निहत्था नागरिकविरुद्धको राज्य अपराधः दाजुबहिनीमाथि अनाहकमा गोली प्रहार – Nepal Press

निहत्था नागरिकविरुद्धको राज्य अपराधः दाजुबहिनीमाथि अनाहकमा गोली प्रहार

राजावादी आन्दोलनको भेउ नै नपाएकी रेविका, जो प्रहरीको गोली खाएर मृत्युसँग लड्दैछिन्

काठमाडौं । रेविका खत्री बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारत छिन् । प्रहरीको गोलीले तिघ्रा वारपार पारेपछि कोटेश्वरको सडकबाट उनी एकैपटक अस्पतालको आईसीयूमा आइपुगिन् ।

निमेषभरमा घटेको यस्तो आकस्मिक र अकल्पनीय घटनाबारे रेविकाले कल्पनासम्म गरेकी थिइनन् । न उनलाई राजनीतिमा उस्तो चाख थियो न त गत शुक्रबार राजावादीहरूले गरेको आन्दोलनबारे धेरै भेउ पाएकी थिइन् । उनी आफ्नै पढाइमा र काममै व्यस्त रहन्थिन् । जडिबुटीको ग्रोसरीमा काम गरेर खर्चको जुगाड गर्थिन् । कोटेश्वर बहुमुखी क्याम्पसमा बीबीए चौथो वर्षमा अध्ययनरत थिइन् ।

गत १५ गते राजावादी र सुरक्षाकर्मीबीच भएको झडपको घानमा परिन् रेविका । तीनकुनेबाट फैलिएको राजावादीको आन्दोलन हिंसात्मक बन्यो । सुरक्षाकर्मीले लाठी चार्ज, अश्रुग्याँस र गोली प्रहार गरे । आन्दोलनकारीले ढुंगामुढा, तोडफोड र आगजनी गरे ।

रेविका आन्दोलनमा सहभागी नै थिइनन् । आन्दोलनकारीको भिडमै थिइनन् उनी त ! आफूलाई के कति कारणले गोली हानियो, उनलाई अत्तोपत्तो छैन ।

कामबाट आफ्नो कोठामा फर्किँदै थिइन् रेविका । बाटाेभरि सुरक्षाकर्मी दाैडादाैड गरिरहेकाे देखेपछि उनी डराइन् । फाेन गरेर दाइ दिनेशलाई लिन बाेलाइन् । दिनेश बहिनीलाई लिन डेराबाट आए । दाजु बहिनी मुल सडकमा भेटिए र हात समातेर गल्लितिर लागे । तर काेठामा पुग्नै लाग्दा ड्यामड्याम गाेली पड्कियाे । दुवै दाजु बहिनीलाई गाेली लाग्याे । रेविका सडकमै ढलिन् ।

गाेली लागेर रेविकाकाे तिघ्रा छेडिएकाे थियाे । लगभग क्षतविक्षत भएकाे थियाे । रगतकाे भेल बग्याे । दाइलाई पनि तिघ्रामा गोली पस्यो ।

आफैं गोली खाएका दिनेशले जसोतसो थिग्रिएर बहिनीलाई नजिकै क्लीनिकसम्म पुर्याएँ । त्यहाँ ब्यान्डेज गरेर  सिभिल अस्पताल लगियो । रेविका अर्धवेहाेश थिइन् ।

अहिले सिभिल अस्पतालमा दुवैकाे उपचार भइरहेको छ । रेविका अझै खतरामुक्त भएकी छैनन् । दाइकाे अवस्था तुलनात्मकरुपमा राम्राे छ ।

उनीहरूको उपचार खर्च आजका दिनसम्म परिवारले नै व्यहोरिरहेको छ । हिजोमात्रै बिरामीका आफन्तले निःशुल्क उपचारका लागि अस्पताल प्रशासनमा निवेदन दिएका छन् ।

‘आजसम्म त हामीले नै खर्च गरेका हौं । अब आन्दोलनमा घाइते भएकाहरूको उपचार गर्ने भनेर सरकारले भनेको रहेछ । अस्पताल प्रशासनले मन्त्रालयबाट लेटर आएपछि निःशुल्क गर्ने भनेर भनेको छ’, रेविकाकी जेठी दिदी अनिता खत्रीले भनिन्, ‘नानीको स्वास्थ्यपछि उसको भविष्यको चिन्तासमेत भइरहेको छ ।’

अहिले प्रहरीले अस्पतालमा आएर के कसो भइरहेको छ भनेर सोधखोजसमेत गरिरहेको उनले बताइन् । साथै रेविकाले न्याय पाउनुपर्छ भनेर सञ्जालदेखि सडकसम्म कुरा उठिरहेको छ, तर यी मागहरू दोस्रो कुरा रहेको अनिता बताउँछिन् ।

उनले भनिन्, ‘सबैभन्दा पहिला त नानीको स्वास्थ्य ठीक हुनुपर्‍यो नि !’

रविका र दिनेश दाजुभाइका छाेरा र छाेरी हुन् । त्यस दिन रेविका दिनेशकाे काेठामा बस्न भनेर आएकी थिइन् ।

बाँकी नै छ रेविकाको सर्जरी

गोली लागेपछि रेविकाको अवस्था गम्भीर बनेको थियो । अलिअलि बोले पनि रक्तस्राब अत्यधिक भयो । एम्बुलेन्समा हालेर अस्पताल ल्याइएको थियो ।

उनलाई भेन्टिलेटरमा राखियो । त्यसपछि आईसीयू र अहिले एमआईसीयूमा राखिएको छ । आजबाट भने रेविकाले अलिअलि बोल्न थालेको अनिताले बताइन् । बहिनीको स्वास्थ्यमा केही सुधार हुँदै गएको उनको भनाइ छ ।

अनिताले भनिन्, ‘आजबाट नानीले अलिअलि बोल्न सक्ने स्थिति बनेको छ । उनलाई भेन्टिलेटरमै राखे पनि डाक्टरहरूले डर मान्नुपर्दैन, तर खतरा चाहिँ टरिसकेको छैन भन्नुभएको छ ।’

रेविका अलिअलि बोल्न थाले पनि उनको सर्जरीको लागि चाहिँ अझै समय लाग्ने अनिताले बताइन् । तिघ्रामा गोली लागेकाले खुट्टामा रगत सञ्चालनका लागि तलबाट माथिसम्मै चिरेर नशालाई सहज बनाउने कोसिस गरिएको उनले बताइन् ।

अहिले खुट्टामा राम्रैसँग रगत सञ्चालन भइरहेको बताउँदै उनले भनिन्, ‘गोली लागेको ठाउँमा सिलाइसकिएको छैन । घाउ सुकेपछि मात्रै सर्जरी हुन्छ ।’

‘डाक्टरहरूले पनि पहिला रेविकालाई गम्भीर अवस्थाबाट बाहिर ल्याउनुपर्छ भनेर जोड दिइरहेका छन्’, अनिताले भनिन्, ‘अहिले नानीको पल्सरेट पनि ठीक ठाउँमा आएको छ । ज्वरो पनि १०३-१०४ डिग्री थियो, अहिले नियन्त्रणमा आइरहेको छ ।’

रेविकाहरूले अनाहकमा थापेको गोली

आन्दोलनकारी र राज्य पक्षको द्वन्द्वमा बीचमा आमनागरिक कसरी पिसिन्छन् भन्ने पछिल्लो उदाहरण बनेका छन् रेविका र दिनेशकुमार । उनीहरूसँगै थप आधा दर्जन सर्वसाधारण घाइते भएको खबर आइरहेको छ । ससानो व्यवसाय गरेर जीवन निर्वाह गरिरहेका आमनागरिकदेखि त्यस क्षेत्रमा रहेका कर्पोरेट हाउससम्म आन्दोलनको चपेटामा परे ।

परिस्थिति अराजक बनेर जाँदा रेविकाहरू जस्ता ग्रोसरीमा काम गर्दै पढाइ खर्च जुटाइरहेका आमनागरिकले गोली थाप्नुपर्‍यो । आन्दोलन भएको क्षेत्रका निहत्था नागरिकहरू ज्यान जोगाउन भाग्नुपर्‍यो, लुक्नुपर्‍यो । विनाकारण आन्दोलनकारीले हानेको ढुंगा र प्रहरीले हानेको अश्रुग्याँस खानुपर्‍यो । आफू बस्ने ठाउँमै उनीहरूले असुरक्षित महसुस गर्नुपर्‍यो । कतिसम्म भने गल्लीमा कोठाभित्र पस्नेवेला रेविकाले गोली खानुपर्‍यो ।

रेविकाहरूकाे जिम्मा न राज्यले लिइरहेको छ न त आन्दोलनकारीहरूले । राज्य पक्ष र आन्दोलनकारीहरू एक-अर्कालाई दोषारोपण गरिरहेका छन् । रेविकाहरू अस्पतालमा गोलीले तछारेको घाउ सुक्ने प्रतीक्षामा छन् । राज्यले उपचार खर्च व्यहोर्ने भने पनि बाँकी भविष्य कस्तो हुने हो, रेविकालाई नै थाहा छैन । उनका आफन्तहरू रेविकाको आउँदा दिन सम्झेर चिन्तामा डुबेका छन् ।

रेविकाको न्यायका लागि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीहरूले आन्दोलन सुरु गरिसकेका छन् । कोटेश्वर क्याम्पसका स्ववियु सभापति सञ्जय बुढाथोकी रेविकाको उपचारपछिको जिम्मा पनि राज्यले लिनुपर्ने बताउँछन् ।

सञ्जयले भने, ‘उनीहरूलाई गोली लागेपछि प्रहरी प्रशासनले यस प्रकरणलाई गुपचुप राखेको पाइयो । सिभिल अस्पतालबाट ‘तपाईंको कलेजको घाइते विद्यार्थी छ’ भनेर मलाई फोन आएपछि पो थाहा पाएँ । उहाँको खुट्टामा गोली लागेर नशामा समस्या देखिएको रहेछ । भोलि हिँड्न नसक्ने अवस्था पनि आउन सक्छ भन्ने सुनिएको छ । यदि त्यस्तो भएको खण्डमा राज्यले सबै जिम्मेवारी लिनुपर्छ । उहाँको उपचारको मात्रै होइन, उपचारपछिको पनि जिम्मा राज्यले लिनुप¥यो । खुट्टा चलेको खण्डमा पनि र नचलेको खण्डमा पनि राज्यले जिम्मा लिनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर