कसरी जले पत्रकार रजक ? घरधनीले गरे केही रहस्योद्घाटन – Nepal Press

कसरी जले पत्रकार रजक ? घरधनीले गरे केही रहस्योद्घाटन

घरभित्रका चेन गेटहरूमा पहिल्यै लागेको थियो ताल्चा, सिसा फोडेर घुसेका आन्दोलनकारीसँगै छिरेका थिए सुरेश

काठमाडौं । तपाईं-हामी धेरैले आवतजावत गर्ने गरेको काठमाडौंको तीनकुने क्षेत्र गत शुक्रबार रणमैदान जस्तो बनेको थियो । सरकारद्वारा परिचालित सुरक्षाकर्मी र राजसंस्था समर्थक आन्दोलनकारी आमनेसामने हुँदा केही अप्रिय घटनाहरू भए ।

अहिले आरोप-प्रत्यारोपको श्रृंखला चलिरहेको छ । सरकारी पक्ष भन्छ- आन्दोलनकारी अराजक भए । आन्दोलनकारी भन्छन्- सरकारले दमन गर्‍यो । खासमा दुवै सत्य छन्- सरकारले दमन पनि गरेकै हो, आन्दोलनकारी अराजक पनि भएकै हुन् ।

शान्तिपूर्ण सभालाई ताकेर घरको छतबाट मञ्चमै अश्रुग्याँस हान्नु, ‘सामान्य परिस्थितिमै’ गोली चलाएर निहत्था मान्छे मार्नु, विभिन्न नाकाबाट आएका आन्दोलनकारीलाई रिङरोड नै छिर्न नदिनु जस्ता हर्कतहरू सुरक्षा निकायबाट भएकै हुन् ।

यता प्रदर्शनकारीले भने संयममात्रै गुमाएनन्, केही आपराधिक कुकृत्यहरूसमेत गरे, जसले राजावादीको सिंगो आन्दोलनलाई बदनाम बनाइदिएको छ । उनीहरूको यो कार्य नियोजित वा योजनाबद्ध थियो भन्ने चाहिँ देखिँदैन । यदि सरकारले आन्दोलन र विरोधसभा भाँड्न छतबाट अश्रुग्याँस नहानेको भए अन्य घटनाहरू पनि हुन्थेनन् कि ?

आन्दोलनमा भएको सबैभन्दा दर्दनाक घटना चाहिँ रिपोर्टिङका लागि आएका एक पत्रकार घरभित्रै जलेर मर्नु हो । तीनकुनेको एउटा घरमा आगजनी हुँदा एभिन्यूज टीभीका क्यामरापर्सन सुरेश रजकको जलेर मृत्यु भयो । यो घटनालाई लिएर पनि विभिन्न आरोप-प्रत्यारोप चलिरहेका छन् । आन्दोलनकारीले रजकलाई घरभित्रै थुनेर आगो लगाइदिएको तथा सुरक्षाकर्मीले उनलाई उद्धार गर्न तदारुकता नदेखाएको आरोप समानान्तर रूपमा लागिरहेको छ । यी दुवै आरोप अपुष्ट हुन् ।

सुरुमा यो घरको बारेमा चर्चा गरौं । अगाडि सिसैसिसाले बारिएको पाँच तल्ला अग्लो घर सुनौलो इन्द्रेणी सहकारी बचत तथा ऋण सहकारी संस्थाको नाममा छ, जसका मुख्य सञ्चालक हुन् प्रेमबहादुर श्रेष्ठ । पेशाले एक अडिटर हुन् उनी । २०७७ सालको फागुनमा ३ करोड रूपैयाँमा आफूहरूले यो घर खरिद गरेको बताउँछन् श्रेष्ठ ।

घरको सबैभन्दा मुनिको तलामा स्टेशनरी पसल थियो भने दोस्रो तलामा त्यही स्टेशनरीको गोदाम । तेस्रोमा कार्गोको अफिस र चौंथोमा थियो ल फर्म । पाँचौं र अन्तिम तलामा अडिट फर्म थियो, जुन श्रेष्ठको आफ्नै हो ।

सबैभन्दा मुनिको स्टेशनरीबाहेक अरु तलाहरू प्रायःजसो बन्द नै रहन्थे । हरेक तल्लाको भर्‍याङमा उज्यालोका लागि सिसाले बारिएको छ भने चेन गेट पनि राखिएको छ । ती चेन गेटमा प्रायःजसो ताल्चा लागेका हुन्थे । स्टेशनरीको गोदाम कहिलेकाहीँमात्रै खुल्थ्यो । कार्गोको अफिस पनि त्यस्तै । ल फर्म भक्तपुरका कानून व्यवसायीको हो, जो काठमाडौं अदालतमा काम पर्दामात्रै त्यहाँ ताला खोल्न आइपुग्थे । श्रेष्ठले पनि आफ्नो अफिस दिनभर बन्द नै राखेका हुन्थे ।

त्यस दिन पनि स्टेशनरी सटरबाहेक सबै तलामा ताला लागेको बताउँछन् श्रेष्ठ । यसको अर्थ रजकलाई आन्दोलनकारीले ताला लगाइदिएर थुनिदिएको निश्चित होइन ।

उसो भए ताला लागेको घरभित्र कसरी प्रवेश गरे त रजक ? अनि प्रवेश गरेपछि समयमै निस्किन किन सकेनन् ? के यो घरभित्र प्रहरी पनि घुसेका थिए ? छतबाट ढुंगा र अश्रुग्याँस प्रहार गरेका थिए ? घरमा के-कति क्षति पुगेको छ ? अडिटर्स एसोसियसनका महासचिवसमेत रहेका घरधनी श्रेष्ठसँग हामीले यी प्रश्नहरूको उत्तर खोज्यौं । उनले त्यस दिनको घटना विवरण र आफ्नो विश्लेषण यसरी सुनाएः

म त्यस दिन अडिटर्स एसोसियसनको एउटा बैठकका क्रममा नयाँ बानेश्वरमा थिएँ । आज आन्दोलन छ भन्ने थाहा थियो, तर बैठकमा बस्दा मोबाइल चलाइएको थिएन । त्यसैले के कसो भइरहेको छ भन्ने थाहा भएन । ११ बजेदेखि सवा २ बजेसम्म म जुम मिटिङमै थिएँ ।

मिटिङ सकिएपछि खाजा खान भनेर हामी नयाँ बानेश्वरकै लक्ष्मी भाउजूकोमा गयौं । खाजा खाँदाखाँदै मोबाइल हेर्दा तीनकुनेमा तोडफोड भइरहेको न्युज देखें, तर त्यसमा फोटो थिएन । मेरै घरमा होला भन्ने भएन । तैपनि अलिकति डर पस्यो । लगभग पौने ३ बजेतिर मलाई फोन आयो, घरमा आगो लाग्यो भनेर । म त्यहाँबाट आत्तिँदै मोटरसाइकल स्टार्ट गरेर हिडें ।

नयाँ बानेश्वरबाट मलाई तीनकुनेतिर जान प्रहरीले रोक्यो । आफ्नै घरमा आगो लागेको भन्दा पनि जान दिएन । त्यसपछि शंखमूलतिर लागें । शंखमूलबाट खोलाको किनारैकिनार जान खोज्दा पनि सकिनँ । प्रहरीले फर्काइदिए । फेरि शान्तिनगर सुकुमबासी टोलबाट छिरें । त्यहाँबाट पनि मोटरसाइकल लैजान सक्ने अवस्था थिएन । त्यसपछि मोटरसाइकल एउटा गल्लीमा छोडेर भित्री बाटो हिँड्दै गएँ । बल्लतल्ल घर नजिक पुगें ।

म पुग्दा पनि दनदनी आगो बलिरहेको थियो । बाटोबाटै दमकललाई फोन गरेको थिएँ । केहीबेरमा दमकल आयो, तर आन्दोलनकारीले आगो निभाउन दिएनन् । ढुंगासमेत हाने । एक जना कर्मचारी ढुंगाले लागेर घाइते भएपछि त्यो दमकल फर्कियो । फेरि अर्को दमकल आइपुग्यो । त्यसले आगो निभाउँदा निभाउँदै पानी सकियो । पूरा आगो निभेको थिएन । अन्तिममा सशस्त्रको दमकलले दुई घन्टापछि आगो निभायो । बेलुका ७ बजेपछि आगो नियन्त्रणमा आएको हो ।

दमकलले आगो निभाउने क्रममा म पनि घरभित्रै पसेको थिएँ । मेरो अफिसमा पनि आगो फैलिएको थियो । मैले हाम्रो घरसँग जोडिएको अर्को घरको ट्याङ्कीबाट पाइपले पानी तानेर आफ्नो अफिसको बाहिर आगो निभाए ।

आगो निभाउने क्रममा नै एक जना पत्रकार घरभित्रै छन् भन्ने हल्ला चल्यो । केही बेरपछि ल फर्म रहेको चौंथो तल्लामा एउटा शव भेटिएको सुनें । म पनि गएर हेरें । पूर्ण रूपमा जलेर अनुहार चिन्न नसकिने अवस्थामा थियो । मैले राम्ररी हेर्न पनि सकिनँ ।

ती पत्रकार कसरी त्यहाँ पुगेर जले भन्ने मैले पछि सोधखोज गरें । आन्दोलन सुरु भएपछि तलको स्टेशनरी पसल र कार्गोका मान्छेहरू डरले सटर तानेर भर्‍याङमा बसेका रहेछन् । ढुंगामुढा रोकिएपछि १०-१५ जना आन्दोलनकारी सटर खोलेर भित्र पसे । उनीहरू पछिपछि सुरेशसहित केही मिडियाकर्मी पनि पसेका रहेछन् ।

आन्दोलनकारीले भित्र लुकेर बसिरहेका एक जनाको मोबाइल थुतेछन् । अनि भर्‍याङमाथिको सिसा फुटाएर सबै जना माथि उक्लिएका रहेछन् । आन्दोलनकारीको पछि लाग्दै सुरेश रजक पनि चौंथो तलामा पुगेर भिडिओ खिच्न थालेछन् । उनले केहीबेर बाहिरपट्टि फुटेको सिसाबाट क्यामरा निकालेर आन्दोलनको दृश्य कैद गरे । यही क्रममा भित्र आन्दोलनकारीले सामानहरू उठाउन थालेपछि त्यसको पनि भिडिओ खिचेको पाइयो ।

एक जना अर्को मिडियाका पत्रकारले पनि भिडिओ खिचेका रहेछन् । मैले उनीसँग कुरा गरें । नाम चाहिँ याद आएन । ती पत्रकारले भनेअनुसार उनलाई आन्दोलनकारीले भिडिओ डिलिट गर्न दबाब दिएका थिए, तर त्यही रहेका अर्को पत्रकारले पनि उनको पक्षमा बोलेपछि त्यहाँबाट फुत्किए ।

सबै ओर्लिसक्दा उनी चाहिँ किन माथि नै छुटे भन्ने सबैभन्दा रहस्यको विषय हो । एउटा भिडिओ जुन सामाजिक सञ्जालमा भाइरल भएको छ, त्यो हेर्दा उनी ढुक्कले मोबाइल चलाइरहेका देखिन्छन्, जतिबेला तलो तलामा आगजनी सुरु भइसकेको छ । त्यतिबेलासम्म उनलाई आगो लागेको पत्तो नभएको हो कि ? यदि थाहा पाएको भए त उनी भाग्नलाई प्रशस्त समय थियो नि !

हाम्रो घरभित्र प्रहरी प्रवेश गरेको पाइएको छैन । जुन घरको छतबाट प्रहरीले अश्रुग्याँस हानेको भनिएको छ, त्यो हाम्रो घर होइन । खासमा जोडिएका दुई घर छन्, बाहिरबाट हेर्दा एउटै देखिन्छ । छत पनि एउटै छ, तर भर्‍याङ अलग छन् । अर्को चाहिँ घरमा प्रहरी पसेको भए मलाई थाहा भएन, तर हाम्रो घरमा कोही पनि छिरेर छतसम्म जान सक्ने अवस्था थिएन । त्यसका लागि माथिल्लो तलाको ताला फुटाउनु पर्छ, जुन फुटेको थिएन । तलदेखिको तालापछि दमकलले आगो निभाउने क्रममा फुटाइएको हो ।

मेरो आशंका चाहिँ के छ भने सुरेशले भिडिओ खिचेको देखेर कतै उनीमाथि आक्रमण भयो कि ? अथवा अरु कुनै कारणले बेहोस भए कि ? होइन भने त त्यहाँबाट भाग्न सक्थे । हारगुहार गर्न सक्थे । कसैलाई फोन गर्न सक्थे । त्यो केही नहुनुले उनीमाथि अर्को कुनै घटना भएको हुनसक्ने आधारहरू छन् । सम्भवतः पोस्टमार्टम रिपोर्टबाट त्यो थाहा होला ।

मैले अर्को भिडिओ क्लिप पनि हेरें, जहाँ एक जना एनी कुँवर भन्ने महिलाले कोठाभित्र आगो निभाइरहेको भन्नुभएको छ । पानीको जार खन्याएर कम्प्युटरको आगो निभाएको जस्तो गरिएको छ, तर हामीले अवलोकन गर्दा उहाँहरूले पानी खन्याएको ठाउँमा आगो लागेकै थिएन । अहिले आएर हेर्दा पनि हुन्छ । उहाँले त्यो नाटक किन गर्नुभयो मलाई थाहा भएन ।

हामीले अहिले प्रहरीमा निवेदन दिने तयारी गरिरहेका छौं । एक चरण मौखिक कुराकानी भइसकेको छ । सुरुमा घरबेटीले निवेदन दिएपछि बहालमा बस्नेहरूले आआफ्नो क्षतिको विवरणसहित निवेदन दिन भन्नुभएको छ । क्षतिको अवस्था हेर्दाखेरि हामीले मोटामोटी ७७ लाखको आँकलन गरेका छौं । यो घरमा मात्रै भएको भौतिक क्षतिको आँकडा हो । तलदेखि माथिसम्म पसल व्यवसायमा भएका क्षतिको अलग विवरण बनाइँदैछ । स्टेशनरीको गोदाम, कार्गो, ल फर्म, अडिट फर्म सबैमा क्षति पुगेको छ । सामानहरू चोरी पनि भएका छन् ।

सुरेशको मृत्युका विषय अनुसन्धान गर्न अहिलेसम्म प्रहरी आएको छैन । सुरुकै दिन मुचुल्का बनाएर गएको हो । सम्भवतः निवेदन परेपछि आउँछ होला ।


प्रतिक्रिया

2 thoughts on “कसरी जले पत्रकार रजक ? घरधनीले गरे केही रहस्योद्घाटन

  1. जल्न लागेको र जलिराखेको भवनमा जलेर मृत्यु भयका स्वर्गीय सुरेश रजकको हत्या गरेर सरकारी घुसपैठियाहरुले आफ्नो अपराध र अनुहार सावजनिक होला भनेर उनको भिडिओ क्यामेरा खोसेर उनलाई सांघातिक हमला गरेर संगैको झ्यालबाट निस्केर अग्निकाण्ड गरेर फरार भयका हुन्!

    यो समस्त दुखद घटनाको छानबिन गर्न पुर्व न्यायाधीशको अध्यक्ष्यतामा एउटा उच्चस्तरीय जांचबुझ आयोग चांडो भन्दा चांडो गठन गर्नु पर्दछ! मृतक पत्रकार र स्थानीय युबालाइ शहिद घोषणा गरेर उचित क्ष्यतिपूर्ति तुरन्त शोकसन्तप्त परिवारलाइ प्रदान गर्नु पर्दछ!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर