न्यायको खोजीमा सडक आन्दोलनमा होमिएका ‘आमाहरू’

खुसी हराएको अनुहार । न्यायको खोजीमा भौँतारिए मन । साइडमा एउटा ब्याग, त्यसभित्र एउटा पासबुक र थारै खाजा । सोमबार नयाँ बानेश्वरको सडक आन्दोलनको बिचमा भेटिएकी उनी जानुका त्रिपाठी हुन् । जाे सहकारी पीडित हुन् ।
उमेरले त्रिपाठी ६८ वर्ष पुगिन् । आँखा पनि राम्रोसँग देख्न सक्दिनन् । जसका लागि उनले पावरवाला चस्माको सहारा लिने गरेकी छिन् । र, पनि उनी अन्यायमा परेको भन्दै तातो घाममा सडक आन्दोलनमा होमिएकी छिन् ।
‘सहकारी पीडितलाई न्याय दे..’ लेखेको प्लेकार्ड बोकेर सकिन–सकिन उनी आन्दोलनमा नारा लगाउँछिन् । उनी यसरी सडक आन्दोलनमा होमिएको यो पहिलो पटक भने होइन । यसरी उनी आन्दोलन गर्दै न्याय खोजिरहेको करिब दुई वर्ष हुन लाग्यो । यस पटक भने उनी न्याय नपाएसम्म सडक आन्दोलनबाट नबाहिरिने अठोटमा छिन् ।
सहकारी पीडित बन्नु अगाडी आन्दोलनमा नहिँडेकी त्रिपाठी सहकारीले पैसा खाइदिएपछि भने पटक–पटक आन्दोलनमा सहभागी हुँदै आएकी छिन् । ‘यसरी आन्दोलनमा आज मात्रै होइन । कति पटक आइसके । सबैतिरबाट कोसिस गरिसके तरपनि न्याय नपाएपछि सडकमा आइपुगेको हो’, उनले भनिन्, ‘यसपालि न्याय नपाइ म फर्किन्न ।’

उनको घर चितवन हो । तर, पछिल्लो समय भने उनी छोराबुहारीसँग कलंकी बस्दै आएकी छिन् ।
त्रिपाठी काठमाडौं कलंकीमा रहेको बज्रयानी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट पीडित बनेकी हुन् । दुई वर्षअघि (वि.सं २०७९ साउन)मा उनले उक्त सहकारीमा मुद्दती बचत खाता खोलिन् । सोबेला उनले पाँच लाख रुपैयाँ जम्मा गरिन् ।
जम्मा गरेको करिब एक वर्षपछि उनले ८४ हजार रुपैयाँ ब्याज पाइन् । त्यसमा उनले चार हजार खर्च राखिन् र बाँकी ८० हजार उनले सोही सहकारीमा जम्मा गरिन् । त्यसपछि उनले दुई पटक गरेर २० हजार रुपैयाँ निकालेकी थिइन् । अरू बाँकी सबै पैसा उक्त सहकारीले खाइदिएको उनले जानकारी दिइन् ।
उनका छोराले त्रिपाठीलाई खर्च चाहिन्छ भनेर पाँच लाख रुपैयाँ दिएका थिए । त्यो पैसा उनले ब्याज पाइन्छ भन्ने आसमा सहकारीमा बचत गरेको बताइन् । ‘मेरो छोरो विदेशमा बस्छ । उसले मलाइ खर्चका लागि पठाइदिएको थियो । ब्याज पनि आउँछ भन्ने भयो अनि आफू बसेको घरको अगाडीको सहकारीमा लगेर जम्मा गरेको थिए । खाइदियो’, उनले भनिन् ।
ब्याज पाउने आसमा जम्मा गरेको पैसा उक्त सहकारीले साँवा नै खाइदिएको छ । उनले आफ्नो पैसा फिर्ता माग्दै उक्त सहकारीको घरमै समेत गइन् । दिन्छु भन्ने आश्वासन दिए तर बचत दिएनन् । अहिले यस सहकारीका सञ्चालक फरार रहेकोले कार्यालयमा ताला लगाइएको उनले जानकारी दिएकी छिन् ।
त्रिपाठीसँगै ललितपुरको पुल्चोकस्थित सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट पीडित बनेकी इटहरीकी रिता गिरी पनि सडक आन्दोलनमा छिन् । झम्सिखेलमा एक वृद्धको स्याहासुसार गरेर उनले कमाएको पैसा उक्त सहकारीमा राखेकी थिइन् ।
‘यो सहकारीले मेरो मेहनत मात्रै होइन मेरो छोरी, दाइको पनि खाइदिएको छ । आफूले कमाएको पैसा जम्मा गरे । पछि छोरीले कमाएको पैसा पनि राखेको थिए । दाइको पनि पैसा गरेर जम्मा ३० लाख रुपैयाँ राखेको थिए’, उनले भनिन् ।
त्यति ठूलो रकम सहकारीमा किन राख्नु भएको भन्ने प्रश्नमा उनी भन्छिन्, ‘मैले काम गर्ने घरेबेटीले पनि त्यही सहकारीमा जम्मा गर्नु भएको थियो । त्यहाँ सहकारीमा काम गर्ने दिदी आउनु हुन्थ्यो । मलाइ पनि राम्रो ब्याज आउँछ राख्नु भन्नु भयो । बैंकको भन्दा धेरै ब्याज आउँछ भनेर लोभ देखाए । होला भनेर बैंकमा भएको पनि निकालेर त्यहाँ राखेको थिए ।’
उक्त रकम उनले एकै पटक राखेकी भने होइनन् । शुरुमा उनले आफूले कमाउँदै आएको मासिक तलब जम्मा गर्न थालिन् । विस्तारै उनलाई केही ब्याज आएको देखेर उनी थप राख्न हौसिइन् । त्यसअघि कमाएको पैसा पनि बैंकबाट निकालेर त्यही सहकारीमा राखिन् । दाइ र छोरीले विदेशबाट पठाएको पैसा पनि त्यसमै राखिन् । उनले आफ्नो कमाइ मात्रै सहकारीमा डुबाएकी छैनन । दाइ र छोरीको कमाइ समेत सहकारीले खाइदिएको उनको आरोप छ ।

उनी न्यायको खोजीमा सडक आन्दोलनमा आएको सोमबारसहित २४ औँ पटक हो । उनले बचत फिर्ताको लागि अनसन समेत बसेकी थिइन् । आन्दोलनका क्रममा प्रहरीको लाठी समेत खाएको उनले दुखेसो गरिन् ।
सहकारीमा बचतको रकम डुबेपछि उनका श्रीमानले समेत उनलाई छोडेर गए । उनी एक्लिएकी छिन् । उनकी छोरी विदेशमा छिन् । ‘पैसा नि डुब्यो । घरबार पनि बिग्रियो । सहकारीमा पैसा डुबेपछि बुढा पनि छुट्टै बस् नथाल्नु भयो’, उनले भनिन्,
आफ्नोसँगै छोरी र दाइको मेहनत पनि सहकारीमा डुबेकोले आफूलाई पीडा भएको उनले दुखेसो गरिन् । गिरीले भन्छिन्, ‘मेरो मात्रै फसेको भए सहन ठिकै हुन्थ्यो । दाइ, छोरीको समेत फसेको छ । रातभर निन्द्रा लाग्दैन । शुरुशुरुमा त सोच्न नसकेर डिप्रेसनको औषधि नै खानुपरेको थियो ।’
सुमेरु सहकारीकै अर्की पीडित झापाकी कविता पोखरेल पनि सडक आन्दोलनमा छिन् । सुमेरु सहकारी सञ्चालन भएदेखि नै उनले उक्त सहकारीमा बचत गर्दै आएकी थिइन् । जाउलाखेलकाे बाटोमा खेलौना बेच्दै आएकी उनले सोहीबाट आएको आम्दानीमध्ये केही बचत गर्ने गर्थिन् ।
‘जाउलाखेलको बाटोमा खेलौना बेच्थे । त्यहीबाट कमाएको पैसा बचत गर्थे । घाम, पानी, झरी, बादल नभनी कमाएको पैसा सहकारीले खाइदियो’, उनले गुनासो गरिन् ।

उनीसँगै चना केराउ बेच्ने साथीले उनलाई आफ्नो छोरा उक्त सहकारीमा काम गर्ने भएकोले त्यही बचत गर्न आग्रह गरिन् । उनले पनि बचत हुन्छ भन्ने लागेर पैसा जम्मा गर्न थालिन् । सुरुमा सय रुपैयाँकादरले दैनिक बचत गर्थिन । पछिल्लो समय भने उनले बचत गर्ने रकम बढाएकी थिइन् । त्यसरी जम्मा गरेको रकम उनको ११ लाख २५ हजार रुपैयाँ रहेको उनको डिपोजिट स्टेटमेन्टमा देखिन्छ ।
उनको बचत सहकारीले खाइदिएपछि उनी पटक–पटक आन्दोलनमा सहभागी हुँदै आएकी छिन् । त्यसबाहेक न्यायका लागि अनसन समेत बसेकी उनले सहकारी विभाग समेत गुहारेकी थिइन् । लामो समयदेखि सडक आन्दोलनमा रहेकी पोखरेलले न्याय भने पाएकी छैनन ।
त्रिपाठी, गिरी र पोखरेल जस्ता पीडित सयौँ आमाहरू लामो समयदेखि न्यायको खोजीमा सडक आन्दोलनमा छन् । सहकारीले खाइदिएको आफ्नो बचत फिर्ताको माग गर्दै आएका छन् ।
सरकारले पनि सहकारी पीडितलाई न्याय दिने भनेर आश्वासन देखाएपनि उनीहरूले बचत फिर्ता भने पाउन सकेका छैनन । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ) का अध्यक्ष कुशलभ केसीले सहकारी पीडितको पीडा सरकारले बेवास्ता गरेको गुनासो गरे ।
उनले भने, ‘सरकारसँग चार वटा सम्झौता भए । सम्झौता अनुसार कार्यान्वयन भने भएन । अहिलेका सरकारसँग दुई र अघिल्लो सरकारसँग पनि दुई वटा सम्झौता भइसकेको छ । तर, न्याय पाएका छैनौँ ।’
बचत फिर्ताका लागि सरकारसँग भएका पटक–पटकको सहमति कार्यान्वयन नभएपछि यही चैत्र १७ गतेयता सहकारी पीडितहरू काठमाडौंमा आन्दोलनरत छन् । सहकारी पीडितहरूलाई न्याय चाहिएकोले आश्वासन नभई सरकारले न्याय दिनुपर्ने उनले माग राखे । अध्यक्ष केसीले भने, ‘नयाँ बानेश्वरमा १९ गतेसम्म शान्तिपूर्ण आन्दोलन गरिरहेका छौँ । दुई दिन सरकारलाई समय दिन्छौँ । यो समयमा पनि न्याय नपाए हामी चैत्र २१ गतेदेखि देशभरमा पीडितहरू उर्लिनेछौँ ।’
यस पटक सरकारको आश्वासन नमान्ने अडानमा रहेको उनले दाबी गरे । न्याय नपाएसम्म आन्दोलन नरोक्ने सहकारी पीडितहरूको अडान रहेको छ ।