कमल कोइरालाः प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउने, राजदूत हुँदा बुद्ध जन्मथलो सच्याउने – Nepal Press
अबिच्युरी

कमल कोइरालाः प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउने, राजदूत हुँदा बुद्ध जन्मथलो सच्याउने

काठमाडौं । कमल कोइराला ‘आउट अफ बक्स’ सोच्ने, बाँच्ने बागी नेता, जो वंशज कांग्रेस थिए, कम्युनिष्ट भए । बहालवाला प्रधानमन्त्रीका छोरा थिए, सडक तताउँथे ।

बागी विचार र समूहमा जोडिने कमल कोइरालाको पछिल्लो बागी अवतार एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीमा पनि देखियो । उनी बलियो एमालेमा बसेनन् । माधवहरूले बनाएको कमजोर शक्ति नेकपा एसमै जोडिए । कमल एकीकृत समाजवादीमा जोडिएकैले सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपाल सँगै देखिए । नेकपा एसको पार्टी कार्यालयमा ओली हाजिर भए ।

कमल कोइराला गत मार्च ८ मा थापागाउँमा आफ्नो घर छेउमा भेटिँदा सकुशल देखिन्थे । ८७ वर्षका जस्ता देखिन्थेनन् उनी । रेलिङमा समाएर यताउता गरिरहेका उनी यो पंक्तिकार फेसबुक साथी भएको थाहा पाएर खुशी भएका थिए ।

शिखा बुक्सले बजारमा ल्याउन भनेर कभर सार्वजनिक गरेको पुस्तक ‘बीपी, मातृका र दिल्ली’ पुस्तक कहिले आउँछ भन्दा उनी झन् खुशी भएका थिए । त्यसबेला उनले भनेका थिए, ‘नाम बीपी, मातृका र दिल्ली’मात्रै नभएर दरबार पनि जोड्नुपर्ने सल्लाह आयो । अब दरबार पनि जोडिएर आउँछ ।’

कोइरालाले भनेअनुसारको न किताब बजारमा आएको छ न त अब उनले किताब आएपछि नेपाल प्रेसमा अन्तर्वार्ता दिन राजी भएको समय नै आउनेछ । उनै कोइरालाको आइतबार राति सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारका क्रममा निधन भयाे । यद्यपि नेपालको राजनीतिक, कूटनीति र कोइराला परिवारको मामिलामा उनका आउने कुराहरू धेरै छन् । आइरहनलायक कुराहरू धेरै छन् ।

कांग्रेसबाट अलग भएर मातृकाले बनाएको फरक दल राष्ट्रिय प्रजा पार्टीबाट महेन्द्रलाई रिझाएर प्रधानमन्त्री भएका थिए उनी । त्यही बेला कमल कोइराला भने सडकमा थिए । उनी वंशज कांग्रेस परिवारका थिए, तर कम्युनिष्ट भएका थिए । बाबु मातृकाप्रसाद सिंहदरबारमा थिए, तर उनी सडकमा ।

प्रधानमन्त्री बुवाविरुद्ध सडकमा आउँदा न्यू योर्क टाइम्समा समाचार

मातृका कोइराला प्रधानमन्त्री थिए । उनी कांग्रेसका प्रधानमन्त्री भने थिएनन् । कांग्रेसबाट अलग भएर मातृकाले बनाएको फरक दल राष्ट्रिय प्रजा पार्टीबाट महेन्द्रलाई रिझाएर प्रधानमन्त्री भएका थिए उनी । त्यही बेला कमल कोइराला भने सडकमा थिए । उनी वंशज कांग्रेस परिवारका थिए, तर कम्युनिष्ट भएका थिए । बाबु मातृकाप्रसाद सिंहदरबारमा थिए, तर उनी सडकमा ।

विसं.२०११ माघ ४ (सन् १९५५ जनवरी १७) मा त उनी सडकमा आएको नाममा पक्राउ परे । पक्राउको समाचार बेलायती समाचार एजेन्सी रोयटर्सले बनायो । अमेरिकी अखबार न्यू योर्क टाइम्सले माघ ५ (सन् १९५५ जनवरी १८)मा समाचार बनायो । समाचारको शीर्षक थियो, ‘नेपालमा बाबुको सत्ता पल्टाउन आन्दोलन गर्ने छोरा पक्राउ ।’

प्रधानमन्त्री मातृकाप्रसादका १८ वर्षका छोरा कम्युनिष्ट कमलले यस्तो आन्दोलन गरेको भनेर समाचारमा चर्चा गरिएको थियो । बाबु मातृकाप्रसादसँग कमलको आत्मीयता थियो । त्यही भएर उनले आफू राजदूत हुँदा नेपालको सात सालको क्रान्तिका कमान्डर तथा पहिलो नागरिक प्रधानमन्त्रीका पुत्र भनेर सगर्व चिनाउँथे ।

दक्षिण कोरियाको राजदूत हुँदा उनले आफ्ना पिता अमेरिकाको राजदूत भएको साइनो जोडेर चर्चा गर्थे । राजनीतिक रूपमा भने उनी भावुक थिएनन् । बाबु मातृकाभन्दा बीपी नै सही भएको हाकाहाकी भन्थे । जस्तैः ११ वर्ष अगाडि सौर्य दैनिकमा प्रकाशन भएको एक सामग्रीमा कमल कोइरालाले बीपीको तारिफ गरेर भनेका थिए, ‘बीपी सरकारमा भए देशको समृद्धि हुने देखेर नेहरूले राजामार्फत खेले । त्यतिबेला मातृका कोइराला नेपाली राष्ट्रिय कांग्रेसको सभापति हुनुहुन्थ्यो । राजालाई पनि ‘देशको सबैभन्दा ठूलो पार्टीको सभापतिलाई मन्त्रीमण्डल गठनको लागि बोलाइबक्सेका छौं’ भन्न सजिलो भयो ।’

कमल राजदूत भएर गएपछि दक्षिण कोरियाको विद्यालयको पाठ्यक्रममा बुद्धको जन्मथलोको नाम नेपाल थिएन, भारत थियो । यसले पोल्यो कोइरालालाई । र, उनले त्यहाँका तत्कालीन राष्ट्रपति लि म्युङ बकलाई एक खुलापत्र लेखे । कोरियाली मिडियाहरूले स्थान दिएको पत्रले प्रभाव देखायो । अन्ततः पाठ्यक्रम सच्चियो ।

दक्षिण कोरियाली राजदूत हुँदा बुद्ध जन्मभूमि सच्याउन पहल

सन् १९६१ बाट १९६४ सम्म नेपालका प्रधानमन्त्री भइसकेका तथा सात सालका क्रान्ति कमान्डर मातृकाप्रसाद कोइराला अमेरिकाको लागि नेपाली राजदूत भए । प्रधानमन्त्री भएको मान्छे राजदूत नहुने भन्ने चैँ होइन । जस्तो अहिले अमेरिकाका लागि अस्ट्रेलियाली राजदूत केभिन रड पनि पूर्वप्रधानमन्त्री नै हुन् ।

अमेरिकाका लागि तथा संयुक्त राष्ट्रसंघका लागि नेपालको राजदूत भएका मातृकापुत्र कमल कोइराला त्यसको झण्डै आधा शताब्दी पुग्न लाग्दा राजदूत भएका थिए । सन् २००७ बाट २०११ सम्म उनी दक्षिण कोरियाको प्रथम आवाशीय नेपाली राजदूत भएका थिए ।

कमल राजदूत भएर गएपछि दक्षिण कोरियाको विद्यालयको पाठ्यक्रममा बुद्धको जन्मथलोको नाम नेपाल थिएन, भारत थियो । यसले पोल्यो कोइरालालाई । र, उनले त्यहाँका तत्कालीन राष्ट्रपति लि म्युङ बकलाई एक खुलापत्र लेखे । कोरियाली मिडियाहरूले स्थान दिएको पत्रले प्रभाव देखायो । अन्ततः पाठ्यक्रम सच्चियो ।

यो कथा पूर्वराजदूत कोइरालाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले प्रकाशन गरेको पुस्तक ‘नेपालको कूटनीतिक अभ्यासः राजदूतहरूको अनुभव’मा उल्लेख गरेका छन् । गत मार्च ८ मा यो पंक्तिकारसँगको भेटमा यो कुरा भन्दा कोइराला प्रफूल्ल देखिए । त्यसबेला उनले भनेका थिए, ‘यस्ता सच्याउने अरु पनि धेरै देशहरू छन् । राजदूतहरू लाग्दा सच्चिन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *