नेपालको गेम चेन्जर क्षेत्र भनेको धार्मिक पर्यटन हो, यसमा पनि ५ ‘स’मा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कार्की – Nepal Press
नेपाल टक

नेपालको गेम चेन्जर क्षेत्र भनेको धार्मिक पर्यटन हो, यसमा पनि ५ ‘स’मा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कार्की

काठमाडौं । उनी कहिल्यै पर्यटनमन्त्री भएनन्, तर उनमा पर्यटन हुटहुटी भने छ । प्रदेश १ नाम हुँदाका आन्तरिक मामिला तथा कानूनमन्त्री भएका हिक्मतकुमार कार्की अहिले आफ्नै अगुवाइमा नामकरण गरिएको कोशी प्रदेशका मुख्यमन्त्री छन् । मुख्यमन्त्री भएर उनले २०८२ साललाई कोशी पर्यटन वर्षको रूपमा मनाउने उद्घोष गरेका छन् ।

उसो त उनी पार्टी मोर्चामै हुँदा पर्यटनमा जोडिएका थिए । २०७१ फागुन २३ बाट दुई हप्ते पर्यटन कार्यक्रम ‘मेची पर्यटन अभियान’ चलाए । तत्कालीन नेकपा एमालेका ७५ जिल्लाकै अध्यक्षहरू बोलाए । १४ अञ्चलकै इन्चार्जहरू बोलाए । मेची करिडोरको पर्यटकीय फन्को लगाएर उनले अतिथिहरूलाई कोशी करिडोरको भेडेटारसम्म लगे । इटहरीमा ल्याएर बिदाई गरे ।

२०७२ चैत २७ गते काठमाडौंमा एमाले नेता ईश्वर पोखरेलको किताब ‘पूर्वको रातो तारा’ लोकार्पण हुँदा उनले पुस्तकमा लेखिएका शहीद रत्नकुमार बान्तवाका बारेमा बोल्दा पर्यटकीय कोण दिएका थिए । तत्कालीन एमाले मेची अञ्चल इन्चार्ज कार्र्कीले रत्नकुमार बान्तवाको गाउँ चमौतालाई पर्यटकीय गन्तव्य बनाउन सुझाएका थिए ।

ठूल्ठूला मेला-महोत्सव लगाएमा पर्यटकीय चहलपहल हुने बुझाइ भएका कार्कीले आफू अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा २०५७ जेठ १ गते काठमाडौंमा विद्यार्थी महोत्सव आयोजना गरेका थिए । ड्रोनको युग थिएन । उनले हेलिकप्टर उडाए । विभिन्न देशका राजदूतहरू ल्याए । अनेरास्ववियुले गरेको पहिलो त्यो विद्यार्थी महोत्सवको एक पक्ष पर्यटकीय पनि भएको कार्की बताउँछन् । त्यो कार्यक्रमको सफलताबारेमा उनी भन्छन्, ‘मैले जे गरे पनि विरोध गर्ने महासचिव माधवकुमार नेपालले त्यो कार्यक्रमको चैं खुलेर तारिफ गर्नुभएको थियो ।’

अनेरास्ववियुको अध्यक्षदेखि एमालेका मेची अञ्चल इन्चार्ज हुँदासम्म दलको प्रतिनिधित्व गरेर पर्यटकीय गतिविधि गरेका कार्कीले अहिले कोशी प्रदेशको मुख्यमन्त्रीको रूपमा कोशी पर्यटन वर्ष २०८२ अगाडि सारेका छन् । यही मेसोमा मख्यमन्त्री हिक्मतकुमार कार्कीसँग नेपाल प्रेसकर्मी विराट अनुपमले मुख्यमन्त्री कार्यालय विराटनगरमा गरेको कुराकानीको सार संक्षेप नेपाल टकमा:

– कोशी पर्यटन वर्ष २०८२ मनाउने समितिमा संयोजक पर्यटनमन्त्री षडानन्द मण्डल हुनुहुन्छ । एक जना सहसंयोजक नेपाल पर्यटन बोर्डका सदस्य भइसक्नुभएको कृष्ण साह हुनुहुन्छ । यसको सन्देश के हो ?

कोशी प्रदेश पनि मिनि नेपाल हो । यहाँ केचना जस्तो देशकै सबैभन्दा होचो क्षेत्रबाट विश्वकै सर्वोच्च क्षेत्र सगरमाथा छ । यही हिमाल, पहाड र तराईको भूगोल देश झल्काउने खालको हो । यो प्रदेशको पर्यटनको दृष्टिकोण पनि देशकै जस्तो हुनुपर्छ । नेपाल पर्यटन बोर्डमा काम गरेर आएको अनुभवले यहाँको प्रदेश पर्यटनमा सहयोग हुन्छ भन्ने भएर एक जना सहसंयोजक उहाँलाई राखिएको छ ।

– कोशी भ्रमण वर्ष २०८२ देशको पर्यटन दशककै छातामा आएको छ । यो कार्यक्रमले देखिने सुनिने परिणाममुखी कामहरू के के होलान् ?

मेची करिडोर बनाउने वा कोशी करिडोर सक्ने भन्ने त हाम्रो अधिकार क्षेत्रमै छैन । यो पर्यटन वर्षका मूल उद्देश्य कोशीको पर्यटन क्षेत्रलाई बल पुग्ने खालका प्रवर्द्धनका कामहरू गर्ने हो । गुराँसको राजधानी तीनजुरे-मिल्के-जलजले क्षेत्रबाट यसको औपचारिक उद्घाटन हुनेछ । वर्षभरि विभिन्न भूगोलमा विभिन्न विधाका चार दर्जन कार्यक्रमहरूको तयारी छ । यस्ता कार्यक्रमहरूमा नाट्य महोत्सवदेखि हिमाल मन्थन अट्छन् । पुस्तक मेलादेखि पर्यटन भेलासम्म अट्छन् । नेपालको पर्यटकीय चिनारी प्रकृति, संस्कृति र साहसिक पर्यटका क्षेत्रमा विभिन्न कामहरू हुनेछन् ।

– ठूल्ठूला पर्यटनलाई सहयोग हुने मेची करिडोर र कोशी करिडोर जस्ता पूर्वाधार त प्रदेशको अधिकार क्षेत्रमा नपरेर गर्न सकिएनन् होला । प्रदेशले सक्ने कामहरू चैँ के के भएका छन् ?

हामीले त्यस्ता कामहरू गरेका छौं । स्विस सरकारसँग मिलेर विभिन्न चार पदमार्गहरू बनाएका छौं । २ अर्ब ४५ करोडको बजेटमा सुनसरीदेखि खोटाङसम्मको मुन्धुम पदमार्ग, तेह्रथुम, संखुवासभा र ताप्लेजुङसम्मको लालीगुराँस पदमार्ग, फिदिमबाट सन्दकपुरसम्मको महागुरु फाल्गुनन्द पदमार्ग र कन्यामदेखि अन्तुसम्मको चियाबारी पदमार्ग बनाउँदैछौं ।

२ अर्ब ४५ करोडको बजेटमा सुनसरीदेखि खोटाङसम्मको मुन्धुम पदमार्ग, तेह्रथुम, संखुवासभा र ताप्लेजुङसम्मको लालीगुराँस पदमार्ग, फिदिमबाट सन्दकपुरसम्मको महागुरु फाल्गुनन्द पदमार्ग र कन्यामदेखि अन्तुसम्मको चियाबारी पदमार्ग बनाउँदैछौं ।

२०८५ साउनसम्म यो परियोजना सकिन्छ । ४०० किलोमिटरको यो पदमार्गमा आधारित पर्यटनमा २९ पालिका छन् । स्विस सरकारले १ अर्ब ३५ करोड र कोशी प्रदेश सरकारले १ अर्ब १० करोड लगानी गरेको छ । मुन्धुम पदमार्ग पूर्वमुख्यमन्त्री शेरधन राईकै अगुवाइमा सुरु भएको हो । अरु तीन पदमार्गमा हामीले काम गरेका छौं । यसबाट पहाडी बसाइसराइ केही मात्रामा भए तापनि घट्ने, स्थानीय सामग्रीको प्रयोग हुनेछ । किनभने हामीले रड र सिमेन्ट प्रयोग गर्नेछैनौं । यसले २० हजार रोजगार सिर्जना गर्नेछ । हामीले कृषि पर्यटनमा पनि काम गरिरहेका छौं ।

– कृषि पर्यटनमा के के हुँदैछन् ?

खाद्यान्नमा आत्मनिर्भर बन्ने, कृषिमा उद्यम बढाउने र कृषि पर्यटन बढाउने उद्देश्यले कृषि कर्जाको ब्याज अनुदान ल्याएका छौं । त्यसको लागि ४५ करोड बजेट छुट्ट्याइएको छ । विभिन्न बैंकहरू सूचीकरण गरिएका छन् । अनुदानमा पैसा दिनुभन्दा कर्जाको ब्याज अनुदान प्रभावकारी हुने सोचेर यस्तो ल्याइएको हो ।

– नीतिगत तहमा प्रदेशमा पर्यटन वर्षलाई सहयोग हुने के के कार्यक्रमहरू हुँदैछन् ?

विभिन्न कार्यक्रमहरू छन् । कोशी लगानी सम्मेलनमा पनि एक थिम हामीले पर्यटन राखेका छौं । अहिले कार्यक्रममा प्रस्तावित विभिन्न ६ वटा थिम्याटिक सेसनहरूमा पहिलो सेसन नै पर्यटनको बारेमा छ । कोशीको पर्यटन र सत्कार क्षेत्रमा विभिन्न जानकार र विज्ञहरू ल्याएर हामीले सेसन गरेर संस्थागत मेमोरीमा राख्दैछौं । यसले प्रदेशको पर्यटनमा नीतिगत सहयोग पुग्नेछ । अलग्गै पर्यटन मन्त्रालयको पनि तयारी छ ।

– अलग्गै पर्यटन मन्त्रालय भन्नाले ?

अहिले पर्यटन, वन तथा वातावरण मन्त्रालय छ । पर्यटन अगाडि जोडिए तापनि यो वनसँग धेरै जोडिएको छ । कर्मचारीहरू पनि वनकै धेरै हुनुहुन्छ । वनसँग जोडिएका पर्यटनमा यसले सहयोग गरेकै छ । पर्यटनका बृहत आयाममा थप केही काम गर्न अलग्गै पर्यटनकै डेडिकेटेड मन्त्रालय बनाउने सोचिएको छ ।

खाद्यान्नमा आत्मनिर्भर बन्ने, कृषिमा उद्यम बढाउने र कृषि पर्यटन बढाउने उद्देश्यले कृषि कर्जाको ब्याज अनुदान ल्याएका छौं । त्यसको लागि ४५ करोड बजेट छुट्ट्याइएको छ । विभिन्न बैंकहरू सूचीकरण गरिएका छन् ।

– कोशी प्रदेश भारतका बिहार, बंगाल, सिक्किमसँग जोडिन्छ । कोशीबाट एक घन्टाभन्दा छिटो बंगलादेशको सीमा पुगिन्छ । पूर्वी सीमाबाट काठमाडौं पुग्ने समयभन्दा छिटो भुटानी सीमा पुगिन्छ । कोशी पर्यटन वर्षमा कोशीको यस्तो भूराजनीतिक अवस्थितिको सदुपयोग गर्ने पर्यटन कूटनीतिका कामहरू के के छन् ?

सीमा जोडिएका राज्यहरू तथा देशहरूमा हामीले सीधै औपचारिक सम्बन्ध गर्न अधिकार क्षेत्रले दिँदैन । हामीले सहयोग लिएर पर्यटन कूटनीतिलाई बढाइरहेका छौं । सिक्किमका मुख्यमन्त्री पीएस गोलेसँग कुरा भएको छ । बिहार, पश्चिम बंगालका मुख्यमन्त्रीहरूसँग संवादको तयारी भएको छ । सीमावर्ती भारतका मुख्यमन्त्रीहरूलाई बोलाएर कोशी पर्यटन वर्ष मनाइन्छ ।

– कोशीका गन्तव्यहरूमा बीबीआईएन (बंगलादेश, भुटान, इन्डिया, नेपाल) क्षेत्रबाट ल्याउन सकिन्छ । कोशीलाई गन्तव्य नभएर ट्रान्जिटको पनि सदुपयोग गर्ने केही योजना छन् ?

कोशी प्रदेशको राजधानी विराटनगर विमानस्थलबाट सीमावर्ती भारत बिहारका पर्यटकहरू ल्याएर पशुपतिनाथ लान सकिन्छ । विराटनगर-पोखरा सीधा उडान केही समय भएर रोकिएको छ । त्यो सूचारु गरेर सीमावर्ती बिहारका पर्यटकहरूलाई मुक्तिनाथ लान सकिन्छ । पश्चिम बंगाल र सिक्किमका धार्मिक पर्यटकहरूलाई भद्रपुर विमानस्थल प्रयोग गरेर पशुपतिनाथ लान सकिन्छ । यो त भयो हिन्दू पर्यटकको कुरा ।

बौद्ध धर्म मान्ने भुटानका पर्यटकहरूलाई मेचीनगरको पूर्वी नाकाबाट लुम्बिनीमा कम खर्चालु स्थलमार्गबाट लान सकिन्छ । एसियाली राजमार्ग मेचीनगरबाटै नेपाल प्रवेश गर्छ । त्यो राजमार्गले म्यानमारदेखि थाइल्यान्ड जस्ता देशहरू जोड्छ । त्यो राजमार्ग बनेपछि कोशी प्रदेश हुँदै सार्क क्षेत्रको भुटानमात्रै होइन, आसियान क्षेत्रका बौद्ध देशका पर्यटकहरू स्थलमार्गबाट लुम्बिनीमा लान सकिन्छ ।

विराटनगर-पोखरा सीधा उडान केही समय भएर रोकिएको छ । त्यो सूचारु गरेर सीमावर्ती बिहारका पर्यटकहरूलाई मुक्तिनाथ लान सकिन्छ । पश्चिम बंगाल र सिक्किमका धार्मिक पर्यटकहरूलाई भद्रपुर विमानस्थल प्रयोग गरेर पशुपतिनाथ लान सकिन्छ ।

– कोशीमा भारतबाहेक भुटान र बंगलादेशका पर्यटक ल्याउने आधार धेरै छ, तर पासपोर्ट बोक्नेको त परको कुरा, खुला सिमाना भएका भारतीयहरूकै गुनासा धेरै छन् । जस्तोः गत फागुन अन्तिम हप्ता इटहरीमा भएको इस्टर्न टुरिजम मार्टमा आएका भारतीयहरूले नेपालमा आउँदा गाडीमा चेकजाँचकै धेरै तनाव सुनाएका थिए । यसको समाधान के छ ?

हालसालै कोशीका प्रहरी प्रमुख डीआईजीसँग यसबारेमा कुरा गरेको छु । झापाको काकडभित्ता, सुनसरीको भण्टाबारी, इलामको पशुपतिनगर र मोरङको विराटनगरबाट नेपाल छिरेका पर्यटक सवारीमा स्टिकर टाँस गरेर सहजीकरणको कुरा छ । त्यो लागू हुन्छ । प्रहरीले सहयोग गर्छ । यसो गर्न सकिएमा कोशीको धार्मिक पर्यटनमा थप सहयोग हुन्छ ।

– तपाईंले नेपालको पर्यटनमा मुख्य हिस्सा धार्मिक पर्यटन र त्यहाँ पनि भारतीय पर्यटकहरूबाट समृद्धिको बाटो सहज हुन्छ भन्नुभएको छ । त्यो कसरी सम्भव होला ?

हिमाल आरोहणको रोयल्टी एकाध अर्बमात्रै हो । जलस्रोत तथा जलविद्युतको आय पनि खर्ब पुग्दैन । नेपालको गेम चेन्जर पर्यटन क्षेत्र भनेको धार्मिक पर्यटन हो । धार्मिक पर्यटनमा पनि भारतीय लक्षित धार्मिक पर्यटन ! त्यसको लागि ५ ‘स’मा ध्यान दिनुपर्छ- सूचना, सुरक्षा, सत्कार, सुविधा र सस्तो । यो ५ ‘स’लाई सकारात्मक रूपमा योजनाबद्ध काम गर्न सकियो भने गेम चेन्जर परियोजनाहरू बन्छन् ।

हालै भारतको प्रयागराजमा सकिएको महाकुम्भमा ६५ करोड पुगेका खबरहरू आएका छन्, तर कोशी प्रदेशको चतरामा भएको कुम्भमा १३ लाखमात्रै ! नेपालको कुम्भमा नआएकाहरू भारतको महाकुम्भमा पुगे । एकथरि समाचारहरूले नेपालबाट ५० लाख महाकुम्भमा प्रयागराज पुगेको बताएका छन् । देशको कुम्भलाई विश्वास नगर्ने, तर भारतको महाकुम्भलाई विश्वास गर्ने नेपालीहरूको आदत देखिएको छ । नेपालको धार्मिक पर्यटनलाई पुग्ने प्रचार, प्रवर्द्धन र पूर्वाधार पुगेको छैन भन्ने यो एक उदाहरण हो ।


प्रतिक्रिया

One thought on “नेपालको गेम चेन्जर क्षेत्र भनेको धार्मिक पर्यटन हो, यसमा पनि ५ ‘स’मा ध्यान दिनुपर्छ: मुख्यमन्त्री कार्की

  1. तर के गर्नु पश्चिमा र नेपालकै एउटा अरबपतिको उक्साहटमा लागेका दलालहरू पाथिभरामा वितण्डा मच्चाईरहेका छन् । के विकास होला र खोइ ? दलाली गरेर खान बानी परेका यस्ता फटाहाहरू नसकिएसम्म देशमा विकास हुन सजिलो छैन । यी दलाललाई उचाल्ने प्रचण्ड छन् १ नम्बर फटाहा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर