वनविहारको नेतृत्वका लागि एमाले-कांग्रेस तालमेल, माओवादी र जनमुक्तिका अलग्गै उम्मेदवार – Nepal Press

वनविहारको नेतृत्वका लागि एमाले-कांग्रेस तालमेल, माओवादी र जनमुक्तिका अलग्गै उम्मेदवार

रुपन्देही। रुपन्देहीको तिलोत्तमास्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) को नयाँ नेतृत्वको लागि सत्तारुढ नेकपा एमाले तथा नेपाली कांग्रेस निकट सदस्यहरूले तालम्ल गरी मैदानमा गएका छन् ।

अध्यक्ष पदमा युवा उद्यमी रहेका ईं किरण खरेलको नेतृत्वमा १४ सदस्य टोलीले आफ्नो २४ बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । उनी एमाले निकट हुन् । यो क्षेत्रमा धेरै पर्यटक भित्राउने गन्तव्य स्थल बनेकाले यहाँको नेतृत्वको लागि दलको रुचि बढेको हो ।

एमालेबाट अध्यक्ष, कोषाध्यक्षसहित ७ र कांग्रेसबाट उपाध्यक्ष, सचिवसहित ७ पदमा उम्मेदवारी बाँडेर चुनावमा गएका छन् । यसअघिको नेतृत्व सहमतिमा चयन हुँदै आएकोमा यस पटक भने सहमति हुन नसकेपछि निर्वाचनमा जानुपरेको सदस्यहरूको भनाइ छ ।

अध्यक्ष पदका उम्मेदवार किरण खरेल नेतृत्वको समूहले आफ्नो २४ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। चार वर्षको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै खरेलले आफूले गर्न सकिने र सम्भव हुने कामलाई मात्रै प्राथमिकता दिएको बताए।

आर्थिक पारदर्शीतालाई अझै व्यवस्थित गर्दै टिकटिङलाई अनलाइन सिस्टमबाट व्यवस्थित ढंगले अगाडि बढाइने बताउँदै आधुनिक प्रविधिलाई प्रयोग गरिने प्रतिबद्धता जनाएका छन् ।

खरेलले सबै संरचना पूरा भएको वनवाटिकाजस्तै नमूना पार्क नेपालमा अन्यत्र नभएको उल्लेख गर्दै वनवाटिकालाई अब पर्यटकीय क्षेत्रको रूपमा मात्र नभई अनुसन्धान केन्द्रको रूपमा अगाडि बढाउने गरी आफूले कार्ययोजना तयार गरेको बताए। आफ्नो टीम समावेशी भएको उनको भनाइ छ ।

संयुक्त प्यानलकी सचिव पदकी उम्मेदवार हरिकला अधिकारी (कमला)ले स्मार्ट बत्ती, स्वचालित टिकटिङ, तथा निगरानी प्रणाली राखी पूर्ण प्रविधिमैत्री बनाइने, काष्ठकला कार्यशाला आयोजना गरी शिल्पीहरू मार्फत काठबाट विभिन्न कला सिर्जना गरी ठाउँ ठाउँमा राखी आकर्षणयुक्त बनाइने, कङ्क्रिट संरचना निर्माणलाई निरुत्साहित गरी वातावरण र पर्यावरणमैत्री संरचनामा जोड दिइने बताइन् ।

कुल ७ सय ७३ जना सदस्य रहेको वनवाटिकामा खरेलको नेतृत्वमा उपाध्यक्षमा मिनप्रसाद देवकोटा, सचिवमा हरिकला अधिकारी (कमला), कोषाध्यक्षमा मनिराम भट्टराई छन्।

त्यस्तै सदस्यहरूमा मनोज खड्का, विन्दु ढकाल, सरस्वती बराल, शंकर भण्डारी, पार्वती क्षेत्री, राजुप्रसाद उपाध्याय र लक्ष्मण मल्ल छन्। त्यस्तै लेखा सुपरिवेक्षण समिति सदस्यमा विष्णु सुवेदी र मिठ्ठु कुमारी पौडेल क्षेत्रीले उम्मेदवारी दिएका छन्। लेखा संयोजकमा भने निर्विरोध भएको छ ।

वनवाटिकाको नेतृत्वको लागि अध्यक्षमा खरेलसँगै वर्तमान उपाध्यक्ष खिमलाल पाण्डे र कार्यसमिति सदस्य टिकादेवी आलेले पनि उम्मेदवारी दर्ता गरेका छन्। यसअघि वर्तमान अध्यक्ष बेलप्रसाद शर्माको समेत उम्मेदवारी परेकोमा अन्तिम समयमा शर्माले उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ।

रुपन्देहीको मात्र नभई देशकै उत्कृष्ट पार्कको रूपमा रहेको वनवाटिकामा वार्षिक चार लाखभन्दा बढी पर्यटकहरूले अवलोकन गर्दै आएका छन्। दैनिक ३२ जना कर्मचारीले रोजगारी पाएको वार्षिक ८३ लाख रुपैयाँ खर्च हुँदै आएको छ। वन्यजन्तु रेस्क्यु सेन्टरमा १७ लाख रुपैयाँ खर्च हुँदै आएको छ। वर्षमा ४ लाख पर्यटक भित्रिने गरेका छन्।

अध्यक्षमा उम्मेदवारी दिएका खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवारी दिए पनि उनी विप्लव निकट माओवादीको नेता हुन् । उनलाई माओवादी घटकहरूले साथ दिएका छन् । विभिन्न संघसंस्थामा स्वतन्त्रको मत पाएर निर्वाचन जितेकाले उनले पनि स्वतन्त्रबाटै उम्मेदवारी दिएका हुन् ।

यस्तै नेत्रविक्रम चन्द नेतृत्वको नेकपा निकट खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवार भन्दै अध्यक्षमा उम्मेदवारी दिएका छन् भने राष्ट्रिय जनमुक्ति पार्टीले अध्यक्षमा टिकादेवी आलेसहित प्यानलै बनाएर उम्मेदवारी दिएको निर्वाचन समिति संयोजक मोहन चापागाईँले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर