन्त्रको सुनौलो बिहानी आउनेछ । त्यसको केहीबेरमै भाष्करराज राजकर्णिकार जंगिँदै आए । कोट झिकेर टेबलमा बजारे र सोधे, ‘को हो यो गणतन्त्रको कुरा गर्ने ?’

गणतन्त्रकै कुरा गर्न नपाइने ठाउँमा काम गर्न हुँदैन भन्ने लागेर मैले तुरुन्तै आईडी कार्ड बुझाएँ, निस्किएँ र त्यसपछि कहिल्यै फर्किनँ । बरु मैले दुई महिनाको तलब पनि माया मारें ।

पूर्वराजा ज्ञानेन्द्र नै सञ्चालक रहेको भए पनि उनले आफ्नो पक्षमा भाष्करले झैं टीभीको यो हदको ‘दुरूपयोग’ गर्ने थिएनन् होला ! पूर्वराजाको त्यत्रो स्तुतिगान र राजतन्त्रको चर्को वकालत गर्ने भाष्करकै टीभी (एभिन्यूज)का क्यामेरापर्सनलाई जलाएर अस्ती मारे, कस्तो विडम्बना !

०००

भाष्करले जे रोपे, त्यही फलेको हो । उनले सार्वजनिक प्रसारण माध्यमको दुरूपयोग गरी विचारको आवरणमा वर्षौंदेखि अराजकतालाई प्रोत्साहित गरिरहेका थिए ।

भाष्करले नै प्रोत्साहित गरेको अराजकताको शिकार भयो एउटा कर्तव्यनिष्ठ श्रमजीवी पत्रकार ! वर्षौंदेखि व्यक्ति (ज्ञानेन्द्र)लाई बलियो र वर्तमान व्यवस्थालाई कमजोर बनाउन हिँडेका उनै भाष्कर सुरेशको हत्यालगत्तै ‘राज्य’ खोज्दै थिए ।

सुरेशको निधनलाई अन्तर्राष्ट्रियकरण गर्छु भन्दै सामाजिक सञ्जालमा छरिएका ‘क्लिप’मा रोइकराइ गरिरहेका छन् भाष्कर । अब त्यतिले पुग्दैन । उनले  ‘प्रबुद्ध नागरिक’को फेरि भेला गराएर ‘मैलेसमेत प्रोत्साहित गरेको पूर्वराजाका अन्धभक्तले मेरो कर्मचारीको हत्या गरे, घटनाको निष्पक्ष अनुसन्धान गरी हत्यारालाई कारबाही गरियोस्’ भन्न सक्नुपर्छ ।

अहिले विभिन्न भिडिओहरु पनि सामाजिक संजालमा आइरहेका छन् । कसैले सुरेशलाई ढोका थुनेर आगो लगाइएको भनेका छन् । कुनै बेला सुरेशसँगै काम गरेकी एनिका भन्ने अनिता कुँवरले अर्कै बयान दिएकी छन् जोसँगै भिडिओमा एकजना मुखुण्डोधारी व्यक्ति पनि देखिन्छन् जतिबेला सुरेश आफ्नै धुनमा त्यो घरभित्र दृष्य खिचिरहेका देखिन्छन् ।

वास्तवमा सुरेशलाई जलाएर मार्नेहरुको पहिचान गर्न घटनास्थल र उपलब्ध प्रमाणका आधारमा चाँडो प्रहरी अनुसन्धान हुनुपर्छ ।

यहाँ फेरि पत्रकार विनु सुवेदीको फेसबुक स्टाटसको बाँकी भाग उल्लेख गर्नु सान्दर्भिक हुन्छ-

हुनसक्छ, भाष्करले आफ्ना कर्मचारीहरूलाई राजावादीहरूको आन्दोलनकै धेरै फोकस गर्न निर्देशन दिएका थिए । सायद हाम्रा सहकर्मी सुरेश रजक त्यही दबाबमा थिए । र, भाष्करहरूले नै उचालेका अराजकहरूले फुटाएको झ्यालबाट दृश्य कैद गरिरहेका थिए ।

पत्रकारहरू सधैं साहु र सम्पादकको दबाबमा हुन्छन् । अर्को मिडियाले ‘एक्स्क्लुसिभ’ गर्‍यो भने हामीलाई कुकुरलाई झैं गाली गर्छन् । पत्रकारले मरेर भए पनि उनीहरूका लागि खत्रा फुटेज ल्याइदिनुपर्ने मान्यता राख्छन् । एभिन्यूज यसमा अझ बढी कट्टर छ । त्यो गालीबाट जोगिन सायद सुरेशले जोखिम लिए ।

तीनकुनेमा राजावादीले के-के ताण्डव गरे, देख्न-बुझ्न दृश्य काफी छन् । सामान्य सुरक्षा प्रबन्ध पनि नभएको एउटा क्यामेरापर्सन उत्साहले जोखिम मोल्न तयार भयो होला कि दबाबले ?

विनुले एभिन्यूजकै कसैसँग कुरा गरेर यो स्टास लेखेकी हुन् कि स्वःस्फुर्त थाहा छैन, तर उनको लेखाइ धेरै हदसम्म सत्यसँग नजिक रहेको एभिन्यूज स्रोतकै दाबी छ ।

एभिन्यूज स्रोतका अनुसार चैत १५ को राजावादीको आन्दोलनलाई भाष्करले न्यूज रुममा ‘उत्सव’का रूपमा चित्रित गरेका थिए । र, अधिक कभरेज गर्नुपर्नेमा दबाब दिएका थिए । आन्दोलनमा सहभागी हुनेको बाइट धेरैभन्दा धेरै लिन भनेका थिए । ताकि जनसहभागिता धेरै देखियोस् ।

भाष्करले जनताको असन्तुष्टि र आक्रोशको कारण राजावादीको आन्दोलन विस्तारै ठूलो हुँदै जाने, गणतन्त्रवादीहरू क्रमशः रक्षात्मक हुने र अन्ततः आन्दोलनकै बलमा राजा फर्किने भन्दै राजावादीले गर्ने सबै आन्दोलनको ‘एक्सक्लुसिभ’ कभरेज गर्नुपर्नेमा दबाब बढाए । कभरेज उत्कृष्ट हुनुपर्नेमा कराएका भाष्करकै निर्देशनअनुसार प्रधान सम्पादक केदार कोइरालाले टोली मुभ गराए । सुरेशसहितको टोली तीनकुने लाग्यो ।

तीनकुनेमा राजावादीले के-के ताण्डव गरे, देख्न-बुझ्न दृश्य काफी छन् । सामान्य सुरक्षा प्रबन्ध पनि नभएको एउटा क्यामेरापर्सन उत्साहले जोखिम मोल्न तयार भयो होला कि दबाबले ?

भाष्करले भनेका छन्, ‘लाइभ हेर्दै थियौं । घटना भइसकेछ ।’ लाइभ हेर्दै गरेका भाष्करले त्यो हदको जोखिम नलेउ भनेर सुरेशलाई किन भनेनन् ? व्यक्तिको ज्यानभन्दा ‘एक्स्क्लुसिभ’ दृश्य ठूलो हो ?

०००

सुरेशको हत्या भयो । परिवार शोकमा छ । मूल खाँबो नै ढलेपछि कसरी उठ्ला त्यो परिवार ? यता भाष्कर ‘सुरेश पत्रकारमात्र होइन, हाम्रो परिवार हो’ भन्दैछन् । कुनै बेला भाष्कर भन्थे रे- ‘जागिर पनि दिनु अनि तलब पनि ?’

भाष्करले भनेका छन्, ‘लाइभ हेर्दै थियौं । घटना भइसकेछ ।’ लाइभ हेर्दै गरेका भाष्करले त्यो हदको जोखिम नलेउ भनेर सुरेशलाई किन भनेनन् ? व्यक्तिको ज्यानभन्दा ‘एक्स्क्लुसिभ’ दृश्य ठूलो हो ?

अवस्था अहिले पनि त्यस्तै रहेछ एभिन्यूजमा । सामाजिक सञ्जालमा चर्चा भएअनुसार सुरेशले कम्तीमा ६ महिनाको पारिश्रमिक पाएका थिएनन् । नियमित तलबै नदिनेले कर्मचारीलाई बीमा, सामाजिक सुरक्षा कोष आदिको सुविधा के दिन्थ्यो ?

एभिन्यूज स्रोत भन्छ- केही छैन । नियमित तलब त छैन । बेलाबेलामा जन्मदेव जैशीहरू पूर्वकर्मचारीको बक्यौता उठाइदिन गेटमा धर्ना दिन पुगेकै हुन्छन् । स्वर्गीय पत्रकार श्यामसुन्दर पुडासैनीको बक्यौता उठाउन पत्रकार सम्बद्ध संस्थाले आन्दोलनको धम्की दिनुपरेको थियो । सुरेशको हकमा त्यस्तो नहोस् ।

सुरेशको हत्याको चर्को विरोध भयो, भइरहेको छ । पत्रकारहरूले वियोगमा सहकर्मीप्रति श्रद्धाञ्जली अर्पण गरे । पत्रकारको सुरक्षाको कुरा गरे, तर मैले नसुनेको हो कि, तिनले बताउनै बाँकी हो, सुरेशले श्रमजीवी पत्रकार ऐनले निर्दिष्ट गरेको आधारभूत सेवा सुविधा नपाएको सन्दर्भ । नियमित तलब, बीमा, सामाजिक सुरक्षा कोष आदिबारे तिनले आवाज उठाए ?

एभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारले  विज्ञप्तिमार्फत सुरेशले पाउनुपर्ने सम्पूर्ण रकम भुक्तानी भइसकेको भन्दै सुरेश रजक स्मृति पत्रकारिता सम्मान, परिवारलाई रोजगारीको अवसरका लागि पहल, काजकिरियाका लागि परिवारलाई एक लाख रूपैयाँ उपलब्ध गराइएको र बीमाबापतको १० लाख रूपैयाँका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएका छन् ।

एभिन्यूज स्रोतले दाबी गर्‍यो- ‘चौतर्फी चासो र आलोचनापछि तलबको वक्यौता बाँकी नरहेको र बीमा रकमको प्रक्रिया सुरु गरिएको बताइएको हो । कसैको बीमा गरेको थाहा छैन । उसको मात्र थियो होला भनेर कसरी पत्याउनु ? बीमासमेत नगरिदिएर जोखिमपूर्ण काममा खटाएको भनेर आलोचना भएपछि १० लाखको गरिएको भन्दै लाजगाज छोप्न बीमाको प्रसंग उठाइएको होला ।’

एभिन्यूज स्रोतको दाबी गलत होस् र एभिन्यूजले परिवारलाई दिनुपर्ने थप राहतसहित अध्यक्षको विज्ञप्तिअनुसारको वचन पूरा गरोस् । एभिन्यूज र सुरेशका परिवारले सरकारसँग तीन बुँदे माग राखेका छन् । ती पनि पूरा होस्, तर सुरेशको हत्या अनुसन्धान तीभन्दा अगाडिका सर्त हो । अराजकताको आयोजक दुर्गा प्रसाईं र त्यस दिनका मुख्य मतियारविरुद्ध विनामोलाहिजा कर्तव्य ज्यानको मुद्दा चलाइयोस् ।

जुनसुकै ‘तन्त्र’को आवरणमा हुने अराजकता अन्त्यको सुरुवात तीनकुने प्रकरणबाटै गरिनुपर्छ ।

तीनकुनेमा जे भयो त्यसमा राज्य पक्ष वा सरकारी संयन्त्रको गम्भीर विचलन देखिन्छ । त्रिभुवन विमानस्थल नजिकै संवेदनशील क्षेत्रमा कार्यक्रम गर्न दिइयो ? दुर्गा प्रसाईको समूहले अराजकता मच्चाउन सक्ने सामान्य सूचना विश्लेषण किन भएन ?

आन्दोलनकारीकै हाराहारी संख्यामा परिचालित प्रहरी किन निरीह बन्यो ? यस्ता दर्जनौं प्रश्नको जवाफ सरकारले खोज्नुपर्छ र दिनुपर्छ । गोली चलाउनुपर्ने परिस्थिति थियो कि थिएन ?

जताततै तोडफोड र आगजनी गर्नेहरु वास्तवमा को थिए ? सबैले विश्वास गर्ने निष्पक्ष जाँचबुझ आयोग सरकारले गठन गर्नुपर्छ र भविष्यमा यस्ता घटना हुनेप्रति सचेत बन्नुपर्छ ।


प्रतिक्रिया

One thought on “पत्रकार सुरेश रजकको हत्यामा कसलाई जिम्मेवार बनाउने ?

  1. सुरेश रजक पत्रकारको मृत्यु ओपन एंड शत केस हत्या नै हो चाहे पोस्टमार्टम गर्ने डाक्टरहरुले जलेरै मृत्यु भयको भनेर प्रशासन को दवाबमा किन नभनोस! मृतक को परिवार ले लाश बुझ्दैनौ भन्दा एक्सरे गरेरै मात्र पोस्टमार्टम गर्छौ भनेर आश्वासन दियर घर पठाई सुटुक्क पोस्टमार्टम गराई डाक्टरहरुलाई दवाब र प्रभाबमा पारी झुठो रिपोर्ट सार्वजनिक गरेको सत्य छर्लंग छ किनभने मृतक पत्रकारले झ्यालबाट बाहिर खिचेको विडियो क्यामरा र कोठामा काँधमा बोकेर मोबाइल फोनहरु चलाई राखेको देखिन्थ्यो तर उनको लाश संग हुनुपर्ने त्यो विडियो क्यामरा कसले लग्यो त?

    उनलाई सांघातिक आक्रमण गरेर बेहोस बनाइ वा मारी आफ्नो अपराध कैद भयको सबुद प्रमाण सहितको विडियो क्यामरा घुसपैठिया हरुले लुटेर लगेको हो! त्यसैले यो दुखद घटना वारेमा अन्तर्राष्ट्रिय न्यायालय र संयुक्त राष्ट्र संघिय मानव अधिकार आयोगलाइ तुरन्तै ध्यानाकर्षण गराउनु पर्छ! निकम्मा प्रहरी र सिडिवोका हाकिम गृह मन्त्रि लेखक र प्रधान मन्त्रि ओलीलाइ नेपाली सेनाले बर्खास्त गर्नु पर्छ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर