‘मलाई बुवाले माया गर्दैनन्’ भन्दै एन्जिलाको अंगालोमा भक्कानिएर रोए दर्शक, एन्जिलाको पनि रुवाबासी – Nepal Press

‘मलाई बुवाले माया गर्दैनन्’ भन्दै एन्जिलाको अंगालोमा भक्कानिएर रोए दर्शक, एन्जिलाको पनि रुवाबासी

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘अञ्जिला’की प्रमुख कलाकार तथा राष्ट्रिय महिला फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाका अहिले केही क्लिपहरू सामाजिक सञ्जालमा भाइरल छन् ।

भिडियोमा उनलाई दर्शकले अंगालो हालेर रोइरहेको देख्न सकिन्छ भने दर्शकसँग उनी पनि रोइरहेकी छिन । रुँदै उक्त महिलाले एन्जिलालाई आफ्नो जीवनको केही घटनाहरू सुनाइरहेको पनि भिडियोमा देख्न सकिन्छ।

आखिर किन एन्जिला र सो महिला एक अर्कालाई अंगालो हालेर रोइरहेका छन् ? कहाँ बाट आयो यो भिडियो ?

प्रायलाई थाहै होला, अहिले एन्जिलाको जीवनमा आधारित चलचित्र ‘अन्जिला’ देशव्यापी प्रदर्शनमा छ। आफ्नो कार्य व्यस्तताका कारण प्रचारप्रसारमा मज्जाले हिंड्न नपाएकी एन्जिला अहिले हल भिजिटमा व्यस्त छिन। आफ्नै जीवनमा आधारित यस चलचित्रको प्रचारका लागि उनी चैत १५ गते ग्रिसबाट नेपाल आएकी थिइन्। हाल एन्जिला ग्रिसको शीर्ष डिभिजनको महिला फुटबल लिगमा निस एट्रोमिटौबाट खेलिरहेकी छिन् । यही खेलको लागि उनी केही महिनायता ग्रिसमा नै रहँदै आएकी थिइन् । चलचित्रको प्रचारप्रसार सकेर उनी पुनः ग्रिस फर्किनेछिन् ।

एन्जिला ग्रिसबाट आउने भएपछि उनलाई स्वागत गर्न चलचित्र युनिट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। विमानस्थलमा स्वागत कार्यक्रम सकिएपछि सोही दिन एन्जिला दिउँसो काठमाडौंको छाया सेन्टरस्थित क्युएफएक्स सिनेमाजमा दर्शकहरूसँग भेटघाट गर्न पुगिन। त्यसपछि, त्यहीँ दिन साँझ इटहरीको इलाइट सिनेमा हलमा पुगेर दर्शकहरूसँग अन्तरक्रिया गरिन् । शनिवार बिहान विराटनगरको क्युएफएक्स सिनेमाजमा उपस्थित भई दर्शकहरूसँग संवाद गरेपछि दिउँसो धरानको फ्रेन्ड्स सिनेमाजमा पुगिन् । धरानमा उनलाई लिम्बू संस्कृतिको च्याब्रुङ नाचद्वारा सम्मानपूर्वक हलमा प्रवेश गराइएको थियो ।

त्यसयता एन्जिला देशका विभिन्न ठाँउहरुको हलभिजिटमा व्यस्त छिन। उनको अहिले भाइरल भइरहेको क्लिप पोखराको हल भिजिटको हो। चलचित्र हेर्न पुगेका अधिकतम दर्शक उनलाई हलमा देखेपछि भावुक भएका थिए। एन्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मको सङ्घर्ष र सफलताको कथाले धेरैलाई भावुक बनाएको थियो। एक महिला दर्शकले त एन्जिलालाई हलमा देखेपछि आफूलाई सम्हाल्नै सकिनन्। पर्दामा उनले गरेको सङ्घर्ष देखेपछि सो महिलाले हलमै एन्जिलालाई अंगालो हालेर रोइन ।

पोखरा हल भिजिटबाट भाइरल भएको सो भिडियोमा एन्जिला पहिला ठिक देखिन्छिन्। तर अंगालो हालेकी महिलाले रुँदै उनलाई केही सुनाइन्, जसले उनको पनि आँखा रसायो। भिडियोमा सो महिला दर्शकले धरधरी रुँदै भनेकी छिन, ‘मेरो जिन्दगी पनि त्यस्तै भएको छ। मलाई मेरो जन्म दिने बुवाले माया गर्नुहुन्न। मैले अहिलेसम्म मेरो जन्म दिने बुवाको माया पाएको छैन। के गर्नु ? लोग्नेको माया पनि पाएको छैन मैले। म दुइटा छोराको लागी एक्लै संघर्ष गर्दैछु। आज कस्तो साइतमा भगवानले तपाईँसँग भेट्न जुराइदिनु भएछ ।’

दर्शकको यस्तो कुरा सुनेपछि एन्जिला रोएकी हुन। भिडियोमा रुँदै गरेकी उक्त महिलालाई एन्जिलाले सम्झाउन खोजेकी छिन, तर उनले आफैलाई सम्हाल्न सकिरहेकी थिइनन्। चलचित्रमा एन्जिलाको बाल्यकालदेखि खेलाडी हुँदासम्मको कथा समेटिएको छ जहाँ उनी आफैले प्रमुख भूमिका निभाएकी छन्।

निर्देशक मिलन चाम्स निर्देशित चलचित्रमा ‘अन्जिला’ मा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । चैत २९ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले, प्रदर्शनको १३ दिनमै ८ करोड ७० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर